Shittalpati
सुध्रिने नेता की जनता ?

‘नेपालका हरेक क्षेत्रमा वेथितिले प्रवेश पाएको छ । अरु क्षेत्रको त कुरै छोडिदिनुस् । जनतालाई न्याय दिन बसेका नेपालका न्यायलय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यस्तै प्रयोजनका लागि गठित अन्य निकायहरु वेथिति र भ्रष्टाचारले चुर्लुम्म डुवेका छन् ।’ यी अशं गत स्थानीयतहको निर्वाचनको क्रममा आफ्नै गाउँ आगनमा भेटिएका प्रदेशको जल्दो बल्दो मन्त्रालय समालेका मन्त्रीसँगको भलाकुसारीमा उहाँबाट व्यक्त भनाई हो  । यसको दोषी को ? जनता की देश हाँकिरहेका विभिन्न दलका नेतृत्वकर्ता ? उत्तरको खोजिमा लाग्ने हो भने सामान्य जनताबाट सजिलै उत्तर पाइन्छ र त्यसको एउटै कारण गलतदिशा र लिग भन्दा बाहिर हिडिरहेको नेपालको राजनीतिक वेथिति र त्यसलाई प्रोत्साहन गर्ने राजनितिक नेतृत्व वर्ग । हरेक कुरामा हामी नेपालको हालसम्म नेतृत्व गरेका राजनीतिक दल र उनका नेतृत्वकर्ता माथी प्रश्न चिन्ह उठाई रहेका हुन्छौ । देशमा राजनीतिक अस्थिरता बढ्दै जानु, देशमा वेथिति बढ्दै जानुको मुख्य दोषी राजनीतिक दल र तीनका नेतृत्वकर्ता हुन भने सधै भर तीनै राजनीतिक दललाई निर्वाचित गराउने, परिवर्तन नचाहने हामी नेपाली जनता पनि सहायक दोषी समूहका रुपमा रहेका छौ । यहाँ यसैसँग सम्बन्धित विविधपक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेपले चुलुर्म डुबिसकेको छ । कर्मचारीतन्त्रलाई चरम हस्तक्षेपका कारण अस्थित्व विहिन बनाईएको छ । उनीहरु आफ्नो क्षमता र कार्यक्षमता बढाउन हैन राजनीतिकर्मीको हजुरी र चाकरीमा समय बिताउन थालेका छन् । जती हजुरी गर्यो, निर्वाचनमा राजनीतिकदललाई सहयोग र सक्रियता देखायो त्यही नै पुरस्कृत हुने, उसैको वृत्ती विकास हुने, रोजेको कार्यालयमा सरुवा हुने संस्कारको विकास गरेका छौ । यहि कारण सरकारी कार्यालयमा सेवाग्राहीले बेला–बेलामा विभिन्न समस्या झेल्दै आउनु परिरहेको छ । कहिले कर्मचारी तन्त्रबाट त कहिले सेवाग्राहीको तर्फबाट विभिन्न विवाद र आक्रमणका सममचार आई रहेको छ । यसको मुख्य कारणको रुपमा दुवै पक्षलाई राजनीतिक दल र तीनका नेतृत्व वर्गले गर्ने राजनीतिक आरक्षण हो । एमसीसी, हिजोमात्र संसदबाट पारित नागरीकता विधेक लगायत बेला बेलामा विभिन्न प्रलोभन र शक्ति समूहको दवाबमा हाम्रा नेतृत्व वर्गले विगत र वर्तमानमा पनि राष्ट्रहित र राष्ट्रियतामा आँच आउने गम्भीर र दीर्घकालीन असर हुने खालका विना अध्ययन र विश्लेषण निर्णय र सम्झौता गरिरहेका छन् । हाम्रा पूर्खाले राष्ट्रयताका लागि गरेको योगदानलाई हाम्रा नेतृत्ववर्गले छिनभर मानै गुमाई रहेका छन् । हाम्रा राजनीतिक दलहरुमा आफ्ना समर्थकबाट हुने गलत कार्यलाई गलत भन्न नसक्ने दीर्घ रोग लागि सकेको छ । सामान्य औषधीले यसको रोगथाम त होला तर उपचार भने असम्भवनै देखिएको छ । उपचारका लागि भारत, अमेरीका तथा युरोप तीर ताकियो भने यो झनै बल्झिने देखिन्छ । त्यसैले यसतर्फ सजग नै हुनुपर्ने हो की ? अरु क्षेत्रको त कुरै छोडौ न्याय दिन बसेका तीनै तहका अदालतहरु अर्थहिनको बाटोमा हिडिरहेको आवास भएको छ । न्यायप्रणालीमा लेनदेन र बारकेनिङ्गले प्रश्रय पाईरहेको आभाष भै रहेको छ । साथै बेला बेलामा चरम राजनीतिक हस्तक्षेपका कारण वेथीतिहरु सडकसम्म नै आइपुग्ने गर्दछ । यस्तो संवेदनशील क्षेत्रमा भएको वेथिति, राजनीतिक हस्तक्षेप र आश्चार्यजनक निर्णयले सामान्य नागरीकलाई भने दुखी तुल्याउने गर्दछ । न्यायधिश नियुक्तिमा राजनीतिक भागवण्डाले यस क्षेत्रमा भित्र भित्र भुसको आगो झै आगो फैलिरहेको छ कुन दिन समाप्त हुने हो यसको कुनै भर नै छैन । राज्यका सुरक्षा निकाय माथी पनि बेला बेलामा अस्थिरता निम्त्याउने काम वर्तमान राजनीतिक प्रणालीले गरेको देखिन्छ । राष्ट्रिय एकताका हरेक पक्षमा निरन्तर हस्तक्षेप भइ त्यस क्षेत्रलाई विवादमा तान्ने काम भइरहेको छ । राष्ट्रिय एकताको प्रतिक मानिने नेपाली सेनालाई पनि विवादमा तान्ने त्यस भित्र द्वन्द्व ल्याउने प्रयास नगरिएका पनि हैनन् तर हालसम्म भने यस संस्थामा जनताले देख्ने गरी विवाद भएको भने देखिदैन । हाम्रो आस्थाको केन्द्र नेपाली सेना र यस पवित्र संस्थामा कुनै विवाद नआओस् । नेपाली जनताको नेपाली सेना माथिको आस्था र विश्वास सगरमाथा जस्तै अटल रहिरहोस् यहि कामना गरौं । विदेशीको प्रलोभन र इसारामा चल्ने हाम्रा नेतृत्व वर्गले भावि दिनमा पवित्र संस्था भित्र द्वन्द्वलाई कमजोर बनाउने प्रयास गर्न सक्ने भएकाले यसतर्फ सजग र सचेत हुन जरुरी देखिन्छ ।

संघीयता र धर्मनिरपेक्षता लगभग ८१ प्रतिशत जनताको चाहान हैन तर तालिका भरमा यी विषय नेपाली जनता माथि लादिए तर हामी चुपचाप ताली बजाई रहयौँ । कुनै विरोधको आवाज ल्याउन सकेनौ । एउटा राजा फालेर सयौं राजा बनाउन हामी तयार भयौं तर यिनलाई खवरदारी गर्नका लागि आवश्यक दमन चाल्नु राजनीतिक दलका मिठा भाषण र ललीपपमा भूल्नु हाम्रो गम्भिर गल्ती हो । त्यसैले भन्न मन लाग्छ नेता मात्रै होइन दोषी त हामी जनता पनि त होनी । परिवर्तन नचाहने सधै एउटै नेता, एउटै पार्टीलाई मतदान गर्ने आफूलाई परिवर्तन गर्न नसक्नु, बा र हजुर बा ले जे गरे त्यही गर्ने आफू परिवर्तन हुँनै नचाहने पनि हामी नेपालीको सबै भन्दा ठूलो गल्ती हो यस पक्षमा हामी सुध्रिनु जरुरी देखिन्छ । आफ्नो विचारलाई स्थिर हैन परिवर्तनशील बनाउनु जरुरी छ । चित्रबहादुरको कुरा सहि छ भन्छौ, लिङदेलको कुरा सहि छ भन्छौ, बालेन र हर्ष सम्पाङको कुरा गछौं, रवि लामिछाने माथि आसावादी पनि हुन्छौ तर मतदान गर्न मतदान स्थलमा पुग्दा भोट खेरा जान्छ भनेर सधैं हालेको राजनीतिक दलको चुनाव चिन्ह रोज्छौं अनि त्यसैमा भोट हाल्छौ अनि देश बनेन् भनेर पटक–पटक राजनीतिक दल र तीनका नेतृत्वलाई दोष दिन्छौ । राम्रो कार्य गर्नेलाई पुरस्कृत र नराम्रो कार्य गर्नेलाई सजाय दिन हामी मतदाता तयार हुनु पर्दछ । त्यसैले राजनीतिक दल मात्र नभएर हामी मतदाता पनि सुध्रिनु जरुरी देखिन्छ ।

राप्रपा अध्यक्ष लिङ्देलले भने जस्तो अदालत अदालत जस्तो नहुनु, सवैधानिक अंगहरु सवैधानिक अंग जस्ता नहुनु, संसद संसद जस्तो नहुनु, सासद सासद जस्ता नहुनु आफ्नो हैसियत र व्यक्तित्व नै गुमाउनु, बेला बेलामा विवादमा आइरहनु, भनिने गरिएका सरकार तीन वटा छन् तर जनतालाई भएको महशुस नहुनुको मुख्य कारण राजनीतिकदलका नेतृत्वमात्र हैन तीनलाई त्यहाँसम्म पुर्याउने हामी मतदाता पनि दोषी छौं । पल्लाभारी नेतृत्व वर्गमा नै हुने देखिन्छ तर ती नेतृत्वलाई नीति निमार्ण तहमा पुर्याउने हामी मतदाता पनि दोषबाट मुक्त भने हुन सकिदैन । एक अर्कालाई दोष थुपारेर सिमित राजनीतिक स्वार्थ पूर्तिका लागि यति सुन्दर, प्राकृतिक स्रोत साधनले भरिपूर्ण र प्रसस्त सम्भावना बोकेको देशलाई कुरुप बनाउने, अस्थिर र अविकसीत अवस्थामा राखि रहने, केहि शक्ति समूहको स्वार्थमा सञ्चालन गर्ने नियतको अन्त्य अब हुनुपर्दछ । गल्ती र गलत दिशामा देशलाई लाने छुट अब कसैलाई दिनुहुँदैन । नेपाली जनता पनि सरकारका हरेक काम कारवाहीमा सचेत र चनाखो हुनु जरुरी देखिन्छ । गलत कार्यलाई आफ्नै समर्थक राजनीतिक दलबाट नै भएपनि गलत भन्न सक्नुपर्दछ । नेतृत्ववर्ग र जनतामा रहेका कमीकमजोरीहरु अब हटनु पर्दछ । नेपाललाई सुन्दर, शान्त र विकसीत बनाउन आ–आफ्नो ठाँउबाट अब ढिलो नगरी लाग्नु जरुरी देखिन्छ । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update