
आज राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष असोज १ गतेलाई राष्ट्रिय विज्ञान तथा प्रविधि दिवसको रूपमा मनाउने गरिन्छ । नेपालमा पहिलो पटक २०७० असोज १ गते विज्ञान दिवस मनाइएको थियो । विज्ञान प्रविधिको दिनानुदिन बढ्दो महत्व एवं राष्ट्र विकासमा विज्ञान तथा वैज्ञानिकहरूले पुर्याउन सक्ने योगदानलाई ध्यान दिएर नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो । यसको मुख्य उद्देश्य जनमानसमा वैज्ञानिक चेतना प्रादुर्भाव गर्नु, विद्यार्थीहरूमा विज्ञान प्रविधिप्रति चासो बढाउनु, राजनीतिक र कर्मचारीतन्त्र तथा सामाजिक दृष्टिकोणमा विज्ञानप्रति विशेष अभिरुचि जगाउने रहेको छ । यसले विज्ञान प्रविधिको अनुसन्धान तथा विकासलाई पनि महत्व दिने गर्दछ । दिवसमा सरकारी, गैरसरकारी निकायहरू तथा विश्वविद्यालयहरूले आफ्ना दृष्टिकोण, लक्ष्य, विचारहरू प्रस्तुत गर्ने र विज्ञानसँग आवद्ध क्रियाकलापलाई प्रस्तुत गर्ने छन् ।
नवीनतम् विज्ञान र प्रविधिद्वारा समुन्नत समाज निर्माणमा २१ औं शताब्दीको विश्व अघि बढिरहेको छ । यही मानवीय र सामाजिक आवश्यकतालाई परिपूर्ति गर्न यो दिवसले महत्वपूर्ण टेवा पु¥याउँछ । विज्ञानकै माध्यमद्वारा वर्तमान समाजलाई सु–सूचित गराउँदै प्रविधिमूलक शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्र समृद्धि हासिल गर्नु गराउनु यस दिवसको प्रतिकात्मक सन्देश रहेको छ । पछिल्लो समयमा वैज्ञानिक प्रगतिलाई उचित तरिकाले उपयोग गर्न नसकेकै कारणले विश्वमा कतिपय मुलुकमा राजनीतिक भविष्य अन्यौलमा परेको छ । मुलुकको ध्रुवीकरण र विज्ञानको गलत प्रयोगले मानव अधिकारको हनन् र आतंकवादको श्रृंखला समेत बढेको छ । यस्तो अवस्थामा प्रभावकारी ढङ्गले हरेक वर्ष राष्ट्रिय विज्ञान दिवस मनाउन सके यसले निश्चय पनि नेपाली समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्न मद्दत पुर्याउनेछ । अन्यथा यो दिवस पनि अन्य धेरै प्रकारका वार्षिक दिवसजस्तै प्रभातफेरी वा शहर परिक्रमा जस्ता औपचारिकतामा मात्र सीमित हुनेछ ।