Shittalpati
घरमै बसौं

विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा संक्रमित हुनेको संख्या १६ पुगेको छ । पछिल्लो समय दिनहुँजसो नेपालमा संक्रमित देखा पर्न थालेका छन् । यसले गर्दा २४ दिन हुँदा समेत बन्दाबन्दीबाट मुलुकले तत्काल पार पाउने स्थिति देखिएको छैन । जसले गर्दा सरकारले पुनः बैशाख १५ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । संक्रमित व्यक्तिहरूको पहिचान चाँडै गरी उपचार गराउने र थप विस्तार हुन नदिन बन्दाबन्दीको अवस्थामा मुलुकलाई राखिएको हो ।

प्रत्येक साताजस्तो संख्या थपिइरहेको स्थिति अब दैनिकीमा आइसकेको छ । संक्रमणको खतरा हामीबाट अझै टरेको छैन । यो संक्रमणबाट मुलुकलाई जोगाउने एकमात्र उपाय भनेको ‘सामाजिक दूरी’ कायम गर्ने र घरमै बस्ने नै हो । यो दूरी व्यक्ति–व्यक्ति बीचको मात्र होइन परिवार, समाज, वडा, क्षेत्र, प्रदेश हुँदै विदेशसम्म पनि हो । हामीले यतिबेला संक्रमण फैलिन नदिन व्यक्तिसँगको दूरी कायम राखे पनि अन्तर्राष्ट्रिय आयाम समयमा बुझ्न नसक्दा संकटमा पर्ने देखिँदैछ । पहिलो, नेपालमा अन्तर्राष्ट्रिय उडान रोक्न साह्रै ढिला भयो । दोस्रो, छिमेकी भारतसँगको सम्बन्धका आयामलाई विचार गरी त्यताबाट हुने संक्रमणबाट जोगिन यथेष्ट प्रयत्न भएन ।

मुलुकमा देखिएका संक्रमितका आधारमा यी कुरा प्रष्ट नै छन् । नेपालमा पनि कोरोना संक्रमण देखा परेपछि सरकारले सावधानी पूर्वक लकडाउन गरेको छ । सरकारले गरेको स्वागत योग्य कामलाई हामी सबै नेपालीले पालना गर्नैपर्छ । सरकारले सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन आव्हान गरेको छ । यो आह्वानलाई सबैले आत्मसाथ गर्न जरुरी छ । लकडाउनको समयमा कोहि पनि अनावश्यक रूपमा बाहिर नहिडी, आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्न सके मात्र कोरोना भाइरससँगको लडाइँ जित्न सकिन्छ ।

सरकारले गरेको कामलाई स्वागत योग्य ठान्दै यसलाई फैलन नदिन घरमा नै बस्ने, अनावश्यक रूपमा भिडभाडमा नजाने, साबुन पानीले राम्रो सँग हात धुने, सेनिटाइजर लगाउने, पञ्जा, माक्सको नियमित प्रयोग गर्ने, खोक्दा वा हाँछौं गर्दा रुमाल वा कुहिनो मुनि लगाएर गर्ने, संक्रमण देखिएमा तुरुन्तै अस्पताल गएर जचाँउने काममा सबैले ध्यान पु¥याउन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update