Shittalpati
रोग, शरीरको प्रतिरक्षात्मक क्षमता र जडिबुटी

सुक्ष्म किटाणुहरुले शरीरलाई कसरी आक्रमण गर्दछन् ?
हरेक जीवको शरीरमा एक त्यस्तो सिस्टमको रचना गरिएको छ जसले शरीरलाई हानी पुर्‍याउने कुनै पनि तत्वलाई सकेसम्म शरीरभित्र पस्न नदिने र कुनै कारणबस पसिहालेमा त्यसलाई मार्ने काम गर्दछ त्यस सिस्टमलाई रोग प्रतिरोधात्मक क्षमता अर्थात् ईम्युनिटिपावर भनिन्छ । सुक्ष्म हानिकारक जीवहरु हाम्रो शरीरमा दैनिक हजारौको मात्रामा प्रवेश गर्दछन् तर कोषको बाहिरी आवरणमा रहेको पहिलो लाईनको सुरक्षा गार्ड जस्तै हुन्छ जसलाई रिसेप्टर्स भनिन्छ । यसले सामान्यतः कोष भित्र जान ईच्छुक कुनैपनि तत्वको सिग्नल कोडलाई जाँचेर कोषलाई आवश्यक पोषणतत्व, औषधी आदि जो फाईदाजनक छ त्यस्तो तत्वलाई मात्र ढोका खोलिदिन खवर पठाउँछ र ढोका खुल्छ तर अन्य शरीरको लागि हानिकारक सुक्ष्म जिव लागायतका अन्य तत्वको कोडलाई चिनेर ढोका नै खोल्दैन ।

त्यसैले धेरै किटाणुहरु शरीरभित्र प्रवेश गरेपनि कोष भित्र प्रवेश गर्न पाउँदैनन् कोषभित्र प्रवेश गर्न नपाए पछि रोगलाग्न सक्दैन । तर केहि सुक्ष्मकिटाणुहरुले एकै पटकमा भित्र जान नपाए पछि आफुले दिने सिग्नल परिर्वतन गर्दै कोषको बाहिरी आवरणमा रहेका रिसेप्टर्सहरुलाई झुक्याईदिन्छ रिसेप्टर्सले आफ्नै ठानी ढोका खोलिदिन्छ, जसको फलस्वरुप उक्त हानिकारक किटाणुरतत्व कोष भित्र पुग्न सफल हुन्छ ।
रोग प्रतिरक्षा प्रणालीले कसरी शरीरको सुरक्षा गर्दछ ?
रोग उत्पन्न गराउने कुनै पनि तत्व वा सूक्ष्म जीवाणु, विषाणु आदि शरीरमा प्रवेश गरेपछि शरीरले त्यसको प्रतिरोध गर्न रगतमा रहेको श्वेत रक्तकोषिकाहरुलाई उत्तेजित गर्दछ । यसको एक सदस्य टि लिम्फोसाईटले अर्को एक महत्वपूर्ण सदस्य बि लिम्फोसाईटलाई जानकारी गराई एलर्ट गराउँदछ र बि लिम्फोसाईटले एक स्पेसिफिक हानिकारक तत्वको बिरुद्ध छ एन्टिबडि (शरीरको एक प्रकारको आर्मी जस्तै) तयार गर्दछ र उक्त तत्वलाई मार्दछ त्यस्ता एण्टिबडिहरुले भविष्यमा हुने संक्रमण समेतलाई रोक्ने गर्दछ । त्यसैगरी Mast Cells, Macrophages जस्ता तत्वहरु मार्फत पनि शरीरले रोग प्रतिरोधि क्षमता विकास गर्दछ ।
विषाणुहरुको संक्रमणको अवस्थामा इन्टरफेरोनले Immunity power को भूमिका खेल्दछ साथै विषाणु अर्थात् भाइरसहरु विरुद्ध नेचुरल किलर सेल्स (NK Cells) जुन एक प्रकारका large granular lymphocytes (LGL) कोषिकाहरु हुन् । तिनीहरु पनि रोग प्रतिरोधात्मक क्षमतामा भूमिका खेल्दछन् । शरीरले उत्पादन गर्ने एण्टिबडिहरुमा मुख्यतः IgM /IgG हुन् तर यसले सधै रोगको कारक तत्वलाई जित्न सक्छ भन्ने ग्यारेन्टी चै हुँदैन । जब सुक्ष्म हानिकारक जीवहरुको क्षमता शरीरका एन्टबडिहरुको क्षमता भन्दा कम हुन्छ तब ति ब्याक्टेरिया, भाईरस आदि हानिकारक सुक्ष्म जीव मर्दछन् र रोग लाग्न पाउँदैन तर जब ति सुक्ष्म जीवहरुको क्षमता शरीरका एन्टिबडिहरुको क्षमता भन्दा बढी हुन्छ तब उक्त हानिकारक जीवले शरीरमा रोग उत्पन्न गराउन सफल हुन्छ त्यस कारण मानौ कि ए भन्ने व्यक्तिको रोग प्रतिरक्षा प्रणाली एकदम मजबुत छ उसलाई १००० वटा कोरोना भाईरस दिईयो भने उसको शरीरमा रहेको बि लिम्फोसाईट्स हरुले उक्त भाईरस मार्न सफल हुन्छन् र रोग लाग्न सक्तैन तर अर्को मानौ बि भन्ने व्यक्तिको रोग प्रतिरक्षा प्रणालि पहिला देखिनै कमजोर छ भने केवल १०० वटा कोरोनाको भाईरस उसको शरीरमा प्रवेश गरे पनि उसलाई कोरोना भाईरसले आक्रमण गरी कोभिड रोग उत्पन्न गराउन सक्तछ ।
खानपान र रोग प्रतिरोधी क्षमता
शरीरमा रोग प्रतिरोधी क्षमतालाई मजबूत गर्न स्वस्थ्यकर तथा सन्तुलित खानपानले ठूलो भूमिका खेल्दछ । यसलाई अझ सजिलोसँग बुझ्नको लागि प्राईमरी र सेकेन्डरी मेटाबोलिजमलाई बुझ्नु जरुरी छ । सामान्यतः मेटाबोलिजम भनेको जीवको शरीर सञ्चालन, वृद्धि विकास तथा सुरक्षाको लागि अति आवश्यक निरन्तर चलिरहने रसायनिक प्रक्रिया हो । यस अन्तर्गत २ वटा काम हुन्छ ।
१.Catabolism: हामीले खाएको खाद्य पदार्थलाई पाचन प्रणालिले विभाजन गर्दै सबैभन्दा साधारण ईकाइ (Smallest Molecules) मा गर्दछ र रक्त सञ्चारमा पुग्दछ जसबाट शरीरका लागि आवश्यक ईन्धन तयार गरी शरीरले गर्ने कुनै पनि कार्य जस्तैः हिँडडुल लगायतका कार्य, श्वासप्रश्वास, पाँचन आदि कार्यको लागि गर्न खपत हुन्छ यसरी शक्ति खर्च गर्ने प्रक्रियालाई क्याटाबोलिजम भनिन्छ । यस प्रक्रियाबाट शरीरमा आवश्यक शक्ति बनिरहेको हुन्छ । यस प्रक्रियामा खाद्य बस्तुमा रहेको संचित शक्ति अब शरीरमा गति शक्तिको रुपमा परिवर्तन हुन्छ । अतः मोटो ब्यक्तिले आफ्नो तौल घटाउन Catabolism को दर बढाउनु पर्दछ ।
२. Anabolism : क्याटाबोलिजममा तयार भएको शक्ति (Small Molecules) को प्रयोग गरी Complex Molecules  बन्ने कार्य हुन्छ । यस प्रक्रियाबाट शरीरका बिभिन्न टिस्युहरु र कोषहरुको वृद्धि विकास हुने गर्दछ अर्थात् गति शक्ति अब पुनः संचित शक्तिको रुपमा रहने प्रक्रियालाई एनाबोलिजम भनिन्छ । माथि उल्लेखित २ चरणमा शरीरको लागि आवश्यक शक्ति निर्माण र शरीरको वृद्धि बिकास हुन्छ तर विभिन्न बाहिरी तत्वहरुको Bacteria, Virus, Fungus लगायत शरीरको लागि हानिकारक कुनै पनि तत्व) आक्रमणबाट शरीरलाई बचाउने काम पोषण तत्वले मात्र गर्न सक्दैन यसबाट हामीले के बुझ्न जरुरी छ भने कुनै पनि व्यक्ति मोटोघाटो हँुदैमा मात्रै उसको रोगसंग लड्ने प्रतिरक्षा प्रणालि मजबुत छ भन्ने होइन । प्रतिरक्षा प्रणालि बलियो हुनुमा माता–पिताबाट प्राप्त, बातावरणिय अवस्था र प्रकृतिसंगको संघर्ष, पोषणमा पनि विशेष गरी हरियो सागसब्जी तथा फलफुल, औषधिजन्य जडिबुटिहरुको सेवन आदि तत्वले भूमिका खेल्दछ । औषधीजन्य वनस्पत्तिहरु तथा प्रायः धेरै रंगिन फलफुलहरुमा Secondary metabolites को रुपमा पाइने Phytoconstituents ले शरीरलाई विभिन्न रोगहरुबाट बचाउछ रोगनाशक तत्वको रुपमा कार्य गर्दछ र यीनै Phytoconstituents जस्तैः Terpenes, Phenolics, Glycosides / Alkoloids  आदि यौगिकहरुले रोग प्रतिरोधात्मक क्षमता मजबुत गर्ने कार्य गर्दछन् । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटि वा औषधीजन्य वनस्पतिहरुको समूहलाई Immunomodulator drugs को समूहमा राख्न सकिन्छ । Immunomodulators भन्नाले जैविक वा कृत्रिम तत्व जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई उत्तेजित गर्ने, दबाउने वा परिवर्तन (बढाउने, घटाउने) गर्दछ त्यसलाई Immunomodulator भनिन्छ । यस्तो परिवर्तन स्वभाविक वा आर्जित पनि हुनसक्दछ ।
इम्यूनोमोडुलेटर औषधीहरु मुख्यतः ३ प्रकारका हुन्छन् ।
१.इम्यूनोएडजुभेन्ट्स : यो समूहको औषधिले स्पेसिफिक इम्यूनिटि बढाउनमा मद्दत गर्दछ यसबाट एक निश्चित रोगको लागि मात्र तयार गरिने भ्याक्सिनको क्षमता बढाउँछ ।
२.इम्यूनोस्टिमूलेन्ट : यो समूहको औषधिहरुले प्रायःजसो सबै रोगहरुको लागि इम्यूनिटि बढाउने कार्य गर्दछ । औषधीजन्य वनस्पतिहरुले प्रायः यसै किसिमले कार्य गर्दछन् । यसले स्वाभाविक प्रतिरोधको साथै आर्जित इम्यून सिस्टमलाई पनि बढाउँछ । एडाप्टोजेनिक एजेन्टहरुले पनि इम्यूनोस्टिमूलेन्टको रुपमा कार्य गर्दछन् । स्वस्थ्य व्यक्तिहरुमा इम्यूनोस्टिमूलेन्टहरुले प्रोफाईलेक्टिक (रोग लाग्न नदिने) वा इम्यूनोप्रमोटरको कार्य गर्दछ ।
३. इम्यूनोसप्रेसेन्ट : यस वर्गका औषधिहरुले रोग प्रतिरोधात्मक क्षमतालाई दवाउने काम गर्दछन् । यि औषधीहरुको प्रयोग Auto-Immune Disorders, जस्तै : Multiple sclerosis, Transverse Myelitis Guillain-Barré syndrome, तथा ट्यूमर, अंग प्रत्यारोपण आदि अवस्थामा गर्ने गरिन्छ  । यस वर्गका औषधीहरुले असामान्य रुपले अतिक्रियाशील इम्यून सिस्टमलाई दबाउने वा निस्तेज पार्ने कार्य गर्दछन् ।
इम्यूनोमोडुलेटर क्षमता भएका केहि महत्वपूर्ण जडिबुटिहरु
१. बेसार अर्थात हलेदो :


यसमा मुख्य तत्वको रुपमा Curcumin रहेको हुन्छ  । यसकोAnti-inflammatory, Antimicrobial क्षमता रहेको हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन इम्यूनोस्टिमूलेटरको रुपमा कार्य गर्दछ । एक रिसर्चका अनुसार हलेदोमा Ukonan A-D भन्ने पोलिसेकेराइड तत्वले reticuloendothelial system लाई उत्तेजित गरी Lymphocytes हरुको वृद्धि गर्दछ र यसले IgG लाई समेत बढाइएको पाइएको छ । एक अर्को अध्ययन अनुसार बेसारको गानोको water extract n] Macrophages लाई सक्रिय गर्ने, Spleen बाट उत्पन्न हुने Lymphocytes बढाउने तथा cytokisenin को श्राव बढाउँछ ।
सावधानीः
तलका निम्न अबस्था र रोगहरुमा नियमित रुपमा औषधिय मात्रामा हलेदोको सेवन हानिकारक हुन सक्छ ।
क.महिनावारीको समयमा बढी रगत बग्ने समस्या भएमा तथा स्तनपान गराईरहेका आमाहरुमा ।
ख.नियमित रुपमा Aspirin सेवन गर्ने व्यक्ति वा Anti-Platelate औषधी सेवन गरिरहेका बिरामीहरुमा ।
ग.केमोथेरापी लिइरहेका बिरामीहरुमा ।
घ.पित्तको रुकावट अर्थात Obstrective Jundic को अवस्थामा ।
२.अश्वगन्धा :


यसमा मुख्य रसायन अल्काल्वाइड, र स्टेरोवाइडल ल्याक्टोन्स हुन्छन् । यस बाहेक अश्वगन्धामा हुने Sitoindosides IX alpha, X alpha  मा इम्यूनोमोडुलेटरी क्षमता रहेको हुन्छ ।
३.चिनिलहरो वा गुर्जो :


गुर्जोमा रहेको विभिन्न ग्लाइकोसाइडहरु जस्तैः Tinospora cordifolia-1, Tinospora cordifolia-2, Tinospora cordifolia-4, Tinospora cordifolia-7 ले IgG Antibodies बढाउँछ । Tinospora cordifolia-7 ले Immune stimulatory क्रिया देखाउँछ । जसको कारणबाट शरीरको रोग संग लडने प्रतिरक्षा प्रणालि मजबुत हुन्छ ।
(लेखक गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरीक्षक समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update