Shittalpati
श्रीलंका जस्तो नबनोस् नेपाल

नेपालको अर्थतन्त्र अत्यन्त कमजोर बन्दै गएको छ । तर सरकारमा बस्ने राजनीतिक दलले त्यसलाई लामो समयदेखि बेवास्ता गदै आएका छन् । अर्थतन्त्र संकट उन्मुख भइरहँदा समेत राजनीतिक नेतृत्व त्यसप्रति गम्भीर बन्न सकेको छैन । अर्थतन्त्रको सुधारमा राजनीतिक दलले चासो नदिनुले उनीहरु सत्तामात्र भए पुग्ने रहेछ भन्ने सन्देश पनि हो । तर, भोका नांगा तथा रोजगारविहीन नागरिकको नेता हुनु कुनै गर्वको विषय भने होइन ।

विशेषतः रूस र युक्रेनबीच चलिरहेको युद्धले विश्वव्यापी मूल्यवृद्धि र इन्धन संकटलाई निम्त्याएको छ । यसको प्रभाव नेपाल जस्ता अल्पविकसित र विकासशील मुलुकहरूमा ज्यादा देखिएको छ । सबैभन्दा बढी श्रीलंका र त्यहाँका बासिन्दाहरूले भोगेको आर्थिक तथा मानवीय समस्या अहिलेको चर्चाको विषय बनेको छ । पछिल्लो समय श्रीलंकमा भएका घटनाहरुले कतै नेपाल पनि त्यस्तो बन्ने त होइन भन्ने सन्देह बढ्दै गएको छ । पूर्व गभर्नरदेखि अर्थविद्हरुले अहिलेकै अवस्था रहे नेपालमा पनि अवस्था विकराल बन्ने बताउँदै आएका छन् । यसले पनि कतै अवस्था श्रीलंकाको जस्तै हुने त होइन भन्ने चिन्ता व्यक्त हुन थालेको छ । तर यस्तो हुँदा समेत सरकार र सम्बन्धित निकायको ध्यान नै छैन । राष्ट्रपतिको पलायन, प्रधानमन्त्रीको निजी निवासमा आगजनी, भिडद्वारा राष्ट्रपति निवास कब्जाजस्ता घटनाले नेपालका शासकको अब त सातो जानुपर्ने हो । अर्थतन्त्र संकटग्रस्त भइसदा बनेको बजेटमा पनि फजुल खर्च रोक्न प्राथमिकता दिइएन । बरू आफ्ना आसेपासे पोस्न बजेटको गोपनीयतै भङ्ग हुनेगरी चलखेल गरेको आरोप लाग्यो । आरोपित अर्थमन्त्रीले संसदीय छानबिन हुने भएपछि राजीनामा त दिए तर अर्थतन्त्रको संकटप्रतिको हेफचेक्य्राइँ भने यथावतै रहेको छ । शासन र प्रशासन दुवै क्षेत्रको नेतृत्वमा सम्भवतः अहिले जति निकम्मापन पहिले देखिएको थिएन । संघीय मात्र होइन प्रदेश र स्थानीय तहको बजेट हेर्दा पनि देशको आर्थिक संकटको सम्बोधन गर्ने कुनै संकेतसम्म देखिँदैन । सबैतिर फजुल खर्च र ‘झिल्के विकास’नै बजेटको प्राथमिकता बनेको छ । नेपाल श्रीलङ्काको बाटामा जाने डर यही गैरजिम्मेवार प्रवृत्तिका कारण लागेको हो । अन्यथा, नेपाल धान्नै नसक्ने ऋणको पासोमा परेको छैन । परन्तु, शासक र प्रशासकहरूको व्यवहार र अभ्यासले भने श्रीलङ्काको संकटबाट नेपालले केही नसिकेजस्तो देखिएको छ । नेपालले श्रीलंकबाट अब पनि पाठ सिकेन भने उसको अवस्था जस्तै नहोला भन्न सकिदैन । यसर्थ यसतर्फ सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update