कृष्ण पोखरेल
पाल्पा, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी एमालेले चुनावी प्रशिक्षणलाई तिव्रता दिएको छ । उसले आफ्ना उम्मेदवारहरुलाई निर्वाचनमा विजयी बनाउने उद्देश्य सहित चुनावी प्रशिक्षणलाई तिव्रता दिएको हो । एमालेले रम्भा गाउँपालिकामा पालिका स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम गरेको छ । आउँदो मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरेर एमाले रम्भा गाउँपालिकाले पार्टी प्रशिक्षण गरेको हो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले ५ दलिय गठबन्धनबाट राष्ट्रियता कमजोर पारिएको बताए । उनले गठबन्धनले मँहगी बढाएको, संविधान विपरितका गतिविधीहरु गरेको, व्यापारीहरुसँगको मिलेमोतोमा करका दरहरु हेरफेर गरी देशका उद्योग,व्यवसायलाई धरासायी बनाएकाले आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न पार्टी कार्यकर्ताहरुलाई अनुरोध गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सचिवालय सदस्य नारायण प्रसाद आचार्यले पाल्पा क्षेत्र नंं. १ मा एमाले सरकारबाट विकास निर्माणका गतिविधीलाई प्राथमिकता दिएको, आफ्नो पहलमा प्रदेश सरकारबाट विभिन्न क्षेत्रका खोला नाला तथा कालीगण्डकीमा पक्कीपुल निर्माण गरी यातायात क्षेत्रमा सजिलो बनाएको, खानेपानी, कृषि तथा पशु उत्पादनमा आधुनिकरणसँगै आयआर्जनमा वृद्धि गराएको बताए । आचार्य पाल्पा क्षेत्र नंं १ बाट प्रतिनिधीसभा सदस्यका लागि पाल्पाबाट सिफारिसमा परेका छन् । कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष देवीलाल लामिछाने, क्षेत्र नंं १ कमिटीका अध्यक्ष विमल काफ्लेले जनताको सुख दुखमा साथ दिने पार्टी एमाले भएकाले एमालेका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गरे । कार्यक्रममा जिल्ला कमिटी सदस्य नुनबहादुर थापा, विष्णु प्रसाद भण्डारी लगायतले वृद्ध भत्तादेखी, आफ्नो गाउँ आफै बनाउ जस्ता कार्यक्रमहरु एमालेले गरेको बताए । नेकपा एमाले रम्भा गाउँ कमिटीका अध्यक्ष योगेन्द्र गैरेको अध्यक्षत, गाउँ कमिटी उपाध्यक्ष उमानसिंह सारुको स्वागत र सचिव विजय रानाभाटको सञ्चालनमा कार्यक्रम भएको थियो ।


