Shittalpati
गुल्मीमा ९५ प्रतिशत रोपाइँ सकियो

गुल्मी । जिल्लामा ९५ प्रतिशत रोपाइ सकिएको छ । साउन तेस्रो हप्ता लाग्नै लाग्दा जिल्लामा करिब ९५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको हो । बाँकी ५ प्रतिशत क्षेत्रमा रोपाइँ भइरहेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो ।

दुई नगारपालिका र दश गाउँपालिकामा यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच असार लाग्न साथ शुरु भएको रोपाइँको काम ९५ प्रतिशत सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि किसानहरु यतिबेला रोपाइँमा व्यस्त रहेका छन् । विश्वरभर कोरोना महामारीको त्रास रहे पनि कोरोनाको त्रासलाई छिचोल्दै जिल्लाका किसान रोपाइँमा व्यस्त छन् । मकैबाली ढिला पाक्ने खेतहरुमा रोपाइँ हुन बाँकी रहेको छ । गतवर्ष समयमै पानी नपरेकाले कृषकहरुले धान रोपाइँ ढिला शुरु भएपनि यस वर्ष भने समयमै मनसुन भएकाले कृषकहरु हर्षित भएका छन् । केही ठाउँमा छिटफुट बाहेक रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका प्राविधिक हरिप्रसाद आचार्यले जानकारी दिए ।

जिल्लामा जेठको अन्तिम साताबाट साउन महिनाभर रोपाइँ हुने गर्दछ । अघिल्लो वर्ष जिल्लामा ९२ प्रतिशत मात्र रोपाइँ भएको थियो । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ । एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । केही खेतमा चैते धानसहित मकै बाली समेत लगाउने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले धेरै मानिसहरु विदेशबाट स्वदेश अर्थात आफ्नो घर फर्किएका छन् । बेरोजगार रहेका युवाहरु यतिबेला धान खेतितर्फ केन्द्रित छन् । यसले गर्दा धान उत्पादन हुने क्षेत्रफलमा समेत वृद्धि हुने घिमिरेले बताए । समयमै पानी परेकाले पनि कृषकहरुले समयमै धान रोपाइँ गरेका हुन् । यस वर्ष साउन महिनाभर सबै ठाउँमा रोपाइँ सकिने घिमिरेले बताए । जिल्लामा हालसम्म करिब १० हजार क्षेत्रफलमा सिंचाईको सुविधा रहेको छ ।

जिल्लामा उन्नत जातका खुमल–४, खुमल–६, खुमल–१०, मकवानपुर–१, रामधान, लोकतान्त्रिक, हिमाली धान लगाइन्छ । स्थानीय जातका हंसराज, मानोमुरी, हावा, मार्सि, लामी, जडन, जुवा, अनदी, काठे मार्सि जातको धान कृषकहरुले लगाउँदै आएका छन् । त्यस्तै हाइब्रिड अन्र्तगत यु.एस–३१२ र शंकर जातको धान लगाउँदै आएका छन् । चैते धान अन्तर्गत चन्दीना र सि.एच–४५ जातको धान कृषकहरुले लगाउँदै आएको रानाले बताए ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update