Shittalpati
घटस्थापना र नवरात्रि प्रारम्भ

 आजको दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यस दिन बिहानै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ छरिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी–देवतालाई आवाहन गरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।

नवरात्रको पहिलो दिन घटस्थापना गर्ने, नौ दिनसम्म शक्तिस्वरूप भगवतीको पूजा गर्ने, देवी माहात्म्य पाठ गर्ने शक्तिपीठ दर्शन गर्ने र दशमीका दिन मान्यजनको हातबाट टीका, जमरा र प्रसाद लगाउने भन्ने बुझिन्छ । नवरात्रिको आफैमा महत्व रहेको छ । तर पनि यस समयमा हुने घटस्थापना, फूलपाती, महाष्टमी, महानवमी र विजया दशमी चार दिनको महत्व अझ बढिरहेको हुन्छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई फूलपाती वा नवपत्रिका भनिन्छ । यही फूलपातीका प्रत्येक पत्रमा एक–एक देवीको पूजा गर्ने चलन छ । दशैंघरमा कोटबाट ल्याइएको फूलपाती भित्र्याउने चलन छ । नवरात्रीभरि नै शक्तिपीठहरू भक्तजनको गन्तव्य बन्ने गर्दछन् । यस दिन विशेषगरी रातमा प्रत्येक दसैँ घर तथा शक्तिपीठहरूमा कालरात्री गर्ने चलन छ । तान्त्रिक विधि अनुसार कालरात्री गर्ने विधि शास्त्रमा बताइएको छ । कालरात्रिका क्रममा कतिपय ठाउँमा बोका बलि दिइन्छ । शक्तिपीठहरूमा भने बोका राँगा लगायतका पञ्चबलि दिने चलन छ । तर यस वर्ष पनि विश्वभर फैलिएको कोभिडका कारण भीडभाड, जमघट नगर्न सरकारले आग्रह गरेकाले पनि शक्तिपीठहरुमा बली दिने कार्य कम हुने आंकलन गर्न सकिन्छ । यसलाई सकरात्मक रुपमा लिन जरुरी छ । कोभिडका कारण यस वर्षको दसैँ त्यत्ति उत्साहजन देखिदैन । दसैँ पर्व हाम्रो संस्कृति हो । यसलाई तडकभडक साथ मनाउनुभन्दा पनि यसको संस्कृतिको बारेमा हामीलाई थाहा हुन जरुरी छ । हाम्रो परम्परा र संस्कृतिलाई बचाउनु पर्दछ तर यसलाई पर्वको रुपमा मनाउँदा आफ्नो आर्थिक र स्वास्थ्य अवस्थालाई ख्याल गर्न सकेनौँ भने यसले हामीलाई दसैँ नभए र दशाको रुपमा परिणत गरिदिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update