Shittalpati
पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा दलहरु आफैँले मतदाता शिक्षा दिन थालेका छन् । बदर मतको संख्या कम गर्नका लागि वाम–लोकतान्त्रिक गठबन्धन दलले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्दै छ । गठबन्धन दलले मतदाता शिक्षाका लागि कार्यकर्तालाई टोल–टोलमा नमूना मतपत्रसहित पठाउने तयारीमा रहेको छ ।

निर्वाचन आयोगले मतदाता शिक्षालाई जोडतोडका साथ लैजान नसेका बेला गठबन्धन दल नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले भने गाउँ–गाउँमा पुुर्‍याउन थालेका हुन् । गठबन्धन दलले मंगलबार मतदाता शिक्षाका लागि तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकामा खटिने व्यक्तिहरुलाई प्रशिक्षण दिएको छ । उसले आज रैनादेवी छहरा गाउँपालिका र रिब्दीकोटमा प्रशिक्षण दिने छ । बाँकी स्थानीय तहमा छिट्टै दिने तयारीमा रहेको नेपाली काँग्रेस पाल्पाले जनाएको छ । निर्वाचनको प्रचारप्रसारसँगै मतदाता शिक्षाका लागि हरेक वडामा व्यक्तिहरु खटाउने गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठले बताए । निर्वाचन आयोगले मतदाता शिक्षालाई समेत राजनीतिक दलको काँधमा राखिदिएकाले मतदाता शिक्षा दिन दल आफैले कार्यकर्ता खटाउनुपरेको सभापति श्रेष्ठको भनाइ छ ।

प्रशिक्षण दिएका बगनासकाली र तानसेनमा आजदेखि कार्यकर्तालाई मतदाता शिक्षाका लागि जनताको घरदैलोमा पठाइएको उनले बताए । सभापति श्रेष्ठले भने, ‘निर्वाचनका लागि आयोगले दिएको प्रचार–प्रसारको समयसीमाभित्र मतदाता शिक्षाका लागि कार्यकर्ता खटाउने तयारीमा रहेका छौँ ।’ आम नागरिकले मतदानमा भाग लिन पाउने राजनीतिक अधिकार संरक्षणका लागि मतदाता शिक्षा दिन लागेको सभापति श्रेष्ठले बताए । पहिले दूरदराजका ग्रामीण मात्र नभएर सहरी इलाकाहरूमा समेत बदर मत संख्या बढेको देखिँदा मतदाता शिक्षा आवश्यक रहेको उनको भनाई छ । उनले भने ‘हरेक मतदाताको मतदान वैध हुनुपर्छ, मतदान प्रक्रियामा उत्साहजनक सहभागिता हुनुपर्छरु। मतदाता शिक्षाले नै मतदाताको क्षमता अभिवृद्धि हुन्छ र मतदान प्रक्रियामा सहभागी हुने मनोबल उच्च पार्छ ।’ कार्यकर्ताहरुलाई नेपाली काँग्रेसका महासमिति सदस्य तथा बुथ व्यवस्थापन समितिका संयोजक राम बहादुर कार्की,काँग्रेसका जिल्ला सदस्य माधव थापाले प्रशिक्षण दिएका छन् । निर्वाचनको समयमा हुन सक्ने दलको चुनाव चिन्ह बारे प्रभावकारीता कायम राख्न र मतदान देखिएको चुनाव चिन्हको अन्योलता कम गर्न तालिम प्रदान गरिएको प्रशिक्षक कार्कीले बताए । मतदान कसरी गर्ने र आफ्नो मत कसरी सुरक्षित गर्ने भन्ने विषयमा मतदाता शिक्षामा खटिएकाले सिकाउने छन् । यता जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको समन्यवमा १८ गतेदेखि वडा वडामा मतदाता शिक्षा दिने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए ।

निर्वाचनको मितिभन्दा १५ दिन पहिला मतदाता शिक्षा दिन लागिएको हो । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र वडामा वडा सचिवको नेतृत्वमा रहने समितिले निर्वाचन शिक्षा दिने छन् । वडा सचिवले मतदाता शिक्षाका लागि स्वयंसेविका नियुक्ति गरी निर्वाचन शिक्षा दिने उनले जानकारी दिए । वडा सचिव र स्वयंसेविकाले वडाको टोल तहमा पुगेर मतदाता शिक्षा दिनेछन् । उनीहरुले मतदान कसरी गर्ने र आफ्नो मत कसरी सुरक्षित गर्ने भन्ने विषयमा जानकारी गराउने उनले बताए । निर्वाचन कार्यालयले अनुगमन अधिकृतहरुलाई मंगलबार प्रशिक्षण समेत दिएको छ । दुई प्रतिनिधि र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल १ सय १८ मतदान केन्द्र रहेका छन् भने २ सय ४६ मतदानस्थल रहेको छ । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी, सुरक्षा केन्द्रसम्मको पहुँचलाई विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि सुरक्षा समितिले मतदान केन्द्रको वर्गीकरण गरेको हो । समितिले २९ वटा मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशिल सूचिमा रहेको जनाएको छ । यस्तै ५० वटालाई सम्वेदनशील र ३९ वटालाई सामान्यमा राखेको छ । यहाँ १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष गरी २ लाख १ हजार ३ सय २६ मतदाता रहेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update