विचार

नेवारी संस्कृति योमरी पुन्हि

Shittalpati Reporter

मदन देउराली
आज मार्गशिर्ष शुक्लपक्ष पूर्णिमा योमरी पुन्ही यसलाइ धान्य पूर्णिमा पनि भनिन्छ । यो पर्ब धानबालीसंग सम्बन्धित रहेकोले नै यस दिनलाई धान्य पूर्णिमा पनि भनिएको भनिन्छ । नेवारहरु यस पूर्णिमालाई थिंला पुन्हि पनि भन्दछन् । काठमाडौं उपत्यकाका अधिकांश टोलहरुमा आज साँझ बच्चाहरु ‘त्य: छिं त्य: बकछीं त्यः, लातापाता कुलिचाँ जुसि त्यः’ भन्दै योमरी माग्दै हिडछन् । अझ युवा युवतिहरु ‘योमरी च्वामु उकी दुने हाकु व्युसा माकु मव्युसा फाकु , व्युम्ह ल्यासे मव्युम्ह बुरी कुटी, पिने चिकु दुने न चिकु पिया चुने थाकु’ ।। भन्दै योमरी माग्छन् । नेपाल भाषा अर्थात नेवारी भाषामा यस्को अर्थ चारमाना दिए पनि हुन्छ एक माना भए पनि हुन्छ, जे–जे छ जस्तो छ स्वेच्छाले दिनुहोस् । ञ चुच्चो, यस भित्र कालो, दिए मिठो, नदिए तितो, दिए तरुनी नदिए बुढी छुचि । बाहिर जाडो भित्र पनि जाडो पर्खि राख्न गाह्रो । भन्दै योमरी माग्ने गरिन्छ । आजको दिनलाई नेवारी समुदायले प्रमुख संस्कृति तथा चाडको रुपमा मान्दछन । यो दिनलाई केवल नेवार समुदायहरुले मात्र हैन किरात समुदायहरुले पनि उँधौली पर्वको रुपमा मनाउँछन् । साथै आजको दिन पहाडी समुदायले कूलपूजा र गोठपूजा गरी गैडु पूजा गर्ने चलन पनि रहेकोछ । पहिला उपत्यकाका धेरैजसो मानिसहरु खेतिपाति गर्थे । उनीहरुको आम्दानीको मुख्य श्रोत नै खेतिपाति थियो त्यसैले खेतिपातिमा बढी ध्यान दिन्थे । कृषकहरुलाई बर्षायाम शुरु भएपछि धान रोप्ने चटारो हुन्छ अनि मंसिर लागे पछि पाकेको धान काटेर थन्काए पछि धर्तिमाता प्रति कृतज्ञता प्रकट गर्न धान्य पूर्णिमा पर्व मनाउने गरिएको भनिन्छ ।

आफ्नो घरको भकारीमा रहेको धान कम नहोस् र जहिले पनि धन धान्यले भरिभराउ भई रहोस भनेर यो पर्व मनाइने भएकोले यो पूर्णिमालाई धान्य पूर्णिमा भन्ने गरिएको भनिन्छ । आजको दिन काठमाडांै उपत्यका मात्र नभै देशैभरि छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले नयाँ धान बाली भित्राएको खुसीयालीमा ञ पुन्हि मनाउँदछन् । अन्य समाज भन्दा अलि फरक नेवारी समुदायको जनजीवन नै एकप्रकारले कलापूर्ण मान्नुपर्छ । खाने, पिउने, बस्ने आदिमा समेत यिनको हरेक क्रियाकलापहरु अत्यन्त महत्वपूर्ण तथा कलात्मक हुन्छन् । ञ बनाउने कला पनि यसै भित्र पर्दछ । योमरी जाडोमा खाने न्यानो परिकार भित्र पर्दछ । जाडोमा योमरीले खानाले शरीरमा आवश्यक तातो उर्जा दिने र चिसोबाट लाग्ने रोग निको हुने भएकोले यसको सेवन फाइदाजनक मानिन्छ । यो खाएमा जाडो भगाउँछ भन्ने मान्यता पनि छ ।

यसलाई नेवार समुदायले एक मौलिक चाडपर्वको रुपमा मनाउँदछन् । नयाँ अन्न भित्रिए पछि खुसी व्यक्त गर्न सबभन्दा पहिला उक्त धानको पीठोमा चाकुको झोल, तिल राखेर पानीको बाफबाट योमरी बनाइ माता अन्नपूर्णा लगाएत अन्य विभिन्न देवीदेवताहरुलाई चढाउनु पर्दछ । यसरी योमरी बनाउँदा कसै कसैले अमm मिठो बनाउन यस्मा चाकुसंगै नरिवल, छोहरा, बदाम आदि मिसायर पनि बनाउँछन भने कसैले खुवा, किमा, मास, कुराउनी आदि राखेर पनि योमरी बनाउँछन् । यो रोटी खाँदा मिठो हुने भएको र सबैले मन पराएको हुनाले यसलाई योेमरी भनिएको हो । नेवारी भाषामा यो भनेको मन परेको मरी भनेको रोटी अर्थात मन परेको रोटी योमरी नेवारी शब्द हो । योमरी अत्यन्तै स्वादिष्ट हुन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परिकार स्वास्थ्यका हिसावले हितकारी छ त्यसैले यसलाई नाश्ताको रुपमा पनि खाइन्छ । खेतबाट आएको नयाँ धानलाई पूर्णिमाको दिन योमरीको पहिलो भागलाई भकारीमा राखि पूजा गरिन्छ तथा यस्को चार दिन पछि मात्र निकालेर प्रसादको रुपमा बाँडेर खाने अरुलाई बोलाएर ख्वाउने चलन रहेको छ । यसलाई सञ्चय गर्नुपर्छ भन्ने अर्थ लगाइएको छ । यसरी धानको भकारी लगाएत आदि अन्नको भण्डारमा चढाएमा वर्ष दिनसम्म धन सम्पति स्थिर हुने अन्नको अभाव नहुने तथा धन सम्पति बृद्धि हुने विश्वास पनि गरिन्छ । यसलाई न्वागीको रुपमा पनि लिने गरिन्छ । नेवारी संस्कृतिमा बच्चाहरुलाई जोर जन्मवर्षको आधारमा दुइ चार छ गरी बाह्र वर्ष सम्म उमेर अनुसार ञको माला बनाएर लगाई दिने चलन पनि रहेको छ ।

त्यस्तै गरी गर्भवती महिलालाई उनको पेट भित्र हुर्किरहेको शिशुको सुस्वास्थ्यको कामना गर्दै पौष्टिकताले भरिपूर्ण होस भनि नर्वौ महिनामा दही चिउरा खुवाउने क्रममा योमरी पनि खुवाइन्छ । त्यस्तै नयाँ घरको प्रतिस्थापन गर्दा पनि छतबाट योमरीको वर्षा गराइन्छ । वास्तवमा सांस्कृतिक, धार्मिक तथा पौष्टिकताको आधारमा पनि यस पर्व भित्र सिंगो नेवारी समुदायको सभ्यता र संस्कृति समेटिएको पाइन्छ । चाँगु नारायण मन्दिरका रहेको शिलालेखमा र भाषा बंशावलि अनुसार लिच्छिविकालिन राजा अंशुवर्माको शासनकालमा चाँधौं शताव्दि तिर पनौति देखि यो कार्य शुरु भएको थियो । पहिला पनौतिलाई पाँचालनगर भनिन्थ्यो । पौराणिक कथा अनुसार पाँचालनगरका एक विवाहित जोडी सुचन्द्र तथा क्रिता नाम गरेका दम्पतिले एक प्रकारको मिठाइ तयार पारेर आफना छरछिमेकी र गाउँलेहरुलाई खुवाएछन् । जुन सबैले रुचाए र मीठो मानि खाए र सबैले मन पराएको हुनाले त्यसको नाम योमरी रहन गएको भनिन्छ । यही सन्दर्भमा एकपटक धनका राजा कुवेर पनि भेष बदलेर एउटा भिखारीको रुपमा त्यहाँ आएछन् । उनलाई पनि ति दम्पतिले भिखारी भए पनि राम्रो सत्कार गरी मीठा मीठा खानेकुरा संगै योमरी पनि खान दिएछन् । उनीहरुको सत्कारबाट कुबेर खुसी भइ आफनो वास्तविक रुप देखाई उनीहरुलाई धनधान्यले भरिपूर्ण हुने तथा यो मंसिर पूर्णिमाको दिन जस्ले योमरी बनाइ भगवानलाई चढाइ पूजा आजा गर्नेछ उनीहरु गरीबीबाट मुक्त हुनेछ भनि बरदान दिई अन्तधर््यान भएछन् । पनौतिले आफनो नगरलाई यमरिको नगर भनेर चिनाउँदै आइरहेका छन् । ञ बनाउँदा त्रिकोण या लाम्चोे आकारको बनाइन्छ ।

यो विश्वास गरिन्छ कि योमरीको पुच्छर जति लामो हुन्छ त्यति नै हिउँद छोटो हुन्छ रे । योमरी लाई पृथ्वीसंग तुलना गरिन्छ । योमरीको दुई टुप्पालाई उत्तरी तथा दक्षिणी ध्रुबको रुपमा लिइन्छ । यस्मा राखिने चाकु तथा तिललाई महामायाको रुपमा मानिन्छ । मासुको कीमा राखेर बनाइएको योमरीलाई गणेश मानिन्छ भने कालो दाल राखेर बनाइएकोलाई कुबेर मानिन्छ । योमरीको पहिलो भागलाई भकारीमा राखी पूजा गरिन्छ । आज पनि ललितपुरका स्थानीय बासिन्दाहरुले यस योमरी पूर्णिमाका दिन सम्बत १०९ मा निर्माण गरिएको बलभद्रको मूर्तिमा योमरी चढाउने गर्दछन् । कहिले पनि खेति नभएको ठाउमा बलबल (बलभद्र) अधि सरेर खेति गरेको हुनाले त्यही धान फले पछि योमरी बनाएको र त्यसैको स्मृतिमा उनको मूर्तिमा योमरी चढाउने गरिएको भनिन्छ । यस दिन पनोैतिको धनेश्वर महादेवको मन्दिरमा ठूलो मेला लाग्दछ भगवानलाई नयाँ धान, योमरी चढाउने गर्दछन । काठमाडांै उपत्यकाबाट विभिन्न कालखण्डमा विभिन्न कामको सिलसिलामा आएका नेवारहरले आफुहरुले उपत्यकामा मनाउने गरेका सबैजसो जात्रा चाडपर्व तानसेनमा पनि स्थापित गराएको भनिन्छ । यही सन्दर्भमा आजका दिन तानसेनका प्रायजसो नेवारहरुको घर घरमा यसदिन योमरी बनाइन्छ । त्यसबेला कतिपय नेवारहरुको आफनो खेतीपाती हुन्थ्यो, प्रशस्त धान आउँथ्यो । घरमा नयाँ अन्न धान भित्राई सके पछि सो धानको पीठोबाट यमरी बनाइन्थ्यो तर आजकाल खेतीपाती छोडे पछि नयाँ धान आउँदैनन् त्यसैले बजारबाट चामल ल्याएर त्यसैको योमरी बनाउँछन् । योमरी बनाउँदा पहिला भगवानलाई चढाउनु पर्छ भनेर एकदिन अगाडि नै बनाउन शुरु गर्छन् । यसरी बनाउँदा गणेश, लक्ष्मी, कुबेर र कुमार, ल्होंचा मरी तथा अन्य चरा, कछुवा, मूला र साथसाथै दुइवटा अलि ठूलो आकारको योमरी बनाउँछन्, जसलाई मायो (आमा) र बायो (बुवा ) भनिन्छ । यी बनाइएका सबै योमरीलाई पहिला जस्तो धानको भकारी नहुने भएकोले कसैले टीनको डब्वा त कसैले बाटामा चामल माथि राखेर विधिपूर्वक पूजा गर्दछन् तर सबैले गर्दैनन् ।

आफुले मनले चिताएको पूरा होस् भनि भगवानको प्रार्थना गर्दछन् । पूजा पछि आफना चेलीबेटीहरु, नातेदारहरुलाई बोलाई विभिन्न परिकारका भोज संगै योमरी पनि खुवाउने गरिन्छ । चार दिन पछि सो भकारीमा राखिएका सबै योमरी निकाली पुन प्रसादको रुपमा सबैलाई बाँडिन्छ । पहिला तानसेन नेवारहरुको नै बस्ति थियो तर विस्तारै नेवारहरु यहाँबाट पलायन हुन थाले पछि संस्कृति पनि लोप हुँदै जान थाल्यो । बचेखुचेका नेवारहरुले आफनो पारम्परिक संस्कृति संरक्षण गर्न सकिरहेका छैनन् । त्यसैले संस्कृति लोप नहोस भनेर देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानले विगतमा तिन वर्ष लगातार योमरी बनाउन प्रोत्साहन गर्दै आएको थियो र प्रोत्साहन स्वरुप नगद पुरस्कार पनि प्रदान गर्दे आएको थियो ।

यस वर्ष मैत्री क्लबको आयोजना र देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानको प्रायोजनमा योमरी प्रदर्शन र विक्री पनि गर्ने कार्यक्रम सम्पन्न गरेको छ । मैत्री क्लबलाई प्रतिष्ठानले संस्कृति संरक्षणमा सक्रिय भई राखेकोले प्रोत्साहन स्वरुप आर्थिक सहयोग पनि गरेको छ । संस्कृति संरक्षण हाम्रो प्रयासमा सन्दर्भमा देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान प्रतिबद्ध छ साथै संस्कृति लोप नहोस भन्नेमा सबैको सहयोगको अपेक्षा गरेको छ । योमरी पुन्हिको सु–अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुमकामना । अस्तु !
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)


प्रकाशित मिति: बिहिवार, मंसिर २२, २०७९, ११:१८:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहिद दिवस र नेपाली काँग्रेस बिहिवार, मंसिर २२, २०७९, ११:१८:००
कुष्ठरोगीलाई सम्मान गरौं बिहिवार, मंसिर २२, २०७९, ११:१८:००
मूल्यवृद्धि नियन्त्रणप्रति वेवास्ता बिहिवार, मंसिर २२, २०७९, ११:१८:००
दादुरा फैलन नपाओस् बिहिवार, मंसिर २२, २०७९, ११:१८:००