Shittalpati
रामपुरमा बजार अनुगमन

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, महंगी र अखाद्य वस्तुको विक्री वितरण रोक्न बजार अनुगमन गरेको हो ।

संयुक्त बजार अनुगमन टोलीले रामपुर –५ बेझाड बजारका १६ वटा खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा १६ हजार २ सय ९५ बराबरको लेबल नभएका र म्याद नाघेका सामान समेत बरामद गरी नष्ट गरिएको छ । घरेलु कार्यालयका अनुसार विभिन्न खाद्यन्न तथा किराना पसलहरुमा गरिएको अनुगमनमा लेबल नभएका र म्याद नाघेका कोक, फेन्टा, सुजी, विष्कुट, च्युरा, चकलेट, बच्चाहरुको मिठाई, सोयाविन, सुर्ती जन्यपदार्थ लगायतका सामन बरामद गरी नष्ट गरिएको हो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले बताए । व्यवसायीहरुलाई लेवल विनाका सामग्री, म्याद नाघेका सामग्री विक्री वितरण नगर्न, मूल्य सूची राख्न, पसल दर्ता अनुसारका सामग्री मात्र विक्री वितरण गर्न निर्देशन दिईएको उनले बताए । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने बताइएको छ । रामपुर नगरपालिका, रामपुर उद्योग वाणिज्य संघ, इलाका प्रशासन कार्यालय रामपुर, ईलाका प्रहरी कार्यालय र पत्रकार लगायतको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update