Shittalpati
पाल्पा संघीय निर्वाचन : कसले मार्ला वाजी ?

पाल्पा,
विवश
प्रदेश र संघीय निर्वाचनको मिति नजिकिए संगै पाल्पामा चुनावी चहल पहल बढेको छ । चुनावी माहोल संगै यहाँका राजनितिक दलका नेताहरु उम्मेदवार बन्न तछाड मछाड गरेका छन् । बिशेषगरि एमाले, काँग्रेस, एकीकृत समाजवादी र माओवादिका उम्मेदवार हुन आँकाक्षी नेताहरु टीकट ल्याउँने कसरतमा लागेका छन् । पाल्पा क्षेत्र नम्वर २ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रभावशाली नेता सोमप्रसाद पाण्डेले आफुले उम्मेदवारी पाउँनुपर्ने मागलाई प्राथकिता दिएका छन् । उनी यस अघि एमालेबाट यस क्षेत्रमा निर्वाचित साम्सद समेत हुन् ।

पाण्डे एमालेबाट पटक पटक निर्वाचित भए पनि अहिले उनी नेकपा एकीकृत समाजवादिमा छन् । उता गठबन्धनबाट नेपाली काँग्रेसका प्रभावशाली नेता तथा उर्जा,जलस्रोत तथा सिचाई मन्त्री वीरवहादुर राना पनि प्रवल दावेदार हुन् । पुर्वमन्त्री पाण्डेको तुलनामा राना पाल्पा क्षेत्र २ को संघीय निर्वाचनका लागि बलीया दावेदार भएको आम मतदाता बताउँछन् । पाण्डे एमाले पार्टी विभाजन नहुदा सम्म अत्यन्तै प्रभावशाली मानिएता पनि पार्टी विभाजन पछि उनी कमजोर हुन्दै गएको बिश्लेषकहरु बताउँछन् । मन्त्री राना पाटी सभापती हुँदा होस् वा साम्सद र मन्त्री हुँदा नै किन नहोस् उनी पाल्पाली जनतासामु निकट रहेर काम गर्दै आएकाले पनि उनी लोकप्रिय नेताकारुपमा देखिन्छन् । उता अखिलको केन्द्रीय अध्यक्ष समेत भई सकेका र हाल सम्म पनि पाण्डेको छायामा पर्दै आएका नेकपा एमालेका ठाकुर गैरे प्रति यो पटक भने जनमोह बढेको छ । उनी यस क्षेत्रमा एमालेबाट एकल सिफारिसमा परेका छन् । यसकारण पनि क्षेत्र २ को संघीय निर्वाचनमा यस पटकका राना र गैरे बीचको कडा प्रतिस्पर्धा हुने धेरैले आंकलन गरेका छन् । सांसद पाण्डेका पक्षमा भएको विद्धमान जनमतले विजयी यात्रा तय गर्न गारो पर्ने भएका कारण रानालाई प्रत्यक्ष र पाण्डेलाई राष्ट्रिय सभामा लैजाने विषय सान्दर्भिक हुने राजनैतिक विश्लेषकहरुको भनाई छ । पुर्व गर्भनर चिरन्जिवी नेपालको संघीय साम्सदमा उम्मेदवारी दावा भएता पनि उनी अरुको तुलनामा कमजोर छन् । पुर्वसांसद हरिप्रसाद नेपाल पटकपटक उम्मेदर भैसकेको भन्नेहरुको संख्या बढेको पाईन्छ ।

यस्तै क्षेत्र १ को अवस्था पनि अहिले अत्यान्तै तरल देखिन्छ । नेपाली काँग्रेसका सांसद उद्योगपति विनोद चौधरीलाई काँग्रेसले चुनाव लडाउँदै छ भन्ने चर्चा पनि छ । उता एमालेका दलबहादुर रानाको मात्रै पेवा होईन, यो पटक एमालेबाट पनि उम्मेदवार परिवर्तन गर्नुपर्छ भन्ने भनाईहरु पार्टी भित्रै पनि आई रहेका छन् । एमालेका राधाकृष्ण कंडेल, नारायण आचार्यको नाम चर्चामा छ। गठवन्धन तर्फ काँग्रेसका ज्ञानवहादुर गाहा, देवराज ढकाल,दानवहादुर पछाई, सन्दीप राना टीकटको दौडमा छन् । यस क्षेत्रमा एमालेको दवदवा हुदै आएको भएता पनि यो पटक गठवन्धनका तर्फबाट राम्रो उम्मेदवार दिन सक्ने हो भने एमालेको विरासत ढल्न सक्ने आँकलन विश्लेषकहरुको छ । नेपाली काँग्रेसको तर्फबाट चर्चामा रहेका विनोद चौधरीलाई काँग्रेसले प्रत्यक्षको उम्मेदवार बनाउँन सक्यो भने कडा प्रतिस्पर्धा हुने देखिन्छ । २०७४ को निर्वाचनमा एमाले, माआवादी केन्द्र बीचको गठबन्धनले वाजी मारेको भएता पनि मन मिलाएर अगाडि बढ्ने हो भने यो पटक पाल्पाका दुवै संघीय क्षेत्र क्षेत्र पाँचदलीय गठवबन्धनकै पोल्टामा पर्ने कुरा विश्लेषकहरुले औल्याएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update