Shittalpati
साताको सेयर बजार : परिसूचक ३३ अंकले  बढ्यो

पाल्पा, गएको साता सेयर बजारलाई हेर्ने हो भने केही अंकले वृद्धि भएको देखिन्छ । सो अवधिमा (नेप्से) परिसूचक ३३ अंकले वृद्धि भएको हो ।

गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साता ३३ अंकले परिसूचक बढेर बन्द  छ । यो १.६८ प्रतिशतको वृद्धि हो । यो साता ४ दिन नेप्सेको कारोबार भएको थियो । यसमध्ये आइतबार, सोमबार र मंगलबार परिसूचक बढ्यो । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका कारण सार्वजनिक विदा थियो । यस्तै बिहीबार भने परिसूचक घट्यो । आइतबार १४ अंक, सोमबार ०.०७ अंक र मंगलबार २५.९३ अंकले परिसूचक बढेको थियो । बिहीबार भने ७.३१ अंकले घट्यो ।

यससँगै आइतबार १ हजार ९ सय ६५ अंकबाट सुरु भएको नेप्से परिसूचक अन्तिम कारोबार दिनसम्ममा १ हजार ९ सय ९८ अंकमा आएर रोकियो । यसक्रममा सेन्सेटिभ इन्डेक्स २ प्रतिशत, फ्लोट इन्डेक्स १.९६ प्रतिशतले बढ्यो । परिसूचक बढेसँगै यो साता नेप्सेको कारोबार रकम पनि बढेको छ । साताको चार दिन १४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ । गत साताको ४ दिनमा ९ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो । कारोबार रकमसँगै परिसूचकमा समेत सुधार आउँदा यो साता नेप्सेको पुँजीकरण समेत बढेको छ । यो साता परिसूचक १ प्रतिशतले बढ्दा समग्रमा ५२ अर्ब रुपैयाँले बढ्यो । यससँगै नेप्सेको बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।लामो समयदेखि घट्दै आएको नेप्से परिसूचकमा यो साता भने सुधारको संकेत देखिएको छ । ब्रोकर कमिसन घटाउनेबारे अर्थ मन्त्रालय सहमत भएपनि यसबारे निर्णय भइसकेको छैन । ब्रोकर फि घटाउने निर्णय लगानीकर्तासमक्ष आएपछि बजारमा सुधार देखिएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update