Shittalpati
नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका : नेता कंडेल

गुल्मी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका देखिएको बताएका छन् । शनिबार सदमुकाम तम्घासमा नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको सम्मान, बधाई तथा अभिमुखीकरण कार्यक्रलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको भूमिका खेलेको बताएका हुन् ।

‘संसदबाट नागरिकता विधेयक पास गरी राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाइएको थियो,’ उनले भने, ‘राष्ट्रपतिले नागरिकता विधेयक पुनः संसदमा पुनर्विचारका लागि फिर्ता गर्नुभयो । राष्ट्रपति एमालेबाट प्रभावित भएर यस्तो गरेकी हुन् ।’ राष्ट्रिपति जस्तो पदमा बसेको व्यक्ति कुनै दल र पार्टीबाट प्रभावित हुन नहुने नेता कंडेलले बताए । नागरिकता विधेयकले राष्ट्रिय अहित नहुने उनले दाबी गरे । नागरिकता विधेयकलाई लिएर प्रतिपक्षी दलले नागरिकहरुमा भ्रम सिर्जना गर्न खाजेको नेता कंडेलले आरोप लगाए । नागरिकता विधेयक राष्ट्रको हितमै रहेको बताउँदै कसैलाई पनि भ्रममा नपर्न उनले आग्रह गरे । काँग्रेसले सुरु गरेको जनताको साथमा काँग्रेस अभियानको केन्द्रीय प्रतिनिधिको रुपमा जिल्लामा आएका नेता कंडेलले आसन्न संघ र प्रदेशको निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने गरी केन्द्रीत हुन नेता कार्यकर्तालाई आह्वान समेत गरे । उनले पार्टीको आन्तरिक महाधिवेशनमा गरिएको चुनावी प्रतिस्पर्धालाई भुलेर पार्टीलाई मजबुत बनाउन पनि नेता कार्यकर्तालाई आग्रह गरे । ‘देशमा उत्पन्न हुने हरेक राजनैतिक संकटमा काँग्रेसले नेतृत्व लिने गरेको छ ’ उनले भने, ‘संविधान विपरित तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी प्रतिगमनकारी कदम चालेका थिए । हामीले प्रतिगमनको विरुद्धमा लागेर सडक र सदन दुवै स्थानबाट आवाज उठायौं । लिक छोडेको संविधानलाई लयमा फर्कायौं ।’

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले स्थानीय तहको निर्वाचनमा जिल्लामा काँग्रेसलाई पहिलो पार्टी बनाउन सफल भएको भन्दै यसको श्रेय आम नेता तथा कार्यकर्तामा जाने बताए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीसँग समन्वय गरी जनतालाई बढी भन्दा बढी सेवा र विकास दिन उनले निर्देशन समेत गरे । उनले केहि समयपछि विकासले ह्वात्तै फड्को मार्ने दाबी गरे । पार्टी र जनप्रतिनिधि बीचको समन्वयबाट आफ्नो कार्यकाललाई स्वर्णीम कार्यकाल बनाउन पनि उनले सबैलाई उत्प्रेरित गरे ।

भदौ २४ गतेसम्म सञ्चालन हुने ‘जनताको साथमा काँग्रेस’ अभियानलाई व्यापक बनाउन पनि अभिमुखीकरणले थप भूमिका खेल्ने पार्टी सचिव भगतसिंह खड्काले बताए । नेपाल सरकारका पूर्व सचिवद्वय युवराज भुसाल, गोपीनाथ मैनाली र नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्व सदस्य प्रताप पौडेलले जनप्रतिनिधि एवं पार्टीका नेता कार्यकर्ताहरुलाई विकास, सुशासन र पारदर्शिताका विषयमा प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update