विचार

संस्कार संस्कृतिमा घर्ती/भुजेल समुदाय

Shittalpati Reporter

विष्णु घर्ती ‘भनभनेली’
संस्कार : नेपाली बृहत् शब्दकोशमा विभिन्न आठ किसिमका संस्कार बताइएको छ । जसको छैठौं नम्बरमा रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव; धारणा हो भनिएको छ ।
संस्कृति : नेपाली बृहत् शब्दकोशमा विभिन्न चार किसिमका संस्कृतिका बारेमा उल्लेख गरिएको छ । जसको दोस्रो नम्बरमा कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था, आदिमा प्रतिबिम्बित हुने र तिनका कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप हो भनिएको छ । त्यसैगरी तेस्रो नम्बरमा धेरै समयदेखि देशकालसापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको र आचारविचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरूप खुट्टिने यावत् मान्यता, भावना, चिन्तन, मनन, भौतिक अभिव्यक्तिहरूसमेतको समूह वा साधन हो भनिएको अबस्था छ ।
जनजातीय संस्कार, संस्कृति :
हाम्रो समाजमा मानव सभ्यताको विकासक्रमसँगै जातजातिहरूको विकासक्रम तथा फरकपन पनि अगाडि बढ्दै आयो । आदिवासी जनजातिहरुको सम्बन्ध हजारौं वर्षदेखि संस्कार, संस्कृति, भूमि र प्रकृतिसँग गाँसिएको छ । नेपालमा विकास भएको सामाजिक, सांस्कृतिक सभ्यताको पृष्टभूमिलाई नियाल्दा विभिन्न प्रकारका संस्कृति, संस्कार, रहनसहन, चालचलन, जातजाति, भेषभुषा, उप–जातजाति, थर उपथर आदिको अस्तित्व सिर्जना भएको छ । दक्षिण भारतमा विकसित आर्य सभ्यता (ककेसियस प्रजातीय) र संस्कृति तथा उत्तर चीनमा विकसित मंगोलीयन (मंगोल प्रजातीय) सभ्यता र संस्कृतिको प्रभावका साथै रक्तमिश्रणको सम्भावना र छुट्टै खालको संस्कारगतपनलाई पनि समेटेएको देखिन्छ । अरु समुदायभन्दा धेरै मात्रामा इतर धार्मिक, सांस्कृतिक, राजनैतिक प्रभावको चपेटामा पारिएको समुदाय भएकाले यस जातिका संस्कार संस्कृतिले व्यापकता पाउन सकिरहेको छैन ।

अहिले जातीय पहिचान झल्कने संस्कार संस्कृतिका होमस्टेहरू चलेका छन् । त्यसमा सबैको आकर्षण बढेको छ । यसै हुनाले सबै पक्षबाट संस्कार संस्कृतिको महत्त्व झन्झन् बढ्दै गएको अवस्था हो । कल्चरर प्रोग्रामहरू विद्यालय, पार्टी प्यालेस आदिमा चल्दै आएका छन् । विभिन्न स्थलगत अवलोकन भ्रमणहरूमा पनि जनजातीय संस्कार संस्कृतिलाई महत्वका साथ लिने गरिएको पाइन्छ । जनजातीय संस्कार संस्कृतिहरू सबैका फरक–फरक विशेषताले भरिएका हुन्छन् । सबैका सबै चालचलनहरू जीवन्त छन् । सबैले सबैलाई सम्झन्छन् । जातीय थर वा नाम सुन्दा वित्तिकै त्यस जातिको संस्कार संस्कृति तुरुन्त सबैले सम्झन धेरै नै सजिलो हुन्छ । गुरुङ्ग, मगर, राई आदिका बारेमा सबैले केही न केही अवश्य पनि भन्न सक्छन् । तर घर्ती/भुजेल जातिको बारेमा सबैले मगर, गुरुङ्गको जस्तै गरेर बताउन सक्ने अवस्था छैन । यसै हुनाले यस जातिका अगुवाहरूले अग्रसर भएर आफ्नो संस्कार संस्कृतिलाई जगाउने र फैलाउने काम गर्नै पर्ने स्थिति देखापरेको छ । सिमित ठाउँमा रहेको संस्कार संस्कृतिलाई व्यापक बनाउनु आजको आवश्यकता हो ।
जातीय जानकारी
हाल नेपालमा विद्यमान १२५ जातजातिमध्ये सरकारबाट ५९ जातिलाई आदिवासी÷जनजातिमा सूचिवद्ध गरिएको छ । उक्त सूचिको चौतिसौं नम्बरमा भुजेल पनि रहेको छ । त्यसै गरीकन १२३ भाषाभाषीमध्ये लोपोन्मुख समूहमा भुजेल भाषा रहेको छ । २०६८ को राष्ट्रिय जनगणनाले १ लाख १८ हजारभन्दा बढी जनसंख्या देखाए तापनि ३ लाख बढी हाम्रो जनसंख्या छ । ०.५१ प्रतिशत जनसंख्या रहेको यस जातिको मानव विकास सुचकाङ्क अत्यन्तै कमजोर रहेको छ भने साक्षरता ०.३९ प्रतिशतको हाराहारी, उच्च शिक्षामा ०.२५ प्रतिशत, सरकारी सेवामा ०.७६ प्रतिशत मात्र सहभागिता देखिन्छ । एक दशकको अवधिमा जम्मा १ हजार ८२ जनाको मात्र बृद्धि भएको देखिन्छ । अहिले १२३ वटा मातृभाषा बोल्ने यस देशमा भुजेल भाषीहरुको संख्या २६ हजार ९ सय १३ देखाइएको छ । यस जातिको धर्म प्रकृति पुजक (शमानी) रहेको छ । वि.सं. १३७२ सम्म ढोरपाटनको अर्नाकोट र देउरालीमा भुजेल राजाहरूले २२ पुस्तासम्म राज्य सञ्चालन गरेको इतिहास पाइएको छ । ७ सय वर्ष पहिले जुम्लाबाट गुल्मी, धुर्कोटमा राजा आउँदा मैतु (धामी) घर्तीलाई समेत ल्याई राज्य थालेको इतिहास फेला परेको छ । यस राज्य वरपर तथा सदरमुकाम तमघासमा घर्ती/भुजेलको कूल पुजामा मैतु धामी घर्तीको सम्झना गरिएको स्थिति छ ।
घर्ती/भुजेलको संस्कार संस्कृति :
आजका दिनसम्म पनि केही स्थान र समूहमा समिति र जिवित रुपमा रहेको, आफ्नो छुट्टै जातीय संस्कार र संस्कृति भएको समुदाय वा जातिमध्ये घर्ती/भुजेल पनि एउटा आदिवासी जनजाति हो । पूर्वजहरू रुकुमको घर्ताघोट र घर्ताखोलाबाट फैलिएकोले घर्ती, बाग्लुङ्गको भुजीखोला र भुजीकोटमा बस्नेहरू भुजेल कहलाइए । घर्ती÷भुजेल जाति आफ्नै खाले स्वतन्त्र भाषा, संस्कृति, धर्म र रीतिरिवाज भएको मध्य पहाडी भू–भागमा (ढोरपाटन÷भुजी क्षेत्र) लाई ऐतिहासिक थातथलो मान्ने आदिवासी जनजाति हो । यस जातिका भाषा, संस्कार, संस्कृति, कला, गला आदि तनहुँ तथा नवलपरासीमा जीवन्त पाइन्छ । स्थानीय स्तरमा बाहुल्यता भएका मगर, क्षेत्री, जिसी, गुरुङ्, राना, थापा लगायतसँग समाहित हुँदै जाँदा आफ्ना संस्कार संस्कृतिहरू पनि हराउँदै गएको देखिन्छ । संस्थागत तथा एकल प्रयासमा विभिन्न खालका खोज, अनुसन्धान एवम् प्रकाशनहरु भइरहेका छन् । भेषभुषा, भाषा, भोगाई, भनाई, संस्कार, संस्कृति आदिको अवलम्वन तथा विस्तार गर्ने कार्यहरुको निरन्तरता देखिन्छ ।

घर्ती/भुजेल परम्परागत “शमानी धर्म” अर्थात् प्रकृतिपूजक एवम् धामी झाक्री मान्ने जाति हो । यो समुदाय पितृपूजा, प्रकृतिपूजाजस्ता चाडपर्वमा विश्वास गर्दछ । जसरी हिन्दूहरुको महान पर्व दशैं, तिहारजस्तै घर्ती/भुजेलहरुको भुजेली पर्व राष्ट्रिय पर्व हो । भुजेल, घर्ती, खवास, जीटी र यससँग सम्बन्धित थर उपथरहरु प्रकृति पुजक हुन् । हाम्रा पुर्खाहरुले प्रारम्भिक कालदेखि आफ्ना परिवार, गाई वस्तुहरु, वालीनालीहरु र मानवजातिको रक्षाका लागि सूर्य, वायू, जल, जमीन र जंगलको पुजा गर्दै आएका थिए । शुरु शुरुमा सामुहिक रुपमा प्रकृति पुजनको आयोजना गरिन्थ्यो भने वि.सं. १३७२ पछि आएर एकल पारिवारिक रुपमा यस पुजाको आयोजना गरिदै आयो । अझै पनि घर्ती/भुजेल धामी झाक्रीहरु तथा बुढापाकाहरुले आ—आफ्नो स्थानमा गोठपुजा, कूलपुजा, झाक्रीपुजाको रुपमा प्रकृति पुजा गर्दै आएका छन् । पुर्खाहरुले गरेको प्रकृति पुुजाको आधारमा समय सापेक्ष बनाउँदै, सामुहकि रुपमा हालका दिनहरुमा भुजेली पर्वका रुपमा भव्यताका साथ मनाउने गरिन्छ । नजिकको जातिको प्रभावमा परि त्यस्तै चालचलन, संस्कार, संस्कृति, मेला, पर्व मान्ने र उसकै थर उपथर समेत लेख्ने र नाता सम्बन्ध पनि कायम गर्दै जानेजस्ता क्रियाकलापहरूले आफ्नो संस्कार, संस्कृति, इतिहास, परम्परा, चालचलन, पर्व, भाषा, भेषभुषा आदिको स्थिति धराशायी हँुदै गएको छ । भाषाको पनि पुनर्जागरण गराउनु पर्नेमा सोंचनीय विषय बन्न थालेको छ । जनजातिका भाषाहरू साँचो अर्थमा ती मातृभाषीहरूको संस्कृतिको धरोहर हो, जातिको ढुकढुकी हो र मुटुको स्पन्दन हो । भाषाको लोप भनेको क्रमिक रुपमा जातिको लोप हो र संस्कार संस्कृति समेतको लोप हो ।
संकटमा पर्ने सम्भावनाहरू :
हाम्रो भावनाको निरन्तरता र उजागर हामी आफैले गर्ने हो । आफ्नो परिवारको ख्याल वा रेखदेख आफैले गरेझैं आफ्नो जातिको कला, गला र संस्कार संस्कृतिलाई माया गर्ने, प्रयोग गर्ने र एक अर्कामा फैलाउँदै जाने आफैले हो । यसो गरेमा मात्र यसको संरक्षण तथा जगेर्ना हुने गर्दछ । तर आजभोलि भावी पिढींलाई बुझाउने, उत्प्रेरित गर्ने, घर्ती/भुजेल समुदायको संस्कार र संस्कृतिका बारेमा बताउनेजस्ता कार्यमा न्यूनता देखिन्छ । अन्य जातिको बाहुल्यता भएको स्थानमा हाम्रा धर्म, भाषा, संस्कार, संस्कृति, भेषभुषा आदिका कुरा गरेर वा लागू गरेर रमिते बन्नु छैन भन्नेहरू समेत फेला परिरहेका छन् । अरुका अगाडि हामीले के यस्ता कामकुरा गर्नु पर्‍यो र ! भन्ने सोंचाईबाट ग्रसित मानसिकताको बाहुल्यता छ । आडम्बरमा वाँचिरहेकाहरू भने यस्ता कुरा सुन्न रुचाउदैनन् र आफ्ना भाई, छोरा छोरीलगायतलाई पश्चातापमा राखेका छन् । सम्पूर्ण घर्ती/भुजेल/खवास बन्धुहरूले आ–आफ्नो क्षेत्रबाट संस्कार, संस्कृतिको अवलम्वन गर्नलाई आनाकानी गरेको स्थिति देखिएको छ ।
निष्कर्ष :
समग्र समाजको समृद्धिका लागि संरक्षण तथा सम्वर्धन आजको अपरिहार्यता बनेको छ । यस खालका संस्कारजन्य कार्यको अबलमवन गर्दा आर्थिक स्थितिमा सुधार, यथार्थ पहिचान र सांस्कृतिक मान्यताको आत्मसम्मान हुँदैजान्छ भने विकास निर्माणमा अपरिहार्यता, आपसी जातीय सम्बन्ध सुधारमा परिवर्तन, समन्वय र समझदारीको क्रममा विस्तार हुन्छ । स्थानीय तहमा चलेका जातीय कला, गला, सीप तथा संस्कार, संस्कृतिलाई संरक्षण, संवद्र्धन र संस्थागत गर्दै जानुपर्दछ । समावेशिताको नीति तथा नारालाई राजनैतिक दलहरूमा व्यापक छलफलको विषय निरन्तर रुपमा बनाइरहनु पर्दछ । जातीय पहिचानको लागि अत्यन्तै महत्त्वको विषय हो संस्कार संस्कृति । यसको संरक्षण गरेमा जातिको आर्थिक अवस्थामा पनि सुधार आउँछ । सामाजिक सम्बन्ध र पहिचान व्यापक बन्दै जान्छ । मगर, गुरुङ, राई आदिको जस्तै प्रख्यात बन्दै जान्छ । यसो गरिएको खण्डमा सिर्जनात्मक कार्य गर्नमा प्रेरित गर्दछ । संस्कार संस्कृतिमा लाग्नको लागि तन, मन तयार हँुदै जान्छ । यसरी अगाडि बढ्दै जादा विकृतिहरूको पनि न्यूनीकरण हुँदै जान्छ । पारिवारिक सम्बन्धलाई सुदृढ पार्दछ । गीत, नाँच, पहिरन, बोलचाल आदिमा आफ्नै जातीय चलनले प्रश्रय पाउँदछ । ठूलाको मात्र नाम, मान र शान होइन, सानाको यथार्थ इमान र खास पहिचान नभएसम्म सभ्य र समृद्द समाज बन्न सक्दैन ।
सन्दर्भ सामग्री स्रोत :
१. सुवेदी, राजाराम, २०५५, गुल्मीको ऐतिहासिक झलक, किरण पुस्तकालय, तम्घास, गुल्मी ।
२. भुजेल, बाबुराम र तामाङ्, “योञ्जन”, अमृत, २०५८, भुजेल जाति र भाषा, भुजेल समाज, काठ ।
३. भुजेल, चन्द्रबहादुर, २०६१, भुजेल जाति बारे केही कुरा, आलेख ।
४. भुजेल जागरण, वर्ष १, अंक १, २०६२, भुजेल जाति अध्ययन मञ्च, काटमाडौं ।
५. भुजेल, अमृतसिंह, २०६२, भुजेल जाति र जीवन पद्धति देवघाट तनहँु, भुजेल समाज, के.स. ।
६. घर्ती, विष्णु ‘भनभनेली’, २०६७, घर्ती/भुजेलहरु (गुल्मीमा प्रथम खोज), भुजेल समाज, गुल्मी ।
(लेखक बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समेत हुन् ।)


प्रकाशित मिति: शुक्रवार, मंसिर २३, २०७९, ११:३८:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहिद दिवस र नेपाली काँग्रेस शुक्रवार, मंसिर २३, २०७९, ११:३८:००
कुष्ठरोगीलाई सम्मान गरौं शुक्रवार, मंसिर २३, २०७९, ११:३८:००
मूल्यवृद्धि नियन्त्रणप्रति वेवास्ता शुक्रवार, मंसिर २३, २०७९, ११:३८:००
दादुरा फैलन नपाओस् शुक्रवार, मंसिर २३, २०७९, ११:३८:००