Shittalpati
भानु जयन्ती सन्दर्भ

आदिकविका रुपमा परिचित भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती आज देश–विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानुभक्तको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाइन्छ । रामायणको सरल नेपाली अनुवादलाई भानुभक्तको मुख्य योगदान मानिन्छ । रामायणले नेपालीहरूलाई भाषामार्फत जोडेको भन्दै उनलाई त्यसैको आधारमा राष्ट्रवादको हिरो बनाइएकोमा कतिपय आलोचकहरूले कडा टिप्पणी गरेका छन् । भानुभक्तका अन्य रचनाहरू केलाउँदा पनि उनको चिन्तन तत्कालीन समाजभन्दा निकै पछाडी रहेको औंल्याउनेहरू पनि छन् । भानुभक्तलाई दिइएको आदिकविको उपाधि कति उचित भन्नेबारे विवाद कायम छ । भानुभक्तको योगदान, आदिकवि उपाधि, उनका रचनामा भएको प्रगतिशीलताबारे बेलाबेला कोठे गोष्ठी हुँदै आए पनि पर्याप्त मात्रामा खुला बहस भने हुन सकेको छैन । अहिलेको सन्दर्भमा बहस हुनु आवश्यक छ । हरेक वर्ष जन्मजयन्तीमा भानुभक्तको शालिकमा माल्यार्पण गर्दैमा भानु जयन्तीको महत्व बढ्न सक्दैन ।

संस्कृतको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर सम्पूर्ण नेपालीहरुलाई एकतावद्ध बनाउँदै भाषिक एकीकरणको सन्दर्भमा भानुभक्तले जुनरुपमा उल्लेखनीय भूमिका खेल्न पुगे, त्यसको महत्वलाई कम आँक्न सकिँदैन । नेपाली भाषाको समृद्धिको सवालमा त्यतिखेर निकै निरीह रहेको नेपाललाई भाषिक मूलधारमा बाँध्न उनको लेखन र त्यसको प्रचार–प्रसारले त्यस समयमा ठूलो हलचल नै ल्याएको थियो, जुन पछि आउने समयका लागि अत्यन्तै प्रभावशाली माध्यम पनि बन्न पुग्यो । तर अहिले भानुभक्तको योगदानलाई सबैले विर्सिएका छन् । यो अत्यन्त दुखद् कुरा हो । हरेक भानु जयन्तीका दिन सरकारले लेखक/साहित्यकारहरुप्रति विशेष ध्यान दिइने भने पनि त्यो व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । देशविदेशमा अत्यधिक शक्तिशाली स्रष्टाका रुपमा लिइने आदिकविको सम्मानका लागि सरकारले औपचारिकताबाहेक खासै केही पनि गर्न नसक्नु देशका लागि दुर्भाग्यपूर्णसमेत छ । आदिकवि जस्ता व्यक्तिहरुको सम्मानमा सरकार र अन्य साहित्यक संघ संस्थाहरुले अब ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update