Shittalpati
रामपुरका कृषकलाई थप ५ हजार आँप तथा लिचीका बिरुवा

इमान सिं राना

पाल्पा (रामपुर) । रामपुर नगरपालिका कृषि शाखाले कृषकहरुलाई आँप तथा लिचीका बिरुवा वितरण गरेको छ । फलफूल खेतीमा पनि नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ कृषकहरुलाई मागको आधारमा शाखाले विरुवा वितरण गरेको हो । यस अघि वडाहरु संग सहकार्य गरी ११ हजार भन्दा बढी कागती तथा सुन्तलाका विरुवा वितरण गरेको कृषि शाखाले आज थप ५ हजार आँप तथा लिचीका विरुवा वितरण गरेको हो । विरुवा वितरण कार्यक्रमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्राप्त विरुवाको सहि हेरचाह गरी नगरलाई फलफुलमा आत्मनिर्भर बनाउने अभियानमा सहयोग गर्न आग्रह गरे ।

थापाले प्राविधिक सहयोगका लागि प्रत्येक वडामा कृषि जेटिए परिचालन गरेको भन्दै आवश्यक सल्लाह लिएर व्यवसायी रुपमा कृषिमा अघि बढ्न अनुरोध गरे । नगरले दिएको अनुदानका कार्यक्रमको नगरपालिकाले आवश्यक नियमन गर्ने बताउँदै सोही अनुसार आगामी कार्यक्रम गरिने बताए । रामपुर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत ऋषिराम आचार्यले अनुदानलाई प्रोत्साहनको रुपमा लिएर अघि बढेमा मात्र कार्यक्रमले थप सार्थकता प्राप्त गर्ने बताए ।

रामपुर नगरपालिका आर्थिक विकास समितिका सदस्य कमलराज भट्टराईले प्राप्त अनुदानको सहि सदुपयोग हुन सकेमा आर्थिक रुपान्तरणको लागि सहज हुने बताए । रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका कृषि शाखाका प्रमुख रामहरी पाण्डेले गरेका हुन् । पाण्डेले अहिले २ हजार ५ सय आँप र २ हजार ५ सय लिचीका विरुवा वितरण गरिएको बताए । नगरपालिका र वडाहरु मार्फत कागती १० हजार, सुन्तला एक हजार, अमिलोका तीन सयका बिरुवा केहीसमय अघि वितरण गरिएको थियो । रामपुर नगरपालिका वडा नं. ८ ले पनि मागको आधारमा २ हजार ३ सय सुन्तला र २ हजार ७ सय कागतीको विरुवा वितरण गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update