Shittalpati
सन्दर्भ : अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस, विपद् न्यूनीकरणमा रेडक्रस

संंयुक्त राष्ट्र संघको महासभाले अक्टोबर १३ लाई अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार सन् १९८९ देखि हरेक वर्ष यो दिवस विश्वव्यापी रुपमा मनाउँदै आइएको छ । यस वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको मूल नारा, ‘विपद् जोखिमका लागि सुशासन’ रहेको छ । नेपाल रेडक्रस सोसाइटीले पनि यस दिवसको अवसरमा अक्टोबर महिनाभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ ।

मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकता गरी सात सिद्धान्तलाई आत्मसाथ गर्दै आएको रेडक्रसले सदियौ देखि विपद् व्यवस्थापन कार्य गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटीको स्थापना वि.सं. २०२० भाद्र १९ गते भए देखिनै विपद्को क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गर्दै आएको छ । विपद्को दृष्टिकोणले विश्वभरका संकटासन्न देशहरु मध्ये नेपाल पनि जोखिम प्रभावित मुलुकको रुपमा रहेको छ । नेपालमा विशेषत : नदी, बाढी पहिरो, आगलागी, चट्याङ्, हुरी, बतास, शीतलहरहरु एवं भूकम्पका कारणले विपत् आइलागेको पाइन्छ । वर्तमान समयमा विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसको प्रभावको कारणले मुलुकमा विपद् आइलागेको छ । नेपाल रेडक्रस सोसाइटीले समुदायमा आधारित विपद् पूर्वतयारीको कार्यक्रमको अवधारणालाई निरन्तर रुपमा विकास र विस्तार गर्दै सेवा कार्य गर्दै आइरहेको छ । विपद् व्यवस्थापनको क्रममा हालसम्म नेपाल रेडक्रस सोसाइटीले विशेषत ः तीनवटा प्रकृतिका गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

प्रथमत : विपद् जोखिम न्यूनीकरण : पूर्व तयारी, न्यूनीकरण र समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण सम्बन्धी गतिविधिहरु । दोस्रो : विपद् प्रतिकार्य : हरेक विपद् पश्चात सञ्चालन गरिनेखोज उद्धार प्राथमिक उपचार राहत वितरण खानेपानी तथा सरसफाई आधारभूत स्वास्थ्यआदि । तेस्रो : पूनलाभ : पुनस्थापना, पुननिर्माण जिविकोपार्जन सहयोग आदि । उल्लेखित गतिविधिहरुलाई सही मार्गदर्शन गर्नको लागि विपद् व्यवस्थापन नीति, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीति, समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन कार्यक्रमक निर्देशिका, अल्पकालीन कार्यसञ्चालन योजना, गोदाम घर सञ्चालन कार्यप्रणाली, राहत वितरण प्रणाली आदि नीति तथा कार्यविधिहरु तयार गरेको छ । विपद्लाई रोकथाम गर्न सकिदैन तर यसको असरलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने मान्यताका साथ संगठनात्मक विस्तार, भूमिका निर्धारण, गोदाम घर निर्माण र व्यवस्थापन,राहत कोष प्रबन्ध, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनचेतना आभिवृद्धि र सामुदायिक पूर्वतयारी कार्यक्रम लगायतका पूर्वतयारी गर्दै आएको छ । पूर्वतयारीसँग सम्बन्धित तत्वहरुको पहिचान र विश्लेषण समेत गर्दै आएको छ । नेपाल रेडक्रसले संकटाभिमूख क्षेत्र पहिचान, योजना तर्जुमा, सूचना प्रवाह, जनशक्ति व्यवस्थापन स्रोत व्यवस्थापन चेतावनी, कार्य जानकारी, तालिम र अभ्यास जस्ता कार्यमा जोड दिदैँ आएको छ । विपद् परिरहेको बेलामा नेपाल रेडक्रसले उद्दार तथा राहत सेवा प्रदान गर्दै आएको छ । प्रकोप परिरहेको बेलामा रेडक्रसले जीवन रक्षा अर्थात् बचाउने, जोगाउने प्रकोप नियन्त्रण र निवारण गर्ने कार्य गर्दै आएको छ । प्राथमिक उपचार, औषधोपचार सेवा, उद्दार कार्यको समन्वय गर्ने, स्थान निर्धारण गरी स्वंयसेवक एवं कर्मचारी खटाउने, सर्वेक्षण र आवश्यकताको निर्धारण गर्ने, सामग्री संकलन, खानाको व्यवस्था, लुगाफाटाको व्यवस्था र अस्थायी आवास तथा फोहर मैला विर्सजनको व्यवस्था मिलाउने कार्य गर्दछ । यसका साथै हराएकाहरुको खोजी र निकटम नातेदारहरुलाई खबर गर्ने कार्य, मृतकको खोजी, लासहरुको सनाखत, नातेदारलाई हस्तान्तरण र प्रतिवेदन प्रस्तुती जस्ता कार्यहरु गर्दै आएको छ ।

विपद् परिसकेपछिको समयमा तत्काल सेवा प्रदान गरेको छ । विपद् सर्वेक्षण र आवश्यकताको निर्धारण, औषधोपचार, खाना तथा आवासको प्रबन्ध, लुगाकपडाको व्यवस्था, हराएकाहरुको खोजी र सनाखत, विस्थापित हुन पुगेको खानेपानी, स्वास्थ्य र सञ्चार जस्ता अत्यावश्यक सेवाको प्रबन्ध तत्काल गर्दै आएको छ । त्यसपछिको चरणमा भने पुर्नवास, पुन: स्थापना, आर्थिक पुनरुत्थान कार्यक्रम, शैक्षिक सहयोग, अस्तव्यस्त सार्वजनिक सुविधाको पुन: स्थापना सुविधायुक्त ऋणको व्यवस्था गर्दै सामाजिकीकरणमा टेवापु¥याउदे आएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आफ्नो स्थापनाकाल वि.सं.२०२७ देखिनै विपद् जोखिम न्यूनीकरण र उद्धार तथा राहत सेवा प्रदान गर्दै आएको छ । यो सेवा रेडक्रसको मापदण्ड भित्र रही वर्षेनी पुर्‍याउँदै आएको छ । पाल्पामा फिनिस रेडक्रसको सहयोगमा विद्यालयमा आधारित प्रकोप जोखिम न्यूनीकरण कार्यक्रम (२००७–२००९) सञ्चालन भएको थियो भने फिनिस रेडक्रसकै सहयोगमा समुदाय र विद्यालयमा आधारित प्रकोप जोखिम न्यूनीकरण कार्यक्रम (२०१०–२०१२) सञ्चालन गरिएको थियो । देवीनगर, चिदीपानी, बन्दीपोखरा, भुवनपोखरी, दोभान क्षेत्रका समुदायलाई लाभान्वित बनाएको थियो र लक्षित क्षेत्रहरुका विद्यालयहरुले स्थानीय साधन र स्रोतको प्रयोग गरी विपद् व्यवस्थापनको क्षेत्रमा हालसम्म पनि उल्लेखनीय कार्य गर्दै आईरहेका छन् ।

पाल्पामा विपद् जोखिम न्युनीकरणका लागि रेडक्रसका प्रशिक्षकहरु प्राथमिक उपचार प्रशिक्षकहरु र स्वंयसेवकहरु क्रियाशिल रहेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिलाई पाल्पा शाखाले सहयोग गर्दै आएको छ । पाल्पा शाखा र उपशाखाहरु मार्फत रेडक्रसले विपद् व्यवस्थापन, उद्धार राहत तथा पुन : स्थापना कार्यमा सक्दो सेवा पु¥याउँदा आएको छ । विपद्लाई रोक्ने ताकत कसैमा नभएतापनि विपद् न्यूनीकरणका लागि पूर्वतयारी गर्न सकिन्छ । यसैलाई ध्यानमा राखेर नेपाल रेडक्र ससोसाइटीले विपद्को क्षेत्रमा नमूनाको रुपमा कार्य गर्दै आएको छ । रेडक्रसद्वारा सञ्चालित यस मानवीय महाअभियानलाई सुव्यवस्थित प्रभावकारी र दिगो बनाउनसम्पूर्ण सरकारी एवं गैरसरकारी संस्थाहरु र समुदायको सहयोगको अपरिहार्यता रहेको छ  । अक्टोबर (२०२०) महिनाभरि मनाइने अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यक्रममा आउनुहोस् तपाईहरु पनि सहभागी हुनुहोस् । रेडक्रसका विभिन्न तहहरुले निम्नानुसारका गतिविधिहरु सञ्चालन गरी विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा सुसूचित अभियान सञ्चालन गरिरहेका छन् । तपाईहरुले पनि रेडक्रसले गरे जस्तै रेडियो, टि.भीहरुबाट सन्देश प्रसारण, लोकदोहोरी गीतको आयोजना, चित्रकला, कविता तथा निबन्ध लेखन प्रतियोगिताहरु, छापाका माध्यमद्वारा लेख, रचना प्रकाशन, विपद् जोखिम सुशासनका लागि विज्ञहरुद्वारा कार्यपत्र लेखन र छलफल, भएका प्रयास र उत्कृष्ट अभ्यासहरुको प्रस्तुती, वृक्षारोपण तथा वृक्षसंरक्षण, अन्र्तवार्ता, भर्चुअल मार्फत अभिमुखीकरण गोष्ठीको आयोजना, सन्देशमूलक सूचना शिक्षा र सञ्चार सामग्रीको संकलन, छपाई र वितरण, जोखिमन्यूनीकरणका लागि सम्भाव्यता अध्ययन, राहत संकलन, पत्रकार भेटघाट, चन्दा सहयोग प्रदान गरिनुका साथै सामाजिक कार्यकर्ता र स्वंयसेवकको रुपमा आफूलाई अग्रसर गराई विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउन सक्नु हुनेछ । सेवानै धर्म हो । जय रेडक्रस ।
स्रोत : नेपाल रेडक्रस सोसाइटीका विभिन्न तहबाट प्रकाशित सामग्रीहरु (लेखक रेडक्रस पाल्पाका उपकोषाध्यक्ष र प्राथमिक उपचार प्रशिक्षक समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update