Shittalpati
रामपुरमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा

इमान सिं राना
पाल्पा(रामपुर) लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा समस्या भएको भन्दै पाल्पाको रामपुर नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषि शाखाले कृषि सहकारीहरु संग समन्वय गरी शनिबार देखि कृषि एम्बुलेन्स मार्फत तरकारी संकलन तथा विक्री गर्न सुरु गरेको हो । कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ नगरपालिकाले हप्तामा तीन दिन तरकारी संकलन तथा विक्री गर्ने गरी कृषि एम्बुलेन्स सेवा सुरु गरेको हो । नगरले तरकारी संकलन सुरु गरे पछि व्यवसायिक कृषकहरुले राहतको महशुस गरेका छन् । रामपुर ७ बगरचोकमा ४ वर्ष देखि तरकारी खेती गर्दै आएका मेघराज न्यौपानेले कृषि एम्बुलेन्सले राहत मिल्नेमा विश्वस्त रहेको बताए । उनले भने, “बारीमा करेला, घिरौला र खुर्सानी लगाएतका तरकारीको उत्पादन सुरु भएको छ । तर उत्पादन अनुसार बजारमा खपत छैन । खेर जान्छ की भन्ने पिर थियो । अब यस सेवाले केही राहत मिलेको महसुश भएको छ ।”

नगरपालिकाले वडाहरुमा कृषि सहकारीहरु संग समन्वय गरी खरिद तथा विक्री गरिरहेको छ । उत्पादन भएका तरकारी आपूर्ति अनुसार विक्री नहुने र कतै स्थानियले तरकारी अभाव झेल्नु पर्ने बाध्यता न्यूनिकरणमा यसले महत्वपूर्ण भुमिका खेल्ने विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सुर्य प्रसाद रेग्मीले बताए । “यो सेवाले व्यवसायिक कृषकहरुलाई ठूलो प्रदान गर्ने छ । साथै कृषिमा आवद्ध कृषकहरुमा हौसला थपेको छ ।” रेग्मीले भने । रामपुर नगरपालिका आर्थिक विकास समितिका सदस्य कमलराज भट्टराईले न्यूनतम बजार मूल्य अनुसार कृषकलाई मर्का नपर्ने गरी तरकारी खरिद गरी १० रुपैयाँ थप गरेर विक्री मुल्य कायम गरिएको बताए । शनिबार कृषि एम्बुलेन्स बाट वडा नं. ६ र ७ मा उत्पादन भएको करेला, घिरौला, सिमी, बोडी, खुर्सानी, भन्टा, भिण्डी, लौका, साग, टमाटर, बन्दा लगाएतका ८ सय ५७ केजी तरकारी संकलन गरेको थियो । कृषि एम्बुलेन्स बाटै संकलन भएका तरकारी विक्री गरी बाँकी रहेका तरकारी कृषि शाखाको मार्फत विक्रीका लागि राखिएको छ ।

रामपुर नगरपालिका कृषि शाखाका प्रमुख रामहरी पाण्डेयले कृषकहरुलाई राहत र उपभोक्ताको सहजताको हप्तामा ३ दिन सोमबार, बुधबार र शनिबार विभिन्न वडाहरुमा पुगेर संकलन संगै विक्री गर्ने बताए । बाँकी रहेका तरकारी कृषि सेवा कार्यालय बाटै साँझ विहान विक्री गर्ने व्यवस्था गरिएको पाण्डेयले जानकारी दिए । उनले भने, “कृषि एम्बुलेन्सले कृषकहरुलाई राहत प्रदान गर्नुका साथै उपभोक्ताले सुपथ मुल्यमा तरकारी उपभोग गर्न पाउने छन् ।” रामपुर नगरपालिका अर्थिक विकास समितिका संयोजक एवं नगर प्रवक्ता हुमनाथ न्यौपानेले बाहिर बाट तरकारी आयातलाई निरुत्साहित गर्ने निती नगरले अबलम्बन गरेर कृषकलाई व्यवयायिकतामा प्रोत्साहन गरिरहेका अवस्थामा लकडाउनले समस्या पारेको बताए । उनले भने, “नगरपालिकाले बाहिर बाट आयता हुने तरकारीलाई निरुत्साहित गर्नका लागि प्रोत्साहन स्वरुप उत्पादन भएर विक्री नभएमा तरकारी नगरपालिकाले खरिद गरेर विक्री गर्ने व्यवस्था गछौं भनेका थियौं । अहिले लकडाउन भै दियो । कृषकहरु निराश नहुन भन्ने ध्येयले नगरले अभिभावकत्व ग्रहण गरेको हो ।” न्यौपानेले संकलन भएका तरकारी कृषक संग लिएको मुल्यमा विक्री गर्ने र खपत हुन नसकेमा आवश्यक छलफल गरी समस्याको समाधान गर्ने बताए ।

 

नगरलाई कृषिमा आत्मनिर्भर बनाउन प्रयास भैरहेको सन्दर्भमा लकडाउन पश्चात यातायात तथा बजार थप्प भए पछि उत्पादन भएका तरकारीको बजारिकरणमा समस्या भएको कृषकहरुले गुनासो गरेका थिए । दैनिक केही समय मात्र तरकारीका पसलहरु खुल्ने र बजारमा मानिसको आवतजावत पनि कम भए पछि आपूर्ति अनुसारको तरकारी खपत हुन सकेको थिएन । संगै नगरपालिकाले एक वडा एक उत्पादन निती अवलम्बन गर्दै उत्पादनमा जोड दिदै आएको छ । पाल्पामा अन्य पालिका संग समन्वय गरी विभिन्न सहकारी तथा संघ संस्थाले पनि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् ।

 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update