Shittalpati
कालीगण्डकी करिडोरलाई जनताको आर्थिक उपार्जनसँग जोड्छौं : गठबन्धन उम्मेदवार

पाल्पा, पाल्पा क्षेत्र नं. २ का सत्ता गठबन्धनका उम्मेदवारहरुले कालीगण्डकी करिडोरलाई जनताको आर्थिक उपार्जनसँग जोड्ने बताएका छन् । मंगलबार उनीहरुले बगनासकाली गाउँपालिका वडा नं. ७ को चापखोला, मैदानवारी, झाँक्रीस्थान, टाँकीचौर, दैलातुङ्ग, यम्घाको सिखरडाँडा, मन्द्रान लगायतका क्षेत्रमा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रतिनिधि सभाका उम्मेदवार सोम प्रसाद पाण्डेयले कालीगण्डकी करिडोरलाई यस क्षेत्रको जनताको आर्थिक उर्पाजनसँग जोड्ने बताए । जिल्लाको बगनासकाली गाउँपलिकाको विभिन्न क्षेत्रमा भएर जाने कालीगण्डकी करिडोर क्षेत्रका जनताको स्थानीय उत्पादनको बजारीकरण गरी आर्थिक विकास गर्ने गरी यहाँको सडकलाई उपयोग गरिने प्रतिवद्धता जनाए ।उनले कालीगण्डकी करिडोर क्षेत्रको स्तरउन्नती र कालोपत्रे गर्ने काम तत्कालै गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । उनले आफू सांसद हुँदा आफ्नै पहलमा पाल्पादेखि मुस्ताङसम्मको सांसदको डेलीकेशन र पहलमा भएको कालीगण्डकी करिडोरले यस क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले करिडोरसँग जोडिएको बस्तीलाई कृषि, पशुपालन र उद्यममा जोडेर यस क्षेत्रको जनताको जीवनस्तरमा परिवर्तन ल्याउने पनि बताए । नेता पाण्डेयले राम्दी जोड्ने मोटरबाटो, दोवाटे–दैलातुङ्ग मोटरबाटोलाई कालोपत्रे गर्ने, दैलातुङ्गमा होमस्टे सञ्चालन गरेर पर्यटनको विकास गर्ने, रानीमहल क्षेत्रको थप प्रभावकारी व्यवस्थापन गर्ने, उर्लेनी–स्कुले मोटरबाटोको विस्तार, मग्रान सिंचाई आयोजनलाई पूर्णता दिने समेत बताए ।

पूर्व मन्त्री समेत रहेका नेता पाण्डेयले दैलातुङ्गको बोटे समुदायमा जनता आवास कार्यक्रम मार्फत सबैको घर निर्माण गरी उनीहरुलाई आय आर्जनका कार्यक्रममा जोड्ने बताए । पाल्पाको विकासका लागि आफू लामो समयदेखिको अनुभवी जनप्रतिधि भएकाले विकासको खाकालाई देशभर लैजान फेरी जनप्रतिनिधि हुन मैदानमा उत्रिएको बताउँदै नेता पाण्डेयले विकास र समृद्धिको लागि गठबन्धनलाई मत दिन मतदाताहरुलाई आग्रह गरे । यस्तै पाल्पा क्षेत्र नं. (२) १ का प्रदेश सभा सदस्य पदका उम्मेदवार वीरबहादुर रानाले बगनासकालीको खानीगाउँ र दैलातुङ क्षेत्रमा विकासको लागि कालीगण्डकी करिडोरलाई जोड्ने बताए । बोटे, दलित समुदायको आर्थिक अवस्था वृद्धिको लागि रोजगारीको कार्यक्रम सञ्चालन गरिने पनि उनले बताए । उनले आफू यस क्षेत्रबाट प्रतिनिधि भएर सिंचाई मन्त्री भएपछि यस क्षेत्रको कृषि, पशुपालन, शिक्षा, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा धेरै योजनाहरु ल्याएको र कतिपय सम्पन्न भइसकेको तर केही बाँकी रहेकाले त्यसलाई मूर्त रुप दिएर समृद्ध बगनासकाली निर्माण गर्ने मुख्य ध्येय रहेको बताए । उनले यम्घाको सिता मावि, गुँगा मावि, खानीगाउँमाविमा शिक्षाको गुणस्तर वृद्धि र प्राविधिक शिक्षाको विकासमा ध्यान दिने बताए । उनले बगनासकालीका विभिन्न क्षेत्रमा बाँदरले आतंक मच्चाएको गुनासो आएको बाँदर र जंगली जनावरको कारण गाउँनै विस्थापित हुनुपरेको भन्दै त्यसको दीर्घकालिन र बैज्ञानिक व्यवस्थापनसँगै बाँदर नियन्त्रणमा समेत आफूले योजना बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाली काँग्रेसका सचिव सुनिता अधिकारी, गुन बहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्रका संयोजक नेत्र प्रसाद पाण्डेय लगायतले गठबन्धनको पक्षमा मत दिन आग्रह गरे । यस्तै उम्मेदवार रानाले तानसेन नगरपालिका–४ मा वडा भेलाई पनि सम्बोधन गरेका छन् । उनले तानसेनको खानेपानी समस्या समाधानमा दीर्घकालीन योजना बनाएर आफुु अगाडि बढेको बताए । उनले यहाँका पानीको समस्याम छिट्टै समाधान हुने बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता माधव नेपाल , काँग्रेस नगर सभापति सुवर्णमुनी शाक्य, नेपाल महिला संघकी सभापति गंगा पौडेल, काँग्रेस वडा सभापति सुरेन्द्रमान कर्मचार्य लगायतले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

यस्तै गरी पाल्पा क्षेत्र नं. (२) २ का सांसद तुलाराम घर्ती मगरले रिब्दीकोटको फेक, ठिमुरे, कुशुमखोला लगायतको क्षेत्रमा घरदैलो गरेका छन् । उनले यस क्षेत्रको ऐतिहासिक रिव्दीकोट, पूर्णाकोट लगायतका पर्यटकीय गन्तव्यहरुको विकास, रिब्दीकोट, फेक, ठिमुरे लगायतका क्षेत्रमा कबुलियती वन कार्याक्रम मार्फत जनतानलाई आय आर्जनमा लगाउने बताए । नेकपा माओवादीका पोलिटव्यूरो सदस्य समेत रहेका घर्तीले रिब्दीकोट, तिनाउँ, रैनादेवी छहराको विकासमा आफूले जति काम विपक्षीले गर्न नसक्ने आफू निर्वाचित भएपछि विकासका बाँकी काम सम्पन्न गरेर आर्थिक र सामाजिक रुपान्तरणमा अगाडि बढाउने बताए । कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य पुरन केसी, अनिल किशोर घिमिरे लगायतका नेताले गठबन्धनलाई मत दिन आग्रह गरे ।

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update