Shittalpati
प्रजातन्त्र दिवसको सार्थकता

हरेक वर्ष फागुन ७ गते अर्थात् आजकै दिन प्रजातन्त्र दिवस मनाइने गरिन्छ । जहानियाँ राणा शासनको अन्त्य भएको ऐतिहासिक दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरेको पाइन्छ । २००७ फागुन ७ गते राजा त्रिभुवनबाट शाही घोषणाद्वारा नेपालमा प्रजातन्त्रको घोषणा भएको थियो । प्रजातन्त्र प्राप्तिका लागि योगदान दिएका महान् योद्धा र उनीहरुको सपनालाई साकार पार्ने संकल्पका साथ हरेक वर्ष विभिन्न राजनीतिक दल र सरकारले विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन्छन् । तर, विडम्बना प्रजातन्त्रको मर्म र भावना कसैले आत्मसात् गर्न सकेका छैनन् । परिवर्तनका लागि बलिदानी दिने महान् सहिदहरुले देखाएको बाटोमा न त सरकार नै हिँडेको पाइन्छ, न त कुनै दलले नै यसको मार्ग पहिल्याउनै सकेका छन् ।

जसले गर्दा महान सहिदहरुको योगदानलाई औपचारिक कार्यक्रममा मात्र सिमित राख्नुले सहिदको अपमान भएको ठहर भएको छ । प्रजातन्त्र प्राप्तिपश्चात् मुलुकले विकास र स्थायित्वको गति पहिल्याउन नसक्दा प्रजातन्त्र नै अभिसाप बन्न पुग्यो । आजका दिनसम्म पनि प्रजातन्त्र कहिले गुम्दै र कहिले पुनःस्थापित हुने श्रृंखला चलिरह्यो । अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । शब्दमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनिए पनि आजको राजनीतिक परिवर्तनको जग भनेको २००७ सालमा स्थापित प्रजातन्त्र नै हो । राणा र शाही शासनकालको अन्त्यपश्चात् पनि दलहरुले मुलुकलाई सही गन्तव्य र विकासको मार्गमा अघि बढाउन सकेका छैनन् यो हामी सबैका लागि ठूलो दुर्भाग्य हो । नेपालमा प्रजातन्त्रको घोषणा भएको ६९ वर्ष पुगेको छ । मानिसको जीवनमा यस उमेरलाई प्रौढ अवस्था मानिन्छ । प्रौढ अवस्थामा मानिसले आफ्नो जीवनमा गर्न सकेनसकेका कामको मूल्यांकन गर्छन् ।

प्रत्येक सचेत नागरिकले पनि प्रजातन्त्रपछि राष्ट्रिय जीवनमा आएका परिवर्तनको सूक्ष्म मूल्यांकन गर्छन् । विगतको भन्दा प्रजातन्त्र दिवसको समयमा राष्ट्रिय राजनीतिक रूपान्तरणको अवस्थामा रहेको छ । राष्ट्रले संविधान कार्यान्वयनको जटिल चुनौतीको सामना गर्नु परिरहेको छ । यस्तो अवस्थामा जनतामा आशा र निराशा दुवै देखिनु अस्वाभाविक होइन । अहिले पनि सत्तापक्षमा दुई तिहाइको दम्भ र प्रतिपक्षमा पराजित मानसिकता हावी छ । गणतन्त्रका प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै विकास र समृद्धिको बाटोमा लाग्नुपर्ने महत्वपूर्ण समयमा दलहरुबीच सासूबुहारीको जस्तो कटाक्ष चलिरहेको छ । संघीयता कार्यान्वयनको चुनौती देखिँदै गर्दा राजनितिक दल र सरकारले इमान्दारिताका साथ स्थायित्व र विकासका कार्यक्रमलाई दु्रतगतिले अगाडि बढाउन सकेमा प्रजातन्त्र दिवस सार्थक र उपलब्धिमूलक हुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update