Shittalpati
हाम्रो यात्रा २८ वर्षमा

आजदेखि हाम्रो यात्रा २८ वर्षमा प्रवेश गरेको छ । पाल्पाबाट विगत २७ वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको २७ वर्ष पूरा गरेर २८ वर्षमा पाइला टेकेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि हामीले ३ सय ५२ अंक प्रकाशित गर्दै आजदेखि २८ बर्षमा प्रवेश गरेका छौं । नेपालका धेरै जसो दैनिकहरुले वर्ष दिनमा ३ सय अंक समेत प्रकाशन गर्न नसकेको अवस्थामा पाल्पा जस्तो पहाडी जिल्लाबाट ३ सय ५२ अंक प्रकाशन गरेर पाठकको घरदैलोमा पुर्याउन पाएकोमा खुशी छौं । आरोह, अवरोध, चुनौतीलाई पार गर्दै यो रुपमा आइपुग्न यहाँहरुको माया, सुझाव, सल्लाह, सहयोगको ठूलो हात छ ।

मोफसलमा रहेर समाचारमूलक पत्रिका प्रकाशन गरी यो यात्रा तय गर्नु पक्कै पनि चुनौतिपूर्ण कार्य हो । मुलुक समृद्धिको यात्रामा छ । यो यात्रामा हामी सँँगसँगै छौं । विधिको शासन, सामाजिक न्याय, सुशासन र मानवअधिकार लोकतन्त्रका प्राण हुन् । यी प्राण बचाउने दायित्व नागरिक, राजनीतिक दल, कर्मचारीतन्त्रसँग मात्र होइन, हामीमा पनि उत्तिकै छ । यसलाई हामीले दह्रोसँग र जिम्मेवारीपूर्वक आत्मसात् गरेका छौँ र गरिरहने छौँ। भूकम्प जस्ता महाविपत्तिमा होस या कोरोना महामारीका बेला हामी निरन्तर स्थानीयस्तरका समाचार, दुर्गम क्षेत्रका जनताको आवाज मिडियासम्म ल्याउन तल्लीन रहयौं । कठिन यात्रामा अविचलित रुपमा अगाडि बढेरै हामीले २७ वर्षको यात्रा सफलतापूर्वक पार गरिसक्यौं ।

स्वच्छ र स्वतन्त्र पत्रकारिताको सिद्धान्तलाई आत्मसात गर्दै पत्रिकाको प्रकाशन सुरु गरेका हामीले, प्रकाशनको यो अवधिमा स्वतन्त्र पत्रकारिताको सिद्धान्तलाई पूर्णतया पालना गर्ने प्रयास गरेका छौं। कही कतैबाट भुलवश कुनै कमी कमजोरी भएमा त्यसको मूल्याङ्कन पाठकवर्गले गर्नुहुने विश्वास समेत लिएका छौं । दक्ष जनशक्तिको अभाव, महंगो प्रविधि तथा त्यही प्रविधि पनि सहजताका साथ उपलब्ध नहुँदा प्रकाशनलाई निरन्तरता दिन निकै कठिन भइरहेको छ । केन्द्र,प्रदेश र स्थानीय सरकारहरु, आम पाठकवर्ग, विज्ञापनदाता, सञ्चारकर्मी,शुभचिन्तकहरुको निरन्तर सहयोगले हामी चुनौतीहरुलाई पार गर्दै यो अवस्थासम्म आइपुगेका छौं ।

२७ वर्षको यात्रा सफलतापूर्वक पार गरेपछि हामीलाई अझै परिष्कृत रुपमा अगाडि बढ्ने हौसला मिलेको छ । विगत केही वर्षदेखि यो दैनिकलाई अनलाइन संस्करणमा समेत सँगसँगै अगाडि बढाएका छौं।मोफसलमा पत्रकारिताको यात्रा अझै पनि चुनौतीपूर्ण छ, तर यो चुनौतीलाई स्वीकार गरेरै हामी निरन्तर अगाडि बढ्ने अठोट गरेका छौं । यस अवधिमा हामीले जे ग¥यौँ, पाठकले मूल्याङ्कन गर्ने कुरा हो तर हामी यतिमै चित्त बुझाएर बस्ने छैनौँ। सूचना, विचार र बहस सँगसँगै राष्ट्र र समाजलाई दिशानिर्देश गराउन सकियो भने मात्र हामी हाम्रो उद्देश्य र कर्ममा सफल भएको ठान्नेछौँ ।

पत्रकारिताका नयाँ आयामको प्रयोगमार्फत् हाम्रो यात्रा निरन्तर जारी रहने छ । अन्त्यमा, यो यात्रामा साथ दिनुहुने समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेका छौँ । आगामी दिनमा स्वतन्त्र पत्रकारिताको मूल मर्मलाई हृदयङ्गम गर्दै आम पाठकको अपेक्षा अनुरुप प्रकाशनलाई निरन्तरता दिनुका साथै स्तरयुक्त सामग्री पस्किरहने प्रतिवद्धता समेत व्यक्त गर्दछौ ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update