Shittalpati
रामपुरमा सिँचाइ आयोजना पाँच महिना अगावै सकियो

इमान सिं राना
पाल्पा (रामपुर) । देशैभरका अधिकांश पूर्वाधार निर्माणको काम पछिल्लो समय निर्माण व्यवसायीहरुबाट हुँदै आएको छ । निर्माण कम्पनीले जति काम जिम्मा लिएको छ समय मै सकिएको उदाहरण विरलै भेटिन्छन् । कतिपय स्थानमा त पटक–पटकको म्याद थप पश्चात पनि काम सम्पन्न नभएका उदाहरणहरु धेरै छन् । यस वर्ष त झन विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण निर्माण व्यवसायीलाई समय थपको लागि निवेदन दिन कुनै वहाना कुर्नु परेन । तर रामपुर नगरपालिका १० मा भने एउटा आयोजना लकडाउनका बिच काम गरेर तोकिएको समय भन्दा ५ महिना अगावै सकिएको छ । रामपुर नगरपालिका १० को बर्दले, राहुँडाँडा, गेझा मनभागा क्षेत्रको सिँचाइका लागि सञ्चालनमा रहेको बर्दले फाँट सिँचाइ आयोजनाको पुनर्निर्माणको कार्य समय मै सकिएको हो । झम्मा खोलादेखि बर्दले सम्मको ६ हजार मिटर लामो कुलो मध्ये ४ हजार ५ सय मिटर पुनर्निर्माणको काम लकडाउनका बिच पनि समयमै सकिएको हो ।

प्रदेश पाँचको भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको आर्थिक वर्ष २०७५/०७६ मा कुलो पुनर्निर्माणको लागि ४ करोडको ९३ लाख विनियोजन गरेको थियो । सो योजना केविसि विल्डर्स इको ईन्जिनियरिङ्ग कन्सल्टेन्सी चितवनले २०७७ मंसिरमा निर्माण सम्पन्न गर्ने गरी २०७६ जेठ १९ गते ३ करोड ९० लाखमा ठेक्का सम्झौता गरेको थियो । तर निर्माण व्यवसायीले भने गत असार मसान्त भित्र नै निर्माण सम्पन्न गरेको हो । निर्माण कम्पनीका इन्जिनियर पुरम यादवले पहाडी क्षेत्रमा समय मै काम सकाउन चुनौती रहे पनि स्थानीयको साथ र सहयोगले काम समय भित्र सक्न सम्भव भएको बताए । बर्दले फाँट सिँचाइ आयोजना ३ करोड ९० लाखको ठेक्का र स्थानीयको १५ लाख ४४ हजार ७ सय २४ बराबरको जनश्रमदानमा आयोजना सकिएको हो । बर्दले फाँट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष बैकुण्ठ खनालले लकडाउनका बिच मजदुरहरुलाई खाने, बस्ने र काम गर्ने वातावरण स्थानीयले तयार गरेकाले समय मै सम्भव भएको बताए । उनले भने, ‘कुनै पनि काम समयमै सम्पन्न गर्नमा प्राविधिक र सरकारी कार्यालयको सहयोग, निर्माण कम्पनीको तप्परता र स्थानीयको साथ महत्वपूर्ण हुने रहेछ । सबैको साथले समय मै सम्पन्न गरी कुलो चलाउन सफल भएका हौं ।’

खनालका अनुसार आयोजनाले ४ सय ३२ घरको १ सय ५ हेक्टर जमिन सिँचाइ हुने भएको छ । कुलोको बाँकी १ हजार ५ सय मिटर पुनर्निर्माण गर्नबाँकी रहेको छ । मुहानबाट पानी छोड्दै प्रदेश पाँचका प्रदेशसभा सदस्य युवराज खनालले अधिकांश योजनाहरु समयमा सम्पन्न नभएर कालो सूचीमा राख्ने तयारी भैरहेको अवस्थामा यस योजनाले समय मै काम सकेर थप पाठ सिकाएको बताए । उनले भने, ‘उपभोक्ताहरुको सहयोग र समन्वय हुने हो भने योजनाहरुले गति लिने रहेछ । विषम परिस्थितिका बिच सम्पन्न भएको कार्यबाट अन्य निर्माण व्यवसायी र उपभोक्ताले पनि पाठ सिक्नु आवश्यक छ ।’ उनले कृषिको लागि सिँचाइ मुख्य आधार रहेको भन्दै प्रदेशले यसमा विशेष ध्यान दिएको र यस योजनाको बाँकी कुलो मर्मतका लागि आवश्यक पहल भैसकेको बताए ।

जिल्ला विकास समितिका पूर्व सदस्य टंकनाथ खनालले २०५१ सालमा जिल्ला विकास समितिको सहयोगमा कुलो निर्माण सुरु भएर २०५५ सालमा पानी ल्याउन सफल भएको स्मरण गरे । उनले सिँचाइ कुलो निर्माणसंगै परम्परागत खेतीलाई आधुनिक कृषितर्फ रुपान्तरण गर्नु आवश्यक रहेको बताए । निर्माणपछि आयोजनाको कुलोमा पानी चल्न थालेसँगै कृषकहरु हर्षित भएका छन् । उपभोक्ता टिकाराम पौडेलले विगतमा कुलोको सतह नमिल्दा बाँधमा जति पानी राखियो त्यति आउन नसकेको भन्दै अब सहजै पानी आएपछि सिँचाइ थप सहज हुने बताए । उपभोक्ता तोयानाथ खनालले कुलो भत्किने समस्याले पानी नआउँदा धानले पर्याप्त पानी पाउने अवस्था नरहेकोमा अहिले थप बारीमा पनि धान लगाउने तयारी गरेको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update