Shittalpati
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस

हरेक वर्ष अप्रिल २८ तारिख अर्थात् आजकै दिन विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस मनाउने गरिन्छ । दिवसका दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालमा पनि दिवसका दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गर्ने गरिन्छ । सुरक्षित र स्वस्थ्य कार्यक्षेत्रको वातावरण बनाउन  दिवसले महत्वपूर्ण भूमिका खेल्दछ ।

नेपाल सरकारले २०५२ सालमा ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी आयोजना’को स्थापना गरेको थियो । यस आयोजनालाई नेपाल (मन्त्रिपरिषद्) को २०७५ सालको निर्णयानुसार व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको रूपमा रहने गरी २०७५ साउन १ गतेदेखि स्थायी संगठन संरचना स्वीकृत भएको थियो । कामदारहरुले ढुक्क भएर काममा जाने, काम गर्ने अनि फर्कन सक्ने वातावरण होस्, कामदारको स्वास्थ्य र सुरक्षामा कुनै कमी नहोस् भन्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । तर श्रमिकले अझै पनि कार्यस्थलमा सुरक्षित महसुस गर्न पाएका छैनन् । यो अत्यन्त दुखको कुरा हो । रोजगारदाताले कार्यस्थलमा कामदारको सुरक्षा र स्वास्थ्यमा लगानी गर्नु भनेको खर्च र घाटामात्र हो भन्ने ठान्दा श्रमिकहरु सुुरक्षित हुन सकेका छैन् । यो विडम्वनाको कुरा हो । कार्यस्थल जति स्वच्छ, राम्रो र सुरक्षित हुन्छ त्यसले उत्पादकत्व क्षमता बढाउँछ भन्ने कुरा रोजगारदाताले बुुझ्न आवश्यक छ ।

श्रमिकलाई तालिमसँगै सुरक्षा साधन उपलब्ध गराउनु रोजगारदाताको कर्तव्य हो । तर उनीहरुले त्यसो गरेका छैनन् । जसका कारण उनीहरु अझै पनि असुरक्षित हुुनुु परेको अवस्था छ । सुरक्षित र स्वस्थ कार्यस्थलले मात्र कामदारहरूलाई चोटपटक र रोगबाट बचाउने मात्र होइन, यसले चोटपटक र बिमारीको दर कम गर्न, कामदारहरुको अनुपस्थिती र काम नै छाडेर जाने अवस्था हटाउन, उत्पादकत्व र गुणस्तर बढाउन र कर्मचारीको मनोबल बढाउन सक्छ । यसर्थ श्रमिकहरुको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिई उनीहरुलाई ढुक्क भएर काम गर्न सक्ने वातावरण सिर्जना गर्न सकियो भने मात्र दिवस मनाउनुुले सार्थकता प्राप्त गर्न सक्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्न पुुग्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update