Shittalpati
काँग्रेसका लागि भावी चुनौती

एकाएक मुलुकको राजनैतिक चरित्र परिवर्तन हुँदै जाने संकेत अगाडि देखिएका छन् । संघीय संसद्को विघटन पछि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र नेकपाबाट विभाजित हुँदै गरेको प्रचण्ड माधव नेपाल गुटबीच हेलमेल हुँदै गर्दा संसद् पुनःस्थापना होस् या नहोस् फेरि राजनैतिक शिखण्डीहरुका लागि नयाँ अवरसर आएको अनुभूति हुने देखिएको छ । राजनैतिक चरित्रभित्र पनि सत्तामा जाने हतार नगर्दा नेपाली काँग्रेसका लागि राम्रो हुने अवस्था देखापरेका बेला हिजो धोका दिएका प्रचण्डसँग वा सधैँ धोका दिन पल्केका ओलीहरुसंँगको सहकार्य काँग्रेसका निम्ति फलामको चिउरा चपाउनु सरह हुन सक्ने अवस्था नआउँला भन्न सकिदैन । नेपाली काँग्रेसले अरुको बलमा भन्दा आफैँले नेतृत्व गरेका हरेक परिवर्तनहरुमा नेतृत्वदायी भूमिका सफलतापूर्वक सम्पन्न गर्न सफल भएको इतिहासलाई कहिल्यै पनि बिर्सनु हुँदैन । अर्को तर्फ हिजो कम्युनिष्ठहरुसँगको सहकार्यमा केही सफलता धेरै असफलताको भारी बोक्नु परेका आफ्ना अनुभवलाई आत्मसात गरेर अगाडि बढिएन भने पनि भोलि अर्को समस्या आउन सक्छ ।

संगठनको बलमा आफ्ना भावी योजना निर्माण र पार्टीको भावी कार्यदीशाका लागि आवश्यक पर्ने योजनाका साथ अगाडि बढिएन भने काँग्रेसले जुन लोकप्रियता कमाएको छ त्यो गुम्ने खतरा पनि त्यतिकै हुन सक्छ । त्यसकारण समयको परिवर्तनशील अवस्था र आमकार्यकर्ताको भावना काँग्रेस कसैको भुई चढ्ने भन्दा पनि आफ्ना भावी मार्ग आफ्नै संगठनको बलमा निर्माण गर्ने तर्फ लाग्नु नै उपयुक्त देखिन्छ । पार्टी सरकारमा जानै हुँदैन भन्ने होइन, आवश्यकताको पहिचानलाई अहिलेको अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार पार्टीले वहन मनन गरेर मात्र नयाँ सोंच बनाउनुपर्छ । अनि बल्ल मुलुक र जनताका भावनाको सम्वोधन गर्ने कार्यमा बल पुग्ने अवस्था आउँछ । अन्यथा पार्टीमा मनमतान्तर, वैमनस्यता, गुटउपगुटको हल्ला खल्ला बाहेक केही पनि हुन सक्दैन । यो आन्दोलनको मौसम हो, काँग्रेस संगठन सशक्तिकरण र नेतृत्वलाई बलियो बनाउने तर्फ लाग्नु नै अहिलेका लागि महत्वपूर्ण कार्य हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update