Shittalpati
किन विवादित बन्छ विभूषण ?

हरेक वर्ष विभूषण विवादित बन्दै आएको छ । यस वर्ष पनि संविधान दिवसको अवसर पारेर सरकारद्वारा प्रदान गरिएका पदक, मानपदवी तथा विभूषणहरु विवादित बनेका छन् । सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरुमा विभूषणका विषयमा विवादित विषयहरु आएका छन् । सरकारले राजनीतिक आस्थाका आधारमा मानपदवी (विभूषण) सिफारिस गरेको भन्दै चौतर्फी आलोचना भएको छ । तत्कालीन केपी शर्मा ओली सरकारका पालामा अघि बढेको विभूषण सिफारिस उल्ट्याएर शेरबहादुर देउवा नेतृत्वको सरकारले दलीय भागबण्डालाई नै बढावा दिने गरी विभूषण पाउनेको नाम छनोट गरेकोमा विवाद सिर्जना भएको हो ।
सरकारले दिने मान, पदवी र विभूषण राष्ट्रिय जीवनमा विविध क्षेत्रमा उल्लेखनीय काम गरेका व्यक्तिहरूलाई थप ऊर्जाशील भएर काम गर्न पे्ररणा दिने हेतुले राष्ट्राध्यक्षबाट यो आभूषण प्रदान गरिन्छ । त्यस्ता मानिसहरूलाई दिइएको मान र पदवीको गरिमा र महिमा उच्च हुनु स्वाभाविक छ । तर, व्यवहारमा त्यसो भएको पाइँदैन । राजनीतिक भागबण्डा, विवादास्पद सार्वजनिक पद धारक व्यक्ति, सरकारी अधिकारी, नातागोता र आफन्तलाई मान–पदवी र विभूषण बाँड्ने परम्पराले पदकको महत्व र गरिमा बर्सेनि घटाइरहेको छ । यस वर्ष त्यस्ता पदकहरु प्राप्त गर्ने अधिकांश व्यक्तिहरु सत्तासीन दलीय गठबन्धनमा आवद्ध रहेकाहरु नै बढी छन्, जसले त्यसपछाडिको रहस्यलाई पर्दाफास गरेको छ । प्रायः सरकारलाई समर्थन गर्नेहरुले पदक पाउनु र विरोध गर्नेहरु त्यसबाट वञ्चित रहनुले पदक वितरण प्रक्रिया सुनियोजित रहेको कुरा प्रस्ट छ । सरकारको विभूषण वितरण गर्ने प्रक्रियाप्रति चर्को विरोध हुनुले सरकारको हकमा सकारात्मक सन्देश गएको छैन । राज्यले कसैलाई विभूषित गर्ने वा पदक दिने गर्नै हुँदैन भन्ने होइन । विशेष दिनमा विशेष नागरिकहरुलाई विशेष सम्मान दिनु राज्यको दायित्व पनि हो तर त्यो दिन सबैका लागि उत्सव बन्न सकोस् भन्नेमा राज्य सचेत हुनुपर्छ । अझ सो उत्सवलाई कसैले उत्सवका रूपमा मनाउन नसक्ने अवस्था पनि सृजित हुन्छ कि भनेर राज्य त्यसमा पनि चनाखो बन्नुपर्छ । गणतन्त्र स्थापना भएपछि राज्यले दिएका विभूषण र पदकहरु नलिनेहरुको सूची हरेक वर्ष बढ्दो छ । आफूले पाएको विभूषण र पदकहरु लिन नआएर थन्किएर बस्दा त्यसको व्यवस्थापनमा नै असर पर्ने भएपछि एक वर्ष भित्र लिन नआएमा नपाउने भन्ने नियम नै बनाउनु परेको छ । यस्तो किन हुन्छ ? राज्यले सम्मान गरेर दिइएको भनिएको आफूले पाएको विभूषण वा पदक लिन कोही किन जाँदैन ? विभूषण र पदकहरुको सम्मान जोगाउने हो भने यी प्रश्नहरुको जवाफ खोज्नु अनिवार्य हुन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update