Shittalpati
त्यो ‘कालो दिन’: पुस एक

नेपाली राजनीतिमा कयौं घटनाहरु कालो दिनका रुपमा देखा परेका छन् । पुस १ गतेलाई पनि नेपाल र नेपाली जनताले कालो दिनका रुपमा लिने गरेका छन् । नेपाली इतिहासमा विसं २०१७ साल पुस १ गतेका प्रजातन्त्र खोसिएको दिन हो । राजा महेन्द्रले तत्कालीन नेपाली काँग्रेसको दुईतिहाइ बहुमत प्राप्त जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई अपदस्थ गर्दै शासनसत्ता आफ्नो हातमा लिएका थिए । यो घटना इतिहासको कुनै कालखण्डमा सुरक्षित भैसकेको देखिए पनि अहिले पनि त्यसको प्रभाव महशुस गर्न सकिन्छ । प्रजातन्त्र र स्वतन्त्रतालाई मूल धर्म र मन्त्र मान्नेहरुले आजको दिनलाई ‘कालो दिन’का रुपमा समेत व्याख्या र विश्लेषण गर्ने गर्छन् । पुस १ को घटनापछि विपीसहित कयौं नेताहरुलाई पक्राउ गरी जेल हालियो । त्यो समयमा निर्वासित हुनेहरु समेत बढे । ३० वर्षसम्म दलविहीन पञ्चायती व्यवस्थाको दबदबा रहेको कारण सो अवधिमा दमन र उत्पीडनको सिकार बन्दै शहीद भएका, जेलनेल भोगेका र निर्वासनमा गएकाहरु हजारौंको संख्यामा रहे । नागरिकका अधिकार र लोकतन्त्र पुनर्बहालीको संघर्षमा हजारौं व्यक्तिले ज्यान गुमाए, मृत्युवरण गर्न तयार भए, कठोर कारागार सजाय पाए, चरम यातना भोगे, बेपत्ता पारिए, यौन हिंसामा परे, शरणार्थी बने, घरवारविहीन भए तथा परिवारलाई विचल्लीमा पारे । तर एकतन्त्रीय तथा निरंकुश शासनसँग लोकतान्त्रिक सिद्धान्तमाथि संझौता गरेनन् । यसलाई सत्ता तथा व्यक्ति स्वार्थसँग साटेनन् । राष्ट्रलाई केन्द्रविन्दुमा राखेर संघर्ष चलाए । गौरवशाली नेता तथा नागरिक बनेर राष्ट्रको शिर उच्च राखे । यो आफैमा ऐतिहासिक र गौरव गर्न लायक हो ।
२०१७ पुस १ गतेको घटनाबाट देशका प्रमुख राजनीतिक दलहरुले शिक्षा लिनुपर्ने हो, तर त्यस्तो देखिँदैन ।त्यो कालो दिनबाट पाठ नसिकेकै कारण मुुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या, शान्ति सुरक्षालगायतका विषय अत्यन्त कमजोर छन् । तत्कालीन एक जना राजाको ठाउँमा अहिले दर्जनौंले भूमिका निभाइरहेका छन्, तर पनि देश विकासको सन्दर्भमा तुलनात्मकरुपमा खास प्रगति हासिल भने हुन सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । लामो सर्घष पछि प्राप्त गरेको लोकतान्त्रिक व्यवस्था वर्तमान अवस्थामा सुरक्षित छ भनेर ढुक्क हुने अवस्था अझ बनेको छैन् । पछिल्लो विकसित भइरहेका घटनाक्रमहरु हेर्दा राजाको शासन पुनः खोजी गर्नेहरुको मत शक्तिशाली हुँदै गएको पाइएको छ । जुन संसदीय व्यवस्थामा विश्वास गर्नेहरुका लागि पाठसमेत हो । निरंकुशतामा विश्वास राख्ने शासकहरूले जनताको भावना माथि खेल्ने यस्तै अकर्मण्यताको अवस्थामा हो । जनताका विरक्ति र आक्रोश माथि तिनले फाइदा उठाउने गरेका छन् । लोकतन्त्रको हत्या गर्न यस्तै स्थिति तिनले कुर्ने हुन् । यसर्थ अर्को कालो दिन भित्रने अवस्था भने सिर्जना नगरौं ।

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update