Shittalpati
नेकपा एसद्वारा पाण्डेलाई प्रतिनिधी सभा सदस्यको उम्मेदवारमा सिफारिस

कृष्ण पोखरेल

पाल्पा ,आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी(एस) पाल्पाले सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नं. २ को प्रतिनिधीसभा सदस्य उम्मेदवारको रुपमा सोम प्रसाद पाण्डेलाई सिफारिस गरेको छ । सोमबार तानसेनमा पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले पाण्डेलाई सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नंं २ को प्रतिनिधी सभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको जिल्ला कमिटी सदस्य एवं पाटी प्रचार विभाग प्रमुख पदम गैरेले बताए । सिफारिस उम्मेदवार पाण्डे अहिले पनि पाल्पा क्षेत्र नं.२ को प्रतिनिधी सभा सदस्य रहेका छन् ।

सिफारिसमा परेको उम्मेदवार पाण्डे नेकपा एकिकृत समाजवादीका पोलिटिव्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष रहेका छन् । पाण्डेले २०५१, २०५६, २०७० र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नंं २ बाट प्रतिनिधी सभा सदस्यमा नेकपा एमालेबाट विजयी भएका थिए भने २०६४ को संविधान सभा सदस्यमा नेकपा माओवादी केन्द्रको उम्मेदवारसँग पराजित भएका थिए । पाण्डे पाल्पा क्षेत्र नंं २ को ५ दलिय गठबन्धनमा बलियो र दावेदार उम्मेदवार हुन् ।

समाजवादी पार्टीले सर्वसम्मत पाण्डेलाई सिफारिस गरे पनि ५ दलिय गठबन्धनमा भने सहमती हुन बाँकी रहेको छ । पाल्पा क्षेत्र नंं २ को प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसले पनि दावेदारी गर्दै आएको छ । पाल्पा क्षेत्र नंं २ को प्रतिनिधीसभा सदस्य दावेदारीको लागि नेपाली काँग्रेस पाल्पाको टोली पाटी अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरिसकेको छ । यसैगरी बैठकले प्रतिनिधी सभाको समानुपातिकतर्फ केन्द्रिय सदस्य यादव बहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ भने प्रदेशतर्फ महिला अल्प संख्यकमा रमा घर्ती मगर, दलितमा बल बहादुर सुनार र सर्वजित विश्वकर्मालाई सिफारिस गरेको छ ।

यसैगरी प्रदेश सभा तर्फ प्रत्यक्षमा क्षेत्र नंं १ क मा विनोद श्रेष्ठ, क्षेत्र नंं १ ख मा पदम अर्याल, क्षेत्र नंं २ क मा खिमानन्द पाण्डे कमल, क्षेत्र नंं २ ख मा झलक रायमाझीलाई उम्मेदवार सिफारिस गरेको छ । पार्टीले आफ्नोतर्फबाट उम्मेदवार सिफारिस गरे पनि ५ दलिय गठबन्धनको सहमती अनुसार अगाडि बढ्ने निर्णय बैठकले गरेको प्रचार विभाग प्रमुख गैरेले जानकारी दिए । यसैगरी पाल्पा क्षेत्र नंं २ को प्रतिनिधी सभा सदस्यको उम्मेदवारमा नेकपा एमालेको तर्फबाट पार्टी पोलिटिव्युरो सदस्य एवं पाल्पा इन्चार्ज ठाकुर गैरेको संभावना बलियो देखिएको छ । २०७८ साल सम्म पाण्डे र गैरे एउटै पार्टीका नेता थिए । यसैगरी नेपाली काँग्रेसको तर्फ पाल्पा क्षेत्र नं. २ को प्रतिनिधी सभा सदस्यमा विर बहादुर राना, हरि प्रसाद नेपाल र डा. चिरञ्जिवी नेपालको दावी रहेको छ । नेपाली काँग्रेस पाल्पाले भदौ १६ गते पाटी बैठकबाट संघ र प्रदेशका उम्मेदवार सिफारिस गर्ने बताईएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update