Shittalpati
सिक्का छाप्ने मेसिन नेपालमै तयार

पाल्पा, सिक्का छाप्ने मेसिन अहिले नेपालमै तयार भएको छ । दुुई दशक अघि नेपालमा छाप्न बन्द गरिएका चलनचल्तीका नेपाली सिक्का अहिले नेपालमै छाप्न थालिएको हो ।

टक्सार विभागले सिक्का छाप्नका लागि मेसिन तयार पारेको छ । राष्ट्र बैंक अन्तर्गतको टक्सार विभागले पुराना मेसिनलाई मर्मत सम्भार गरी सिक्का छाप्न सक्ने गरी प्रवन्ध मिलाएको छ । अहिले विभागले परीक्षणका रुपमा चलनचल्तीको नमुना सिक्का छाप्न थालिसकेको छ । करिब दुई दशकपछि टक्सारले नेपालमै परीक्षणका रुपमा सिक्का छाप्न थालेको राष्ट्र बैंक टक्सार विभागले जनाएको छ । नेपालमा दुई दशक अघिसम्म राष्ट्र बैंकले सुन्धारास्थित टक्सार विभागबाट सबै प्रकारका सिक्का (चलनचल्तीका र सुन तथा चाँदीका स्मारिका) बनाउँदै आएको थियो । पछि राष्ट्र बैंकले चलनचल्तीका सिक्का बनाउन छोडेको थियो । त्यो समयमा चाँदीका स्मारिका सिक्का र सुनका असर्फी मात्र बनाउन थालिएको थियो । अहिले परीक्षणका लागि भएकाले ती सिक्कामा कुनै एक वा दुई वा पाँच, दश रुपैयाँ भनेर कुनै नम्बर उल्लेख गरिएको छैन । परीक्षण सफल भएको र राष्ट्र बैंकको उच्च व्यवस्थापनले चलनचल्तीका सिक्का नेपालमै छपाइ गर्ने भन्ने निर्णय गरेको थियो । उक्त सिक्का छपाइका लागि हाल ४ वटा मेसिन रहेको र प्रति मेसिनले एक सेकेन्डमा २ वटा सिक्का तयार गर्न सक्ने बताइएको छ ।

केही वर्षयता नेपालले एक र दुई रुपैयाँका कागजी नोट छाप्न छोडेको छ । ती दरका रुपैयाँको सिक्का मात्र छाप्दै आएको छ । ती सिक्का विदेशमै छापिँदै आएको छ । राणा शासनकालमा सुन्दरीजल, नक्खु, घट्टेकुलो र काठमाडौँबाहेक पाल्पा, गुल्मी लगायतका स्थानबाट सिक्का टड्ढन हुन्थ्यो । त्यसपछि सुन्धाराको धरहरा नजिक टक्सार विभाग गठन गरी सिक्का निष्कासनको काम सुरु गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update