Shittalpati
अब चेक डिपोजिट गर्न अनलाइनबाटै भौचर भर्न सकिने !

पाल्पा । अब चेक डिपोजिट गर्नकै लागि बैंक जान नपर्ने भएको छ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि सहज सेवा दिने उद्देश्यले अनलाइनबाटै चेक डिपोजिटका लागि भौचर भर्न सक्ने व्यवस्था मिलाएको छ । देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक बैंकले अनलाइनबाटै भौचर भर्न सकिने व्यवस्था मिलाएको हो । बैंकमै पुगी भौचर भर्नुपर्ने झनझटबाट बैंकले ग्राहकलाई मुक्त गराएको छ । ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आफूले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरिएको बैंकले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत www.iserve.nicasiabank.com लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्नेछन् । उक्त लिंक भित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ । उक्त भौचरमा आफूलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस मार्फत डिपोजिट कोड पठाइनेछ । त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधैँ बैंकको शाखामा उपस्थित भई बिना कुनै भौचर सोझै काउण्टर मार्फत आफूले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिने बैंकले जनाएको छ । यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update