Shittalpati
गुल्मीका स्थानीय तहले दिए विपन्नलाई रोजगारी

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका –७ वाग्लाका ४८ वर्षीय गोपाल भण्डारी बन्दाबन्दी हुनुभन्दा पहिले गाउँमा मिटर रिडिङ गर्ने गथ्र्थे । बन्दाबन्दीपछि उनको काम बन्द भयो तर अहिले गाउँपालिकाले उनलाई रोजगारी दिएको छ । ‘मिटर रिडिङको काम बन्द भयो, आम्दानीको स्रोत छैन, खर्च बढ्दैछ’, उनले भने, ‘गाउँपालिकाले काम दिएपछि केही सहज भएको छ ।’ सडक मर्मतमा खटेका उनको दैनिक पाँच सयका दरले पारिश्रमिक पाउन्छन् । उनले बेरोजगारलाई कृषिमा रोजगार दिने कार्यक्रम स्थानीय तहले ल्याउनुपर्ने बताए ।

स्थानीय वसन्ता परियारका तीन छोरा र श्रीमान् घरमा छन् । घरमा परम्परागत कृषि कार्यबाहेक आम्दानीको बाटो केही छैन । यस्तो समयमा वाग्लामा दोस्रो चरणको राहतका लागि फाराम भर्ने सूचना खुल्यो । उनले फाराम भरे । वडाका जनप्रतिनिधिले उनको नाम छनोट गरे । उनले वाग्ला चौताराको मोटर बाटो मर्मतको काम गरेका छन् । त्यो उनको आफँैंले पानी ल्याउने बाटो हो । स्थानीय तहले समस्या परेका बेला रोजगारी दिएकोमा उनी खुशी छन् । ‘घरमा सबै खाली छाँै, काम पनि पाइँदैन, साहुले पत्याउन छाडे’, उनले भने, ‘काम गरेको पैसाले घरमा आवश्यक खाद्यान्न सामग्री किन्न पुगेको छ ।’ अर्का स्थानीयवासी टुकी परियारले पनि गाउँपालिकाले दिएको कामबाट घरखर्च चलाउदै आएका छन् । बाह्र वर्षदेखि श्रीमान् रोजगारीका लागि भारतमा छन् । उनको काम बन्द भएपछि आम्दानीको स्रोत छैन । त्यहीबेला वडाले काम दिएपछि उनलाई दैनिक गुजारा चलाउन सहज भएको छ ।

स्थानीयवासी भोजबहादुर परियारले कामको अवधि बढाइदिन वडाका जनप्रतिनिधिसँग आग्रह गरे । ‘राहतस्वरुप खाद्यान्नभन्दा रोजगारी नै ठीक लाग्यो’, उनले भने, ‘यो अवधिलाई बढाइदिनुपर्छ ।’ शुरुमा पाँच दिनका लागि मात्रै पालिकाले काममा लगाएको हो । यदि समय बढाएको खण्डमा काम गर्न तयार रहेको उनले बताए । वाग्लामा कुल १८० कामदार छनोट गरिएको छ । उनीहरुले दैनिक पाँच सयका दरले पाँच दिनको दुई हजार पाँच सय प्राप्त गर्ने छन् । छनोट भएका कामदारलाई पाँच÷पाँच जनाको समूहमा विभाजन गरी काममा खटाइएको छ । उनीहरुले वडाभित्रका मुख्य तथा शाखा मोटरबाटो र गोरेटोबाटो मर्मत गरेका छन् । ‘पहिलो चरणमा चामल, दाल, नुन, तेल, साबुनलगायतका सामग्री वितरण गरेका हौँ’, वडाध्यक्ष हिमप्रसाद पन्थीले भने, ‘गाउँकार्यपालिकाको बैठकबाट नै खाद्यान्नको सट्टा काम दिने निर्णय गरेका हौँ ।’ वडा नम्बर ४ जैसीथोकमा १२५ जनाले काम पाएका छन् ।

मालिका गाउँपालिकाले कुल दुई हजार ७८० जनालाई रोजगारी दिएको छ । उनीहरुलाई दश/दश जनाको समूह बनाएर तीन दिनको रोजगारी दिइएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । छनोट भएका श्रमिकलाई पोखरी, खानेपानी, पँधेरो, सडकलगायत क्षेत्रमा काम दिइएको छ । यसरी काम गरेवापत प्रतिश्रमिकलाई ३० किलो चामल, तीन किलो दाल, एक नुन र एक लिटर तेल प्रदान गरिनेछ । ‘सीधै नगद दिँदा मदिरा सेवन गरी परिवारका सदस्य खाद्य पदार्थबाट वञ्चित भएको समेत पाइयो, त्यसैले नगद नभई खाद्यान्न दिने गरेका छौंँ ’,कामवापत खाद्य पदार्थ दिएपछि कालोबजारी पनि न्यूनीकरण हुने उनले भने । रुरुक्षेत्र गाउँपालिकाले पाँच सयभन्दा बढीलाई रोजगारी दिने तयारी गरेको छ । उनीहरुलाई पानीघट्ट, सडक मर्मतलगायत क्षेत्रमा रोजगारी प्रदान गरिने गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले जानकारी दिए । त्यसरी नियुक्त श्रमिक काममा खटिएका छन् । उनीहरुले दैनिक पाँच सयका दरले ज्याला पाउने गौतमले बताए ।

मुसिकोट नगरपालिकाले बन्दाबन्दीलाई ध्यानमा राख्दै ९० कामदार नियुक्त गरेको छ । गत वैशाख १६ गतेदेखि नियुक्त श्रमिकले आगामी कात्तिकसम्म काम गर्ने छन् । उनीहरुलाई मासिक १३ हजार पाँचसय ज्याला तोकिएको छ । नगरपालिकाले फलफूल र कफी लगाउने योजना बनाएको छ । सहकारीमार्फत काम भए पनि नगरपालिकाले कृषि श्रमिक नियुक्त गरेको हो । यसरी नियुक्त कृषि श्रमिकलाई बोटबिरुवा लगाउन तयार गरिएको प्रतिखाडल ६० का दरले रकम प्रदान गरिने व्यवस्था मिलाइएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए । यसरी काम दिँदा एक श्रमिकले दिनमा १७ वटासम्म खाडल खनेको र दैनिक रु एक हजारसम्म आम्दानी गरेको उनले बताए ।    -रासस

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  ०४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update