Shittalpati
समाजले बनाइदिएको ‘नेता’

                                                        सुवास गैरे

सबै भन्दा पछिल्लो पुस्ताले भविष्यको सपना देखेको हुन्छ वा ऊ उपर लादिएको अभिभावकीय कठोर सपना हुन्छ कि ‘पढेर डाक्टर, इन्जिनियर, सरकारी जागिरे वा यस्तै अरू केही बन्नुपर्छ, नेता त बन्नै हुन्न ।’ यसो भनिनुको तर्क के हो भने, ‘नेता बन्नु भनेको बिग्रनु हो ।’ सप्रनु त हुँदै होइन । राजनीतिक कर्ता वा नेताप्रतिको नेपाली समाजको आजसम्मको यस बुझाइलाई एकै क्षण ‘नेता’को चारित्रिक मानक मानिदिने हो भने, कि त सबै नेता बिग्रिएका हुनुपर्‍यो या त सबै ‘बिग्रेका मान्छे’ नेता बन्नु वा बनाइनु पर्‍यो । यो त सारमै जटिलता भएको सवाल हो । जसको जवाफ आजसम्म नेपाली राजनीतिले सम्भवतः दिन सकेको छैन । यही जवाफ दिन नसकेकैले पनि होला, हजुरबुवा पुस्ताले सहरमा क्याम्पस पढ्दै विद्यार्थी राजनीतिमा हात हालेको नातिनातिना पुस्ताप्रति गुनासो गर्छ, ‘यिनीहरू कामै नलाग्ने गरी बिग्रिए ।’ यस्ता दृष्टान्त हामीसित थुप्रै छन् । यसखाले गुनासो स्वाभाविक पनि होला । क्याम्पस पढ्ने वा पढ्नुपर्ने कोही विद्यार्थीलाई समाजले पढाइमा ध्यान नदिँदा भन्दा बढी राजनीतिप्रति चाख देखाउँदा बिग्रेको ठहर्‍याउँछ । डाक्टर, इन्जिनियर, सरकारी जागिरे बन्ने बाटो त्यागेर ‘नेता’ बन्ने बाटो समातेपछि उसको ‘स्टाटस’ खराबहरूको सूचीमा कहलिन्छ ।
           ‘नेता’ को हो त ?
एकजना जर्मन राजनीतिक अर्थशास्त्री म्याक्र्स वेबरले बिना कुनै आधार व्यक्ति नेता बन्न नसक्ने तर्क गर्छन् । उनका अनुसार व्यक्ति नेता बन्ने हैसियत राख्नका लागि तीन आधार हुनुपर्छ । कर्मचारीतन्त्रीय, पारम्परिक अथवा ‘करिज्म्याटिक’ गुणले मात्रै व्यक्ति नेता बन्न सक्छ । तर, हाम्रो राजनीतिक ऐतिहासिक सन्दर्भले स्थापित गरिदिएको मान्यता भनेको जसले ‘राजनीति’ गर्छ, ऊ नै खासमा ‘नेता’ हो । नेपाली सन्दर्भमा त वेबरले भने जस्ता आधारको जरुरत बिनै व्यक्ति सहजै नेता बनिदिन्छ । ज्ञान वा विद्वता अथवा अन्य वैधता वा करिज्माले होइन कि यहाँ ‘सडक’ले ‘नेता’को निर्माण गरिदिन्छ ।

सडकमा सत्ताधारीविरुद्ध विपक्षीय राजनीतिक आस्था बोक्ने जोजसले टायर बाल्न, सार्वजनिक सम्पत्तिमाथि धावा बोल्न वा चर्का नारा ओकेल्न अगुवाइ गर्‍यो हाम्रो ‘बुझाइ’ले उसैलाई नेता मान्यो । राजनीतिक समाजले नेताको परिभाषाभित्र तिनै आधारलाई नेता बन्ने सर्तका रूपमा आत्मसात् गरिदियो । कुनै द्विविधा छैन कि व्यक्तिलाई नेता कम्तीमा उसले प्रदर्शन गर्न सक्ने करिज्माजन्य गुणले बनाउने हो । नेपाली राजनीतिक सन्दर्भले त्यस्तो ‘चामत्कारिक गुणलाई भन्दा बढी अन्य ‘गुण’लाई प्राथमिकीकरण गरिदिएको छ । अर्थात्, सडक वा भीडमा जो अगाडि छ, अझ, जसले प्रहरीको लाठी र एक/दुई गोली नै पनि खान पछि परेन, कालान्तरमा ऊ नै नेता भयो वा उसैलाई कार्यकर्ताको भीडले, अनि पछि गएर, सिंगो राजनीतिक समाजले नै ‘नेता’ मानिदियो । त्यस्तो नेतासित हरेक किसिमका चुनाव लड्न पाउने आधिकारिक एवं सर्वकालिक वैध ‘लाइसेन्स’ भनेकै त्यही प्रहरीसितको मुठभेडमा लाठी/गोली खाएको खत बनिदियो । उसको खास चारित्रिक प्रमाणपत्र नै त्यही भयो, कुनै विश्वविद्यालय वा शिक्षालयबाट औपचारिक शिक्षा हासिलको गरेको ‘बौद्धिक प्रमाणपत्र’को जरुरत परेन । जयनेपाल !
(लेखक नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका इकाई कार्यवाहक सभापति समेत हुन् ।)

 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update