Shittalpati
माथागढी : यस्तो छ एमआईएस शाखाको प्रगति विवरण

पाल्पा (माथागढी), जिल्लाको माथागढी गाउँपालिकाले सबै शाखाका कार्य प्रगति विवरण सार्वजनिक गर्दै आएको छ । गाउँपालिकाका सबै शाखाहरुले आठौं गाउँसभामार्फत चालु आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गर्दै आएका छन् । सोही अवसरमा एमआईएस (व्यवस्थापन सूचना प्रणाली) शाखाले पनि आफ्नो ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ । सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले एमआईएस शाखामार्फत गएको श्रावण महिनादेखी पौष मसान्त सम्ममा भए गरेका कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदन प्रस्तुत गर्दै अधिकृत नेपालले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरुको नविकरण ७५ प्रतिशत सकिएको बताएका छन् । उनले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको विवरण एमआईएस प्रणालीमार्फत प्रविष्ट तथा लगत

कट्टा गरिएको जानकारी दिए । लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता लिन सहज होस् भनेर बैंकमार्फत भत्ता वितरण गर्दै आइएको प्रमुख नेपालले बताए । यसै गरी वडा २, ५, ६, ७ र ८ को बैंक खाता नम्बर मार्फत भत्ता वितरण गरिएको भए पनि वडा १, ३ र ४ को भने लाभग्राही धेरै भएकाले केही समय लाग्ने बताइएको छ । गाउँसभामा सेवा प्रदायकबाट डिजिटाईजेशनको काम भइरहेको, पञ्जिकरण शाखाबाट हुने दैनिक काम तथा मासिक कामहरु निरन्तर भई रहेको प्रमुख अधिकृत नेपालले बताए । गाउँपालिकाको ब्यवस्थापन सूचना शाखाले व्यक्तिगत घटना दर्ताको मासिक प्रतिवेदन विभागमा पठाउने तथा लाभग्राहीहरुको विवरण एमआईएस प्रणालीमा प्रविष्ट गराई सकिएको समेत उनले जानकारी दिए । यस्तै वडा २, ७ र ८ मा सञ्चालनमा नरहेको ईन्टरनेट सेवा पुनःसञ्चालनमा ल्याइएको, वास कार्यक्रम अन्तर्गत संकलन गरिएका तथ्याङ्कलाई वडाहरुमा प्रस्तुती तथा खानेपानी योजनाहरुको प्राथमिकीकरण गरी वास योजना किताब तयार पारिएको र जिन्सी शाखाका पाम्स् (सार्वजनिक सम्पती व्यवस्थापन प्रणाली) सफ्टवयर सञ्चालनमा ल्याईएको बताईएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update