Shittalpati
श्रीकृष्णाष्टमी पर्वको सार्थकता

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्वमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्वका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो ।

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । मानिस मात्र नभई पशु–प्राणी, कीट–पटङ्ग, वृक्ष सबैलाई मन्त्रमुग्ध पारेर चैतन्य प्रदान गर्ने मुरली धुनको गुणगान अवर्णनीय छ भने श्रीकृष्णकी आल्हादिनी शक्ति राधाका साथ गोपिनीहरूसँग वृन्दावनमा राशलीला गरेर सबैलाई आनन्द प्रेमरसका लागि आकृष्ट गर्ने प्रेमावतार सबैका लागि ग्रहणयोग्य छ । प्रेम गोपिनीहरूको जस्तो होस् भनेर इतिहासमा गोपी प्रेम प्रशिद्ध छ, जुन आफ्नो सुखका लागि नभएर प्रेमीको सुखका लागि आफूलाई समर्पण गरिने प्रेम थियो । गोपिनीहरू आफ्ना प्रियतम श्यामसुन्दर श्रीकृष्णको सुखका लागि आफू जस्तोसुकै दुःख भोग्न पनि तयार बनेको उदाहरण समेत पाइन्छ । भगवानले गोपीनीहरूप्रति गरेको प्रेममा पनि कुनै वासना थिएन, केवल उनीहरूको उद्दारको भावना मात्र थियो । निःस्वार्थ प्रेम थियो । आजभोलि मान्छेको प्रेम वासनाका लागि हुने गरेको र व्यक्ति एक अर्कालाई स्वार्थवश प्रेम गर्ने गरेको पाइन्छ । आजको स्वार्थी र वासनायुक्त संसारलाई प्रेमपाठ सिकाउन पनि भगवान कृष्णको प्रेम माधुर्य कला अमृततुल्य औषधी र उपयोगी शिक्षा बनेको छ । प्रेम आशक्ति र वासनायुक्त हुनु–हुँदैन, प्रेमभाव स्वाभाविक हुनुपर्छ । स्वभाविक प्रेममा सद्भावना हुन्छ, विवेक र जागरण हुन्छ, जसबाट लौकिक तथा पारलौकिक कल्याण प्राप्त हुन्छ । प्रेमावतार भगवान कृष्णले प्रेमलीलाको माध्यमबाट यसैतर्फ सचेत गराएका छन् । तसर्थ सबैप्रति प्रेम, मैत्री र सद्भाव कायम गर्ने प्रेरणा प्राप्त गर्नु नै श्रीकृष्ण अष्टमी पर्व मनाउनुको सार्थकता रहने छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update