Shittalpati
कोरोनाप्रति कति सावधान हामी ?

कोरोना भाइरस आजसम्मको सार्वजनिक समाचार अनुसार र विचार प्रवाह हुँदा सम्मको तथ्यांक अनुसार यो भाइरस चीन, दक्षिण एशिया, युरोप, अमेरिका, आदि सुदुरवर्ती देश हुदै विश्वका धेरै मुलुकहरू जस्तैं भारत, इरान, इराक, द–कोरिया, जापान, अमेरिका, इटली, स्पेन, फ्रान्स, जर्मनी लगायत हाम्रो नेपालमा पनि तीव्र गतिले विस्तारित हुँदै गइरहेको बुझिन्छ । अनेकौ व्यक्तिहरूको मृत्यु समेत भइसकेको छ । प्रतिदिनको उतार चढावले गर्दा भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्यामा केही फरक हुन सक्छ । अनि विश्व स्वास्थ्य संगठनले समेत यो कोरोना भाइरस विश्वव्यापी महामारीका रूपमा फैलिदै गएको घोषणा गर्दै विश्वभरिका सम्पूर्ण देश र नागरिकहरूलाई अधिकतम संयमित र सुरक्षित रहन हार्दिक आÞवान गरिरहेको छ । यता हाम्रो पनि यहाँका स्थानीयवासी वा विदेशबाट आउनेहरूले पनि आफ्नै र समग्र देशवासीकै सुरक्षाका लागि नियमानुसार आफ्नै क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ । चीनको बुहान शहरबाट गत वर्ष डिसेम्बरमा उत्पन्न भई कमशः विश्वव्यापी रूपमा फैलिदै गएको भाइरस प्रति सरकारको तर्फबाट कति सावधानी अपनाइदै छ भन्ने आम देशवासीको प्रश्न र चिन्ताका विषयमा लेख केन्द्रित रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले र नेपालका प्रधानमन्त्री के.पी.शर्मा ओलीले समेत भाइरससँग लड्न सार्क देशहरूसँग अपिल गरिसकेका छन् । सरकारको भनाई अनुसार हामीले कोरोना भाइरसबाट सुरक्षित हुने अनेकौ सम्भाव्य उपायहरू अपनाइरहेका छौ । हाम्रा चीन भारत सीमावर्ती क्षेत्रका प्रमुख तथा स–साना नाकाहरूमा चेकपोस्ट निमार्ण गरी भारत–चीन लगायत तस्रो मुलुकहरूबाट स्थलमार्ग तथा वायुमार्गहरूबाट नेपाल आउने हरेक व्यक्ति, व्यावसायी, पर्यटकहरूलाई भाइरस संक्रमित भएको वा नभएको भन्ने बारेमा विशेष प्रकारको थर्मामिटरद्वारा तापक्रम जाँच्ने काम भइराखेको छ । त्यस्तो भाइरसको लक्षण सम्बन्धी उच्च तापक्रम भएका व्यक्तिलाई अरू थप जाँच गर्न निर्दिष्ट स्वास्थ्य केन्द्र पठाइएको छ । त्यहाँ आवश्यक जाँच बुझपछि ती व्यक्तिहरूलाई भाइरस संक्रमित भए जस्तो पाइएमा निर्दिष्ट ठाँउमा स्थापित क्वारेन्टाइनमा पठाइएको छ । त्यहाँ उनीहरूलाई १४ दिनसम्म राखेर पूर्ण जाँच गरेपछि उनीहरूलाई वास्तविक भाइरस लागेको हा वा होइन भन्ने कुराको लाग्नेछ । यदि उनीहरूलाई भाइरस लागेको प्रमाणित भए अझ विशिष्ट प्रकारको स्वास्थ्य केन्द्रमा लगि आवश्यक उपचार गरिएको छ । यदि त्यस्तो भाइरस नलागेका लाई भने आ–आफ्नोे गन्तव्यमा जान दिइएको छ । त्यसैगरी स्थलमार्ग, जलमार्ग र हवाईमार्गद्वारा आउने भारत लगायत तेस्रो मुलुकहरूबाट आउने व्यक्ति, पर्यटक, राजनेता, सञ्चारकर्मी, कुटनितिज्ञ लगायत हरेक सर्वसाधारण व्यक्तिहरूको पनि विमान अवतरण गर्ने वित्तिकै उनीहरूको पनि उस्तै गरी क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण गरिएको छ । र शंकास्पद व्यक्तिहरूलाई पनि क्वारेन्टाइनमा राख्ने पर्याप्त ठाउँहरूको व्यवस्था पनि गरेका छौ, भनिएको छ । नेपाल सरकारले भाइरसको जोखिमबाट सुरक्षित हुन यस अघि ८ वटा वैदेशिक राष्ट्रहरू क्रमशः चीन, इरान, द कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनीका लागि प्रदान गर्दै आएको ‘अनअराइभल भिषा’ गत वर्षको फागुन २ गते मंगलबारदेखि नै प्रतिवन्ध गरिएको थियो र हाल केहि खुकुलो पार्दै गई राखिएको छ । सरकारको अर्काे भनाई अनुसार विदेशी वा नेपाली नागरिकहरूलाई पनि नेपाल आउँदा उनीहरू पनि के कति संक्रमित र स्वास्थ छन् भन्ने बारेमा विदेश स्थित नेपाली दुतावासहरूबाट परीक्षण गरी भाइरस संक्रमित नभएकोे त्यस्तो आधिकारिक स्वास्थ्यताको प्रमाणपत्र लिएर आएमा र यहाँ पनि परीक्षण गर्दा पूर्ण स्वस्थ देखिए मात्र निश्चित अवधिको लागि नेपाल प्रवेश गर्न दिइने छ । उता छिमेकी देश भारतले पनि धार्मिक पर्यटन वा कुनै व्यवसाय प्रयोजनका लागि नेपाल प्रवेश गरेका आफ्नो भारतीय नागरिकहरूलाई पनि सीमावर्ती स्थलमार्गबाट पुनःभारत फिर्ता हुन निषेध गरेको छ । यसरी भारतले आफ्नो पर्यटन यात्रीहरूलाई समेत प्रवेश निषेध गरेपछि नेपाल सरकारलाई पनि केही कुटनीतिक अप्ठ्यारो परेको छ । ती भारतीय यात्रीहरूलाई कसरी सुरक्षित स्वदेश फिर्ता पठाउने हो भनी चिन्ता लागेर ती यात्रीहरूलाई तुरून्त हवाईमार्गद्वारा काठमाडौं लगी पठाइयो ।

हुन त भारत सरकारले पनि स्थल मार्गबाट फिर्ता हुँदा भाइरसको अतिक्रमित हुने र जसका कारणले अनेकौ भारतीयहरूमा यी संक्रामक रोग फैलिने डर त्रासले यस्तो निर्णय गर्नु परेको होला । जे भए पनि भारत सरकारले नेपाल सरकारसँग आपसी राय परामर्श नगरी एकतर्फी निर्णय गर्नुले नेपाल सरकारको चित्त दुख्नु स्वभाविकै हो । अझ भाइरस संक्रमित भएका कतिपय विकसित देशहरूले विदेशीहरूलाई आफ्नोे देश भित्र स्वतन्त्र रूपले प्रवेश गर्न नपाइने कडा नियम लागु गरेका छन् । र प्रवासी विदेशी नागरिक र आफ्नै नागरिकहरूलाई समेत भाइरस संक्रमित हुन नदिन अनेकौ आवश्यक ठाउँहरूमा क्वारेन्टाइन जाँचबुझ केन्दहरू खोलेर उनीहरूलाई भरपर्दाे औषधीमुलो सहित आवश्यक स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

हो, विकसित देशहरूका तुलनामा उनीहरूले जस्तै हामीहरूले पनि भाइरस नियन्त्रणको त्यस्तो प्रभावकारी सक्रियता र सुरक्षा देखाउन नसके पनि, हामीसँग भाइरस नियन्त्रणका आवश्यक औषधी, यान्त्रिक उपकरण, माक्स , पोशाक लगायत अन्य बन्दोवस्तीका सामग्रीहरू र यातायात जन्य स्रोत साधनहरू पर्याप्त नभएता पनि यदि सरकारको आम नागरिक प्रति केही चिन्ता छ भने हामीसँग हाल जे जति स्रोत साधनहरू छन् तिनीहरूलाई व्यवस्थित रूपले परिचालन र सदुपयोग गर्ने हो भने केही हदसम्म भाइरस नियन्त्रण गर्न सकिन्छ । अझ स्वंयम् सरकार, सम्पूर्ण सरकारी निकायहरू, राजनीतिक दल, संघसंस्था, नागरिक समाज, मानव अधिकारवादी, समाजसेवी, पत्रकार, सञ्चारमाध्यम, प्रहरी सेवा, व्यवसायी हामी सबैमा नागरिक र देश प्रति स्नेह भए तथा हामी हरेकले जिम्मेवारीपूर्वक भाइरस सम्बन्धी सुरक्षामा नीति अपनाउने हो भने पनि कोरोना भाइरसबाट अधिकतम सुरक्षित हुन सक्ने छौ ।


सरकारले पनि यसरी विश्वव्यापी रूपमा विस्तार भइरहेको भाइरसलाई मध्य नजर गरी प्रत्येक नागरिकले ध्यान दिनुपर्ने प्रमुख सुत्रहरूलाई बराबर प्रचार–प्रसार, सूसूचित गरि राखेको छ । सञ्चार माध्यमहरूले अहोरात्र खटेर सुरक्षात्मक उपायहरू प्रसारण गरिरहेका छन् । वातावरण स्वच्छ र सुरक्षित नभएसम्म पर्यटन बर्ष पनि स्थगित गरिएको छ । देशमा हुनलागेको ठूला–ठूला महत्वकांक्षी योजना, विकास निर्माण, सन्धि, सम्झौता, समारोह, महोत्सव, सभा सम्मेलन आदि सबै स्थगित गरिएको छ । ठूला–ठूला भोजभतेरहरू समेतमा बन्देज गरिएको छ । बढी भिडभाड हुने सार्वजनिक क्षेत्रहरूमा समेत भिडभाड नगर्न भनिएको छ । त्यसैगरी हामी सबैले खानपान, उठबस आदि दैनिक जीवनचर्यामा अत्यन्त सावधानी र सुरक्षात्मक उपाय अपनाउन आÞवान गरिएको छ । यसरी एकातिर भाइरस नियन्त्रण गर्ने उपायहरूका बारेमा सरकारका धेरै कमजोरीहरू रहेता पनि कम्तीमा सरकारले सबैलाई धैर्य राख्न र सुरक्षात्मक उपाय अपनाउन अनि यस संक्रमित भाइरसबाट कत्ति पनि नआत्तिन सबैलाई सान्त्वना दिइरहेको छ । तर अर्कोतर्फ भने महामरीजन्य संक्रामक रोगबाट ढुक्क र निश्चित भएर बस्ने अवस्था भने आइसकेको छैन । एकातिर देशमा यसरी संक्रामक रोग फैलिने दुर्त गतिमा सम्भावना भएको र आम देशवासीमा यस रोगबाट कसरी बँच्ने भन्ने चिन्ता भईराखेको अवस्थामा हामीहरू मध्येका कतिपय उद्योगी एवं व्यवसायीहरूले यस्ता भाइरस जन्य संक्रामक रोग नियन्त्रणका लागि अनिवार्य चाहिने माक्स लगायत अन्य आवश्यक औषधी र यन्त्रहरू समेत तयारी अवस्थामा राख्नुपर्ने बेलामा उल्टै कृत्रिम अभाव सिर्जना गरी ती भएका वस्तु सामग्रीहरूलाई गोदाममै लुकाएर साविकको मुल्य भन्दा १० औ, २० औ गुणा मुल्य बढाएर बेच्ने गरेका दुःखद समाचारहरू आइरहेका छन् यति मात्र होइन कतिपय व्यापारीहरूले मौका यही हो भनेर दैनिक प्रयोग खाद्यवस्तुहरू चामल, दाल, चिनी, नुन, औषधी, ग्यास, सिलिन्डर आदि लुकाएर कालोबजारी गरिरहेका छन् । सर्वसाधारण नागरिकहरूले पनि के गरून् ? विगतकालीन भारतीय पक्षद्वारा गरिएको नाकाबन्दी जस्तै हाहाकार हुने हो कि, भन्ने डरत्रासले आवश्यक दैनिक वस्तुहरू बढी मात्रामा सञ्चित गर्ने गरेको देखिन्छ । उता सरकारले भने यस्तो कालोबजारी गर्ने व्यापारी एवं व्यावसायीहरूलाई कानुन अनुसार सशक्त कारबाही गरिने बताइरहेको छ । हामीसँग खाद्य लगायत दैनिक उपभोग्य वस्तुहरूसँगै आवश्यक औषधीहरू समेत छ महिना सम्मका लागि पर्याप्त हुने भएकाले हामी कसैले पनि आवश्यकता भन्दा बढी वस्तुहरू सञ्चित गरेर नराखौ भनिरहेको छ ।

कुनै पनि देशका चेतनशील नागरिकहरूले आफ्नै सरकार, नेता, राजनितिक दलहरू बदनाम होस्, आलोचना होस्, विरोध होस्, प्रतिष्ठा र अधिकार गिरोस् भन्ने मनसाय कसैको पनि हुँदैन र हुनु पनि हुन्न् । सरकारका हरेक सकारात्मक कामको प्रशंसा गर्नु र नकारात्मक कामको स्वच्छ आलोचना गर्नु प्रत्येक सार्वभौम नागरिकहरूको अधिकारको विषय हो । यहि चर्चित कोरोना भाइरस प्रकरणमा सुरक्षाको भरपर्दाे अवस्थालाई मध्यनजर गरी सरकार तथा सरोकार पक्षहरूले भाइरस नियन्त्रण कार्यमा अझ बढी युद्वस्तरमा पूर्व तयारी गरी कोरोना भाइरसबाट देशवासीहरूलाई पूर्ण सुरक्षित र सन्तोष दिलाउने काममा गम्भीर ध्यान पुगोस् । सरकारले भारत र चीनसँग सीमा जोडिएका सीमावर्ती प्रमुख र अन्य स–साना सम्पूर्ण नाकाहरू लगायत स्थलमार्ग, जलमार्ग, हवाइमार्गहरूद्वारा भारत लगायत तेस्रो मुलुकहरूबाट नेपाल प्रवेश गर्ने यात्रीहरूलाई आवश्यक जाँचर र निगरानी गरेर उनीहरूलाई फिर्ता पठाउने वा क्वारेन्टाइनमा राख्नु पर्ने हो त्यसतर्फ तुरून्तै प्रक्रियागत निर्णय गरिनुपर्छ । आमदेशवासीको सरकारलाई सुझाव हो । यस्तो संकटकालीन घडीमा हामी सबै देशवासीहरूको सक्दो सेवा र सहयोग देशका लागि सर्वोपरी मार्गदर्शन हुनेछ । पुनश्चः सरकारको आवश्यक सुझ्बुझ कर्तव्य र राष्ट्रदेव पशुपतिनाथको कृपाले हालसम्म यस भाइरसबाट अरू विकसित देशहरूमा जस्तो दुर्त गतिमा संक्रमण नदेखिएको हुनाले अझै सुरक्षाका उपायहरू अपनाउनु आवश्यक देखिन्छ ।
(लेखक राष्ट्रिय युवा स्वरोजगार अभियानका अभियान्ता समेत हुन् । )

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update