Shittalpati
पाल्पाका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्छौं  : गठबन्धन उम्मेदवार

पाल्पा, सत्ता गठबन्धनका उम्मेदवारहरुले पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकास गर्ने बताएका छन् । उनीहरुले जिल्लाका थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु रहेकाले तिनीहरुको पहिचान गरी विकास गर्ने बताएका हुन् ।

पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार सोम प्रसाद पाण्डेयले दर्लमडाँडाको दर्लममहाकाली मन्दिर, राम्दीको सिद्धगुफा, सुनगुफा लगायतका ऐतिहासिक गुफा र मन्दिरको महत्व काठमाण्डौंको पशुपति नाथसँग जोडिएको भन्दै त्यसै अनुरुपको गुरुयोजना बनाएर धार्मिक पर्यटकीय विकासमा लाग्ने बताए । बुधबार खानीछाप, दर्लमडाँडा, भालेवास, गुडुवाखोला, दर्लमडाँडाको दर्लम महाकाली, कोल्डाँडा, गरन्डाँडा लगायतको क्षेत्रमा आयोजित घरदैलो तथा सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । पाण्डेयले आफूले २०५२ सालमा बनाएको चिलाङ्दी राम्दी सडकको स्तरउन्नती र कालोपत्रे गर्ने काममा ठेकेदारले लापरवाही गरेकोले अर्को ठेकेदार परिवर्तन गरेर भएपनि दुई वर्षभित्र पिच गरेर छाड्ने प्रतिवद्धता जनाए । उनले आफूले पटक पटक बजेट व्यवस्थापन गरेको चिलाङदी–राम्दी सडकको स्तरउन्नती र पिच ठेकेदारको लापरवाहीले हुन नसकेको ठेक्का अर्कोलाई दिने गरी मन्त्रालय र सम्बन्धित क्षेत्रमा आफूले पहल गरिरहेको बताए । दर्लमकालिका मन्दिरलाई राम्दीको सिद्धगुफालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी काठमाण्डौंको पशुपति र यहाँ जोड्ने काम आफूले नै सुरु गर्ने बताए । पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डेयले कालिगण्डकी करिडोर क्षेत्रलाई व्यवस्थित गरेर कृषि र आयआर्जनमा लगाउने बताए । सिंचाई, खानेपानी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत काम गरेको भन्दै अब केही छुटफुट समस्या भएमा एकिकृत योजना बनाएर कार्यान्वय गरिने प्रविद्धता जनाए ।

प्रदेश सभा (२) १ का उम्मेदवार बीरबहादुर रानाले दलर्मडाँडा र खानीछापको विकासमा आफूले सक्दो पहल गरिरहको र अझै पनि आफूले यही क्षेत्रको हावापानीमा हुर्किएको भएर यहाँका जनताको सुख, दुखमा सदैव साथ र सहयोग गर्न तयार रहेको बताए । उनले आफू सिंचाई मन्त्री भएपछि यस क्षेत्रको सिंचाई, खानेपानी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गरेकोले अझै केही अपुग भएमा योजना बनाएर ल्याउन र त्यसलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता समेत जनाए । लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री समेत रहेका रानाले जनताको अवस्था बदल्न र उज्यालो प्रदेश बनाउन जनताको सेवक भएर राजनीतिमा लागेको भन्दै पाल्पावासीको सेवकका रुपमा निरन्तर लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सिंगो लुम्बिनी प्रदेश र पाल्पालाई उज्यालो बनाउने आफ्नो लक्ष्य रहेको मन्त्री रानाले बताए । जनताको अवस्था बदल्न र उज्यालो प्रदेश बनाउन भ्रष्ट प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा उनको छ । भ्रष्ट्राचार अन्त्य नगरेसम्म मुलुक बनाउन सकिँदैन मन्त्री रानाले भने, ‘भ्रष्टाचारीको मूलजरो उखेल्न मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनले जित्न नै पर्नेछ ।’ कार्यक्रममा नेपाली काँग्रेसका सचिव सुनिता अधिकारी, युवा नेता कृष्ण प्रसाद बस्याल, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय, माओवादी केन्द्रका नेता खुम बहादुर विक लगायतले गठबन्धनको पक्षमा मत दिन र संविधान माथि भएको हस्तक्षेपको रक्षा गर्न गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए ।

 

उता पाल्पा क्षेत्र नं. (२) २ का उम्मेदवार तुलाराम घर्ती मगर बसन्तले जिल्लाको पालुङ्मैनादीमा सुन्तला र सुर्सानीको पाकेट क्षेत्र विकास गरी युवालाई गाउँमै स्वरोजगार गर्ने बताएका छन् । रिब्दीकोट गाउँपालिकाको पालुङ्ग, बतासे, मैनादी, डबका लगायतको क्षेत्रमा घरदैलो तथा सभामा बोल्दै प्रदेश सभा सदस्य तुलाराम घर्तीले रिब्दीकोटको पालुङ्गमैनादी सुन्तला, अदुवा र खुर्सानीको उर्वर भूमिको रुपमा रहेकोले त्यस क्षेत्रको किसानलाई थप विकासमा सहयोग गरिने बताए । कृषि, पशुपालन र तरकारी खेतीका माध्यमबाट गाउँमा समृद्ध र आत्मनिर्भरताको लागि अहिले आफ्नो उम्मेदवारी रहेको बताए । उनले आफूले पहिलो पटक प्रदेश सांसद हुँदा प्रदेश कृषि मन्त्रालयबाट समन्वय गरी गाउँपालिका मार्फत थुपै्रै कृषि र पशुपालन सम्बन्धि कार्यक्रमहरु ल्याएको बताउनुभयो । त्यसस्तै एकिकृत विकासको योजनालाई साकार पार्न फेरी आफू उम्मेदवार बनेकोले बहुमत दिएर विजयी बनाउन मतदाताहरु समक्ष अनुरोध समेत गरे । उनले आफन प्रतिस्प्रर्धामा रहेको उम्मेद्वारले आफूले प्रदेशबाट ल्याएका करोडौंका आयोजना गाउँपालिकाको अध्यक्ष हुँदा कामै नगरेर फिर्ता पठाएकोले उहाँसँग कुनै पनि किसिमको विकासको योजना समेत नरहेको बताए । तिनाउ र रिब्दीकोट र रैनादेवी क्षेत्रमा आफूले प्रदेशबाट पाँच वर्षमा एक अर्व बढीको बजेट निकासा गरेकोले त्यसको सहि रुपमा कार्यान्वयन र सम्पन्नको लागि आफू पुनः उम्मेदवार बनेको बताए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य पुरन विक, अनिल किशोर घिमिरे, जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, काँग्रेसका नेता राम बहादुर कार्की, राम कार्की लगायतले गठबन्धनको पक्षमा जनलहर आएकोले संविधानको रक्षा र विकासको लागि गठबन्धनलाई मत दिन आग्रह गरे ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update