विचार

सदाचार र सुशासन जरुरी

Shittalpati Reporter

व्यक्तिले समाजले निर्धारण गरेका मर्यादाको पालन गर्नुपर्छ । सामाजिक र सांस्कृतिक मान्यतालाई संहितावद्ध गरेर कानुन बनाइएको हुन्छ । यिनै सामाजिक मर्यादा र प्रचलित कानुनको अनुकूल चरित्र नै सदाचार हो । सार्वजनिक सेवालाई व्यक्तिगत लाभभन्दा माथि राख्नु सदाचार हो, जुन चिज आफ्नो स्वामित्व वा अधिकारभन्दा बाहिर छ, त्यसको लोभ नगर्नु र आफूलाई तोकिएको काम इमान्दारी र निष्ठासाथ गर्नु सदाचार हो ।

असल, शुभकारी, मंगलकारी, उत्तरदायी, इमान्दार, पारदर्शी र जिम्मेवार शासन नै सुशासन हो । समग्रमा समस्त जन समुदायको संलग्नता, सरोकार, सहमति र स्वामित्वमा सञ्चालन गरिने स्थानीय शासकीय पद्धति नै स्थानीय सुशासन हो । सुशासनमा सामाजिक न्याय, सार्वजनिक स्रोतको दिगो उपयोग र व्यवस्थापन गरिन्छ । यसमा भावी सन्ततिको लागि प्राकृतिक सम्पदाको जगेर्ना र वातावरण संरक्षणलाई महत्व दिइन्छ, । विकासमा क्षेत्रीय सन्तुलन कायम गरिन्छ । सुशासनमा प्रशासन भ्रष्टाचारमुक्त र सदाचारयुक्त हुन्छ भने उच्च नैतिक चरित्र र अनुशासन पालना गरिएको हुन्छ । पछिल्लो समय सार्वजनिक क्षेत्रमा सुशासन र सदाचारको महत्व बढेर गएको छ । तर सर्वसाधारणहरूको अनुभूतिमा नैतिकता र सुशासनको स्तर निकै कमजोर छ । नागरिकहरू स्तरीय सेवा र सेवामैत्री व्यवहारको अपेक्षामा छन् । तर त्यसको सामथ्र्य र तत्परता सार्वजनिक क्षेत्रमा देखिएको छैन । संघसंस्थाहरूको कर्मचारीतन्त्रीकरण र सेवा वितरणमा राजनीतीकरणले प्रशासनयन्त्र पक्षपाती देखिएको छ । नैतिकता र उच्च इमानदारीता देखाउनुपर्ने पदाधिकारी माथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन् । यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन । सार्वजनिक प्रशासनमा नैतिकता र सदाचारभन्दा पनि भ्रष्टाचारले गाँजेको सर्वत्र महशुस गरिएको छ । शासन प्रणालीमा नैतिकता, सदाचारिता, सच्चरित्रता र इमान्दारिताले मात्र सुशासनको प्रत्याभूति सुनिश्चित गर्न सकिन्छ । राजनीतिक नेतृत्व र निजामती प्रशासनप्रति जनताको आस्था र भरोसा जीवन्त राख्न अनुशासित वातावरणको विकल्प छैन । प्रशासनलाई इमानदार बनाउन राजनीतिक नेतृत्वको अहम् भूमिका रहन्छ । तर राजनीति नेता, जनप्रतिनिधि तथा कानुन निर्माताको गहन जिम्मेवारी पाएकाहरु नै एकपछि अर्को अनैतिक प्रकृतिका सार्वजनिक अपराधमा मुछिएका घटनाहरू उजागर हुँदै जानु सुशासन र समृद्धिका लागि शुभसंकेत भने होइन । हरेक क्षेत्रमा मौलाएको स्वेच्छाचारिता, अनुशासनहीनता, आफू अनुकूल कानुनी व्याख्या र प्रयोगका कारण कानुनी राज्यको अनुभूति सर्वसाधारणका लागि आकाशको फल बनेको छ । तसर्थ सदाचार र सुशासन कुरामा मात्र होइन व्यवहारमा हुन हुन जरुरी छ ।


प्रकाशित मिति: बिहिवार, चैत्र २६, २०७७, ११:२८:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोरोनासँग लड्न सचेतना अपनाऔँ बिहिवार, चैत्र २६, २०७७, ११:२८:००
नागरिकका गुनासा सम्बोधन गर बिहिवार, चैत्र २६, २०७७, ११:२८:००
घोडे जात्रा र यसको साँस्कृतिक महत्व बिहिवार, चैत्र २६, २०७७, ११:२८:००