Shittalpati
अस्ताए नेपाली राजनीतिका जिउदा सहिद घिमिरे 

पाल्पा, नेपाली राजनितिमा जिउदो शहिदले परिचित विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा बिहीबार बेलुकी निधन भएको हो ।

पाल्पाको रामपुरमा जन्मिएका घिमिरे लामो समय नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहदै आएका थिए । २०४६ सालमा जनआन्दोलन पहिलो दिन फागुन ७ गते रामपुरमा जनप्रदर्शनको नेतृत्व गरेका उनलाई प्रहरीले गोली प्रहार गरेपनि नलागी संगैका आफ्नै दाजू सुर्य घिमिरेलाई लागेको थियो । गोलि लागेर उनका दाजुको मृत्यु भएको थियो भने विजय बाँच्न सफल भएकाले उनलाई जिउदो सहिद भन्ने गरिएको थियो ।
त्यतिबेला २१ बर्षको उमेरमा आन्दोलनको नेतृत्व गरेका घिमिरे त्यसपछि पनि लगातार राजनीतिमै सक्रिय रहे । पाल्पा क्षेत्र नं. १ मा दुई पटक संघीय सासदका लागि उम्मेदवार बनेका उनलाई २०४४ सालमा रामपुरमा भएको पाटिको पुर्नमिलन कार्यक्रममा तत्कालिन शासकहरुले आक्रमण गरेर मर्यो भनेर फालेका थिए । पछि लाश ल्याउन गएका सहयोद्धाहरुले जिवितै भेटेपछि तत्काल उपचार गर्न दौडाएर घिमिरेले पुर्नजीवन पाएका थिए ।

घिमिरे २०४८/०४९ मा कांग्रेसको जिल्ला सचिव, नेविसंघको जिल्ला सचिव र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियू सचिव भएका थिए । २०५० सालमा चाटर्ड एकाउन्टेन्ट अध्ययन गर्न भारत गएका घिमिरे पढाई सकेर नेपाल फर्केलगत्तै पुनः राजनीतिमा होमिएका हुन् । उनी पछिल्लो समयमा काठमाडौं बस्दै आएका थिए । घिमिरे क्यान्सरबाट पिडीत भएपछि भारतको एक अस्पतालमा उपचार गराउदै आएका थिए । उपचार गराएर केही हप्ता अघि काठमाडौ फर्किए घिमिरेलाई केही दिन अगाडि फेरी स्वास्थ्यमा समस्या आएपछि काठमाडौस्थीत मेडिसिटी अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । घिमिरेको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको नेपाली कांग्रेसको पाल्पाका सभापती हिमालदत्त श्रेष्ठले बताए । उनको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने सभापती श्रेष्ठले शितलपाटी डटकमलाई बताए । कांग्रेस पाल्पाका नेता तथा कार्यकर्ताहरु उनको अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौ पुगेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update