Shittalpati
लकडाउन र कुखुरा व्यवसाय

लकडाउन र कुखुरा व्यवसायलकडाउनका कारण कृषक सबैभन्दा बढी मारमा परेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण कृषकहरु संकटमा छन् । महामारीले गर्दा मानवमा त्रास पैदा गरेको छ । हामी आफ्नो दायित्व कसरी पूरा गर्ने हामीमै निर्भर छ । त्यसैले हामी सबै सचेत हुनुका साथै आफ्नो दायित्वप्रति इमान्दार पनि हुनुपर्दछ । भोलिका दिनमा देशमा हुने कृषि उत्पादनमा कमीप्रति हामी अहिलेदेखि सचेत हुनुपर्दछ । आज हामी बेखबर भएर बस्यौँ भने भोलि समयले हामीलाई साथ दिनेछैन । कृषि क्षेत्रको लागि सरकारले दिनुपर्ने निर्देशन र गर्नुपर्ने कामहरुको थालनी तुरुन्त गर्नुपर्ने देखिन्छ । वर्तमान परिस्थीतीमा कृषकले उत्पादन गरेका माछा, मासु, तरकारी र दूध लगायतका वस्तुहरु उपभोक्तासम्म पुर्‍याउन कठिन देखिन्छ ।

यो समस्या समाधानका लागि किसानहरुलाई न्यूनतम मूल्य दिएर उनीहरुको उपज खरिद गरी बजारीकरण र विश्वसनीय वातावरणमा विक्री गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । यसले गर्दा किसानहरु उत्साहित हुने छन् र उनीहरु नियमित कृषि कार्यमा लाग्ने छन् । कृषि उत्पादनको लागि चाहिने बीउबिजन, मलखाद, दाना र औषधी समयमै कृषकको थलोमा पुग्यो भने आउँदा दिनमा कृषि उत्पादनमा कम असर पर्नेछ । कृषिका विभिन्न क्षेत्रमध्ये कुखुरा व्यवसाय पनि एक प्रमुख क्षेत्र हो । मासुको सहज आपूर्ति र सेवनबाट नेपाली नागरिकलाई स्वस्थ रहन चाहिने प्रोटिन, भिटामिन जस्ता पोषण प्राप्त हुन्छ । यसले खासगरी कुपोषणबाट जोगाउँछ ।

मासुले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति बढाउन शरीरलाई मद्दत गर्दछ । स्वास्थप्रति नागरिकहरुको सजकताको कारण देशमा मासुको माग दिनानुदिन बढिरहेको छ । तर लकडाउनका कारण कुखुरा र अण्डाको विक्रीमा समस्या भएपछि कुखुरा पालक कृषकहरु यतिबेला चिन्तित बनेका छन् । घरखेत धितो राखी ऋण निकालेर कुखुरापालन व्यवसायमा लागेका कुखुरापालक कृषकहरु दाना नपाईनु र भएका कुखुराहरु समेत विक्री नहुँदा चिन्तित छन् । तसर्थ तीनै तहका सरकारहरुले कृषकहरुले उत्पादन गरेका कुखुराहरु बजारसम्म पुर्‍याउने र दाना सहजै उपलब्ध गराइदिने वातावरण सिर्जना गरिदिनु पर्छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update