Shittalpati
कृषि प्रधान देशमै मलको अभाव, किसान चिन्तित

रामचन्द्र रायमाझी
पाल्पा । नेपाललाई कृषि प्रधान देश भनिन्छ तर देश कृषिमा आत्मनिर्भर छैन । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषिमा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दैछ तर अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर छ । नेपाललाई कृषि प्रधान देशको नाम दिएपनि किसानले समयमा मल नपाउने, बिल विजन नपाउने तथा कृषि औजार तथा उपकरण समेत नपाउने अवस्था छ । खेतीपातीको समयमा मल नपाएर किसान हैरान भएको समस्या त आम जस्तै भइसकेको छ । किसानलाई उचित रुपमा उपज उत्पादनका लागि समयमै रासायनिक मलको आवश्यकता पर्दछ । तर धानबालीमा मल हाल्ने समयमा समेत किसनाले यूरिया मल पाएका छैनन् । यो देशव्यापी समस्या हो । पाल्पामा पनि यो समस्याबाट किसान अछुतो रहन सकेनन् । बालीमा मल राख्ने बेला जिल्लामा रासायनिक मलको चरम अभाव भएको छ । कृषि सामग्री कम्पनीले मल आपूर्ति गर्न नसक्दा रासायनिक मल अभाव भएको हो । जिल्लामै मलको समस्या र अभाव चुलिएपछि किसान समस्यामा परेका छन् । धान बालीमा मल छर्ने मुख्य सिजनमै अभाव भएपछि किसान चिन्तित भएका हुन् । रासायनिक मल खरीदको लागि सयौँ किसान कृषि सामग्री कम्पनी पुग्ने गरे पनि मल नहुँदा उनीहरु रित्तो हात घर फर्किन बाध्य छन् । जिल्लामा रासायनिक मल खरीद विक्रीको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनीमा मल पर्याप्त मात्रमा नआउँदा किसान समस्यामा परेका छन् । सरकारले मलका लागि टेन्डर आह्वान गरे पनि बाहिरबाट मल नआएको कृषि सामग्री कम्पनीका शाखा प्रमुख सुमन पन्थीले बताइन् । सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ । युरिया मलको अभाव हुन नदिन र किसानको गर्जो टार्न सरकारले हालसम्म कुनै पनि वैकल्पिक व्यवस्थाको विषयमा छिनोफानो गरेको छैन् । समयमा पर्याप्त बजेट निकासा नहुनु र बजेट निकासा भएपनि समयमै कार्ययोजना बनाएर पारदर्शी रूपमा मल खरिद प्रणाली अघि नबढाइँदा किसानले वर्षेनि रासायनिक मलको चर्को अभाव व्यहोर्न बाध्य छन् ।

यसवर्ष पनि किसानले धान रोपेर सक्दा समेत युरिया मलको चर्को अभाव व्यहोर्नु परेको हो । सरकारले आगामी ५ वर्षभित्र कृषि उपजमा आत्मनिर्भर हुने लक्ष्य राखेको भएपनि खेतीको समयमा मल नपाएपछि किसान सबैभन्दा बढी पीडामा परेका छन् । कृषि सामग्री कम्पनीले मल वितरणमा कुनै पनि चासो नदिएको भन्दै जिल्लाका किसान आक्रोशित भएका छन् । धान खेती गरेका किसानका लागि अहिले बालीमा युरिया मल हाल्ने मुख्य समय भएपनि मल नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘धानमा मल राख्ने बेला भयो, रासायनिक मल बजारमा पाइँदैन, माथागढी १ चिदीपानीका किसान मानबहादुर सारुले भने, ‘मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ ।’ उनले गाउँमा सहकारीले मल वितरण गरे पनि माग अनुसार आपूर्ति गर्न नसकेको बताए । ‘धान रोप्ने बेला कहिल्यै मल पाइँदैन, मल नपाएपछि उत्पादन घट्दै गएको छ,’ उनले भने । किसान मल पाइने आसमा दैनिकजसो कृषि सामग्री केन्द्र धाउने गर्छन् । तर धान रोपेर सिध्याएका किसान साउनको तेस्रो हप्ता हुँदा समेत मल पाउन नसक्दा चिन्तित छन् । असारको पहिलो हप्तामा रोपाई गरेका खेतमा यतिखेर गोड्ने समय भएको छ । गोडेपछि मल राख्नुपर्ने समयमा मल नपाउँदा उत्पादनमा ह्रास आउन सक्ने भन्दै किसान चिन्तित बनेका छन् । यस वर्ष रोपाइ गर्दा प्रयाप्त मात्रामा मल पाइएन पछि पाइएला भनियो तर जतिबेला आवश्यक पर्ने हो त्यति बेला पनि पाउन नसक्दा यस वर्ष धानको बोटमा बाला नलाग्दा पराल मात्र भित्र्याउनुपर्ने होकी भन्ने चिन्ताले सताएको रामपुरका कृषक देवीलाल सुनारीले बताए । यसवर्ष कम परिणममा मल आएकाले अहिले अभाव भएको कृषि सामग्री कम्पनीका शाखा प्रमुख पन्थीले बताइन् । जिल्लामा यस वर्ष माग धेरै भएपनि मल कम आएकाले अभाव सिर्जना भएको उनले जानकारी दिइन् । पन्थीले भनिन् ‘यो वर्ष माग पनि धेरै हो तर कम परिमाणमा मल आयो त्यो पनि सकियो ।’ धान पसाउने बेलामा किसानलाई युरिया मल आवश्यक पर्छ, यो बेला मल नपाउँदा कृषक उत्पादन कम हुने चिन्तामा रहेको प्रमुख पन्थीले बताइन् ।

यो समाचार तयार पार्दासम्म जिल्लामा करीब ९० प्रतिशत कृषकले धान रोपिसकेका छन् । मुख्यबाली धान रोपेका किसानले बेलैमा मल हाल्न नपाउँदा चिन्तित हुनु स्वभाविक भएको उनको बुझाइ रहेको छ । जिल्लामा ५८ वटा सहकारी मार्फत मल वितरण हुँदै आएपनि यसवर्ष कृषि सामग्री केन्द्रमै मल नआउँदा सहकारीले मल वितरण गर्न सकेका छैनन् । गत आर्थिक वर्ष जिल्लामा १ हजार १ सय २० टन युरीया, ७ सय ३५ मेट्रिक टन डिएपी, ४४ टन पोटास, मल खपत भएको थियो । मलको माग त प्रत्येक वर्ष ४० प्रतिशतका दरले बढ्दै गएको छ । यस वर्ष मल भएको भए १ लाख टन पनि खपत हुने कृषि सामग्री कम्पनीले जनाएको छ । जिल्लामा कुल खेती योग्य जमिन मध्ये ९ हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ । विगतमा खेत बारीमा हरियो मल, गोठे मल कम्पोष्ट मलको प्रयोग हुने गरे पनि अहिले रासायनिक मलको प्रयोग बिना खेती हुन छाडेपछि रासायनिकमल प्रयोग गर्ने किसानको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update