Shittalpati
खोपको न्यायोचित वितरणमा ध्यान देऊ

नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ  तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन् । घण्टौं लाम लागे पनि जेष्ठ नागरिक नै त्यत्तिकै घर फर्किनु परेको छ । पहुँचवालाले भने सहजै घरमै पनि खोप लगाउन पाएका छन् । खोपको आसमा रहेका नागरिकलाई खोपको पहुँचमा पुर्‍याउन धौ–धौ देखिएको छ । कोरोना भाइरसबाट जोगिन १८ वर्षभन्दा माथिका नागरिकको नजर खोपमै केन्द्रित छ । देशव्यापी रूपमा २९ असारदेखि खोप अभियान सञ्चालन गरिए पनि कतिपय जिल्लामा स्थगन गरिएको छ । मुलुकभर जारी अभियानमा कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको छ ।

लक्षित वर्गभन्दा बाहिरका व्यक्ति हावी भएपछि देशका धेरै ठाउँमा खोप कार्यक्रम नै स्थगित भएका छन् । देशैभर खोप दुरूपयोग भएको छ । जेष्ठ नागरिक लगायतका लक्षित वर्ग भने घन्टौं लाम लागे पनि खोप नपाएर घर फर्कन बाध्य छन् । चीन र भारतबाट अनुदान र खरिद गरेर नेपालमा तीन किसिमका खोप ल्याइएको छ । सरकारले अर्डर गरेको खोप आउने क्रम जारी छ । पहिलो चरणमा कोरोनाको फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई लक्षित गरेर खोप लगाइएको थियो । पछि क्रमशः लक्षित वर्गको क्षेत्र फराकिलो बनाइँदै गइयो । जेष्ठ नागरिक, शिक्षक र चालक र सहचालकलाई पनि खोपको लक्षित वर्गमा समेटिएको छ । उमेर, वर्ग र पेशाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन जारी रहे पनि वितरण प्राणाली भने न्यायोचित हुन सकिरहेको छैन । पहुँच हुनेहरुले लक्षित वर्गमा नपरे पनि खोप पाएका छन् भने लक्षित वर्गका नागरिकहरु बञ्चित भएका छन् । यसो हुनु दुखद् हो । खोप प्राथमिकताका आधारमा न्यायोचित रुपमा वितरण गरिनु पर्दछ । ढिलो चाँडो पक्कै सबैले खोप लगाउने पालो आउँछ । त्यसैैले धैर्यता अपनाउनु पर्दछ र प्राथमिकतामा परेकाहरुलाई स्थान दिनुपर्छ ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update