Shittalpati
ओजोन तह संरक्षणमा ध्यान देऊ

पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमीमाथि रहेको ओजोन एउटा रक्षात्मक कवच हो । जसले सूर्यका हानिकारक किरणलाई पृथ्वीमा सिधै छिर्नबाट रोक्छ । विभिन्न मानवीय क्रियाकलापले गर्दा अव्यवस्थित औद्योगिकीकरण, ज्यादा रसायनको प्रयोगले ओजोन तहहरूमा हानि पुगी विनाश हुन थालेको छ । सो न्यूनीकरणका लागि विश्व ओजोन तह बचाउ दिवस सन् १९९५ देखि मनाउँदै आएको हो । यो १६ सेप्टेम्बरमा मनाइन्छ । यस वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

ग्लोबल वार्मिङका कारण पृथ्वीको तापमान बढ्दै गएकोमा विश्व समुदाय चिन्तित भइरहेकै बेला यो दिवस मनाइँदै छ । हरेक वर्ष दिवस मनाइए पनि ओजोन तह संरक्षणमा भने खासै ध्यान दिइएको पाइदैन । पृथ्वीमा कार्बनको मात्रा बढ्दै गएको छ भने ओजोनको तह पातलिँदै गएको छ । जसले गर्दा खतराको अवस्था सिर्जना हुने तर्फ वैज्ञानिकहरुले चिन्ता प्रकट गर्नुलाई अन्यथा लिनु हुँदैन । जलवायु परिवर्तनका कारण आज सिंगो पृथ्वी जुन अवस्थामा छ, अन्तिम समयसम्म पनि त्यस्तै नरहला भन्न सकिदैन । त्यसैले यसतर्फ समयमै सबैले सोच्नुपर्दछ । क्लोरोफ्लोरो कार्वन, मिथाइल, ब्रोमाइड, कार्वन टेट्रोक्लोराइड जस्ता क्लोरिन, ब्रोमिन तथा अक्साइड रेडिकल भएका झण्डै ९४ वटा रसायनहरु ओजोन तह विनाशका लागि जिम्मेवार छन् । यसबाट ओजोन तहको विनाश त हुन्छ नै त्यसभन्दा बढी र ठूलो मूल्य पृथ्वीले चुकाइरहनुपरेको छ । जसले, गर्दा त्यसको असर मानवजातिमा मात्र होइन पारिस्थितिक प्रणालीमा नै परेको छ । तसर्थ ओजोन तह संरक्षणका लागि, चेतना जगाउनु, क्लोरोफ्लोरो कार्वन उत्पादन र यसको प्रयोग गर्न निरुत्साहित गर्नु जस्ता कार्य गर्नु अहिलेको आवश्यकता हो । त्यसतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update