Shittalpati
ठगीबाट सावधान बनौं

हिन्दु नेपालीहरुको महान् पर्व बडादसैँ घर आगनमा आइपुगेको छ । चाडपर्व मनाउन यतिबेला देशविदेशबाट घर फर्किनेक्रम पनि बढेको छ । कोरोना महाव्याधिको लामो कहरपश्चात् बजारमा चाडपर्वको चहलपहल सुरू हुन थालेको छ । पछिल्लो समय लकडाउन खुलेसँगै मानिसहरु दसैँको किनमेल गर्ने क्रम पनि सुरू भैसकेको छ । चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्नु स्वाभाविकै हो । यही भीडभाडको मौका छोपेर बजारमा कालोबजारी, अस्वाभाविक मूल्य वृद्धि र कृत्रिम अभाव गर्ने गिरोह पनि सक्रिय हुन्छन् । त्यतिमात्र होइन आपराधिक प्रवृत्ति भएका मानिसले लुटपाटसमेत गर्ने, विभिन्न कम्पनीहरुले आकर्षक योजना ल्याएर ठग्ने गतिविधिहरु समेत हुने गर्दछन् । विगतदेखि नै यस्ता घटनाहरु घट्दै आएका छन् । अहिले पनि यस्ता गलत गतिविधिहरु नहोलान भन्न सकिदैन । हरेकवर्ष चाडपर्व लाग्नासाथ उपभोक्ताहरु नमज्जासँग ठगिने गर्छन् । चाडपर्वमा उपभोक्तालाई छूट र राहत दिनुपर्नेमा सकेसम्म लुट्ने प्रवृत्ति विद्यमान छ ।

चाडपर्वको मौका छोपेर बजारमा विभिन्न नामका योजना ल्याउने क्रम पनि बढ्दो छ । विभिन्न कम्पनीहरू चाडपर्वको उपयोग गरेर आफ्ना वस्तुको बिक्री बढाउने गर्छन्, जुन स्वाभाविक पनि हो । तर, चाडपर्व योजनाका नाममा कमसल तथा म्याद गएका वस्तु बिक्री गर्ने तथा चिठ्ठालगायत अन्य माध्यमबाट उपभोक्तालाई आकर्षण गरी ठगी गर्ने कार्य भने गलत हो । व्यवसायीका नाममा यस्ता मौसमी व्यवसायी गरी उपभोक्ता ठग्नेहरुलाई तत्काल कारवाही गर्नु पर्छ । सरकारको काम यस्ता मौसमी व्यवसायीबाट उपभोक्तालाई ठगिनबाट जोगाउनु पनि हो । प्रशासनले अनुगमन सक्रिय बनाउँदा उपभोक्तालाई केही राहत मिले पनि प्रभावकारी भने हुन सकिरहेको छैन । चाडबाडका क्रममा विभिन्न आकर्षक योजना ल्याउने यस्ता मौसमी व्यवसायीलाई पहिचान गरी उपभोक्तालाई ठगिनबाट बचाउनुपर्ने सरकार बेलाबेलामा आफैं पनि ठगिएको छ । मौका छोपेर कालाबजारी गर्नेहरुको सक्रियता कायमै छ । सुपथ मूल्यका पसलहरु यथेष्ट नभएका कारण सर्वसाधारण मर्कामा परिरहेका छन् । सुपथ मूल्यका भनिएका पसलहरुमा सबै क्षेत्रका मानिसको पहुँच पुग्न सकिरहेको छैन । चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा, आपूर्ति व्यवस्थापन, यातायात क्षेत्रलाई सरल र सुरक्षित बनाउने दायित्व राज्यको हो । यसका लागि राज्यका सम्पूर्ण निकायहरु उपभोक्ताको हित प्रवद्र्धनमा लाग्नुपर्छ । सरकारमात्र नभएर चाडपर्वको अवसरमा उपभोक्ता अधिकारकर्मीहरूका साथै उपभोक्ता आफैं पनि सजग हुनुपर्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update