Shittalpati
इन्धन मूल्यवृद्धिको असर बजारमा

पेट्रोलियम पदार्थमा बढेको भाउको असर बजारमा देखिन थालेको छ । उत्पादनदेखि ढुवानी र उपभोक्ताको भान्छासम्म प्रभाव पार्ने पदार्थ हो, इन्धन । इन्धनतर्फ पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य पनि अत्यधिक बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनको मूल्यवृद्धि भएको आधारमा नेपाल आयल निगमले गत आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ सय २०, डिजेल र मट्टीतेलको मूल्य १ सय ३ रुपैयाँ तोकेको थियो । यसअघि पेट्रोलको मूल्य १ सय १८ र डिजेलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ थियो ।
हाल प्रतिसिलिण्डर ग्यासको मूल्य १ हजार ४ सय रुपैयाँ छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल प्रति ब्यारेलको मूल्य करिब ६५ अमेरिकन डलर पुगेको थियो । यसरी इन्धनमा बढेको भाउको असर बजारमा देखिन थालेको छ । भाउसँगै बजारका सबै उपभोग्य वस्तुको भाउ बढ्नाले नागरिकका लागि सरकार गम्भीर नरहेको स्पष्ट देखिन्छ । यसो हुनु दुखद् हो । इन्धनको मूल्यवृद्धि यातायातका साधनहरुमा समेत भाडा वृद्धि भएको छ । पेट्रोलियम पदार्थमा भाउ बढे पनि स्वाभाविक रूपमा यससँग सम्बन्धित सबैमा प्रत्यक्ष नकारात्मक असर पर्छ नै । कोरोनाका कारण बजार चलायमान नभएको, आयात पनि घटेको तथा नागरिकको क्रयशक्ति घटेका कारण घटेको बजारभाउ नेपाल आयल निगमले लगातार पेट्रोलियम पदार्थको भाउ बढाएपछि अब उकालो लाग्ने देखिन्छ । उता यातायात व्यवसायी तथा ढुवानी व्यवसायी पनि इन्धनको भाउ बढेका कारण आफ्नो लागत बढेको भन्दै भाउ बढाउन लागी परेका छन् । यसरी इन्धनको भाउ बढ्नासाथ हवाई तथा स्थल यातायात एवंं ढुवानीको पनि भाउ बढ्छ । यो स्वाभाविक नै हो । यसबाट बजारमा उपभोग्य सामग्रीको भाउ बढ्ने सिलसिला सुरु भएको छ । एकातिर कोरोना कहरका कारण क्रयशक्ति गुमाएका नेपाली नागरिक बजार भाउ बढेपछि समस्यामा परेका छन् । यसमा सरकारको चासो भने गएको देखिदैन । सरकार एक रत्ति पनि जनताप्रति उत्तरदायी हुन सकेको छैन । यो विडम्वनाको कुरा हो । अब सरकारले इन्धनबापत विभिन्न शीर्षकमा असुल गर्ने करको दायरा घटाउन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update