Shittalpati
एमाले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य राख्छ : ज्ञवाली

हाम्रा संवाददाता
पाल्पा, नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य एमालेले मात्रै राख्न सक्ने बताएका छन् । पाल्पाको तानसेनमा भएका विभिन्न कार्यक्रममा बोल्दै नेता ज्ञवालीले एमालेसँग एक्लै चुनावमा लड्ने आँट र सामथ्र्य रहेको बताएका हुन् ।

प्रेस चौतारी नेपाल पाल्पाले आइतबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने ‘एक्लै चुनाव लड्ने र एक्लै जनमत लिने हिम्मत एमालेको मात्रै छ । अरु दलमा छैन्।’ गठबन्धनका नाममा एमालेले चुनाव नलड्ने उनले बताए । उनले भने ‘अगाडि बढ्दै जाँदा एजेण्डा मिल्ने कोही सहयात्री साथीहरु भेटिएमा स्थानीय तहमा सहकार्य हुन सक्ने कुरालाई ढोका बन्द गरेका छैनौ, तर गठबन्धनका नाममा राष्ट्रिय व्यापी रुपमा गठबन्धन गरेर जाँदैनौं ।’ जनताको शक्ति र सामथ्र्यका आधारमा एमालेले चुनाव जित्ने उनले दावी गरे । उनले गठबन्धनका नाममा चुवाव लड्नु नै लोकतन्त्रका हिसावले अनुचित भएको पनि बताए । नेता ज्ञवालीले नेपालमा आगामी निर्वाचनपछि देशको नेतृत्व कस्ले गर्छ भन्ने सुनिश्चिता नरहेको हुँदा देश कुन कार्यदेशामा जान्छ भन्ने नै अन्यौल रहेको पनि बताए । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै काम चलाउ हैसियतमा रहेको सरकारले संसद्को कार्यकाल लम्ब्याउनुलाई नैतिक र राजनीतिक दृष्टिले अनुचित हुने समेत बताए । उनले नवनिर्वाचित संसद्को पहिलो बैठक नबसेसम्म यही प्रतिनिधि र प्रदेशसभा कायम रहने र कार्यकाललाई लम्ब्याउने विषयमा एमालेको साथ कदापि नरहने बताए ।

नेता ज्ञवालीले नेकपा एमाले पाल्पाले तानसेनमा गरेको कार्यकर्ता प्रशिक्षणलाई समेत सम्बोधन गर्दै वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताहरूको अब को–को प्रधामन्त्री बन्ने भन्ने मै व्यस्त रहेको समेत बताएका छन् । उनले गठबन्धनका नेताहरु देश बनाउने भन्दा पनि आगामी पाँच वर्षसम्म बार्गेनि· गरी सत्ता हत्याउने छलफलमा बित्ने गरेको बताए । नेता ज्ञवालीले वर्तमान सत्ता गठबन्धनका नेताहरू राजनीतिक बेश्याबृत्तिमा लागेको समेत आरोप लगाए । एउटासँग मिलेर चुनाव लड्यो, अर्कोसँग मिलेर सरकार बनायो, जसलाई वर्ग शत्रु देख्यो, उसैलाई शिरमा राखेर हिँड्यो यो अवस्थाले कहिल्यै देशमा स्थिरता नहुने भएकाले एमालेलाई मतदान गर्न उप–महासचिव ज्ञवालीले कार्यकर्तालाई आग्रह गरे ।

सरकारले नीति तथा कार्यक्रममार्फत नै नेपालको ऊर्जा उत्पादन तथा व्यापारमा भित्री रुपमा भारतीय पक्षलाई भित्राएको रहस्य खुल्दै आएको उनले दाबी गरे । अहिलेका सत्ता गठबन्धनका नेताहरू संविधान, ऐन नियम कानुन मिची बल प्रयोग गरेरै भएपनि सत्ता हात पार्ने काममा लागिरहेको उनको भनाइ थियो । ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत गई विदेशी भूमिमा सत्ताको बार्गेनिङ्ग गरी आएका हुन् । देशका लागि यो भन्दा लाजमर्दो काम अरू हुनै सक्दैन,’ उनले भने । सरकारले संविधान, ऐन नियम कानुन मिचेर काम गर्दै आएको, प्रधानन्यायाधीशको महाअभियोग मुद्दा ६ महिनासम्म सरकारले लुकाएर राखेको, अब चुनावी मसला बनाउन अहिले पुनः बियूँत्याएको उनले आरोप लगाए ।

कार्यक्रममा नेकपा एमाले पोलिटिव्युरो सदस्य ठाकुर गैरेले सरकारले ल्याएको नागरिकता ऐनकै कारण बास्तविक नेपाली जनताहरु अल्पमतमा पर्दै जाने, सुरक्षा अंगदेखी सरकारका सबै तह र तप्कामा विदेशी नागरिकले प्राथमिकता पाउने गरी सत्ताको आसमा ५ दलिय गठबन्धनले नागरिकता विधेयक जवरजस्त रुपमा पारित गरेको बताए । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, सचिव रामजी पोखरेल, लुम्बिनी प्रदेश कमिटी सदस्य देवीप्रसाद बस्याल लगायतले पाल्पाको दुबै क्षेत्रमा एमालेको जित सुनिश्चत रहेको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update