Shittalpati
पर्यटकको पर्खाइमा पर्यटन क्षेत्र

कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेका नेपालका पर्यटकीय धार्मिक स्थलहरु धमाधम खुल्न थालेका छन् । सरकारले धार्मिकस्थल खुला गर्ने निर्णय गरेपछि देशका पर्यटकीय धार्मिक स्थलहरु पर्यटकका लागि खुला गरिएको छ । यद्यपी पर्यटकीय क्षेत्रहरु खुला गरिए पनि कोरोना संक्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । धेरै ठाउँहरुमा पर्यटकीय क्षेत्रहरु खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी थालेका छन् । लामे समय बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् । तर अहिलेसम्म पर्यटकहरु आउन सकिरहेका छैनन् ।

मायादेवी क्षेत्र खुलेसँगै उत्साहित भएका व्यवसायीलाई अहिले लामो समयदेखि बन्द रहेका होटलका कोठा सफा गर्न, विस्तारा मिलाउन, होटल तथा रेस्टुराँमा जमेको धुलो टक्टक्याउन, झ्याल ढोकाका सिसा पुछ्न र फर्निचर टल्काउन भ्याइनभ्याइ छ । कतिपयले त रङ्गरोगनका कामसमेत गर्दैछन् । लुम्बिनी खुलेको घोषणाले यहाँका व्यवसायीलाई ठूलै उत्सव वा चाड आएको अनुभूति भएको छ । विशेषगरी पर्वतारोहण र पदयात्रामा देखिएको आकर्षणले आशाको सञ्चार गराएको छ । राष्ट्रिय आम्दानीको मुख्य स्रोतमध्ये एक मानिने यो क्षेत्रलाई चलायमान बनाउन सकिएमा धेरै तर्फबाट फाइदा लिन सकिन्छ । सुरक्षा संवेदनशीलतालाई ख्याल राखेर सुरक्षित तवरबाट विस्तारै पहिलेकै लयमा फर्काउनेतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्छ । कोरोना महामारीका बीचमा पनि नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्वसामु दिन सक्नुपर्छ । तर पर्यटन क्षेत्र सुरक्षित गन्तव्य रहेछ भन्ने सन्देश विश्वसामु दिने चुनौतीको सामना गर्न सानोतिनो प्रयासले मात्रै सम्भव छैन भन्ने यथार्थ पनि यतिखेर सरकारले बिर्सनु हुन्न । यसर्थ अब सरकार र सम्बन्धित निकायले पर्यटकीय क्षेत्रहरु खुलाएर मात्र हुँदैन यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सुरक्षित र सहज हुने वातावरण सिर्जना गर्न तर्फ पनि ध्यान दिनु पर्दछ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update