Shittalpati
पाल्पासहित देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान शुभारम्भ

रामचन्द्र रायमाझी

पाल्पा,‘जनताको साथमा काँग्रेस’ यो नेपाली काँग्रेसको एक अभियान हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काँग्रेसले यो अभियान ल्याएको हो । जुन अभियान शुक्रबारदेखि पाल्पासहित देशैभर शुभारम्भ भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यासमितिले पाल्पाको अभियानमा केन्द्रीय सदस्य अब्दुल रञ्जाकलाई खटाएको छ । नेपाली काँग्रेस पाल्पाले पनि तानसेनमा एक औपचारिक कार्यक्रम गरी अभियानको शुभारम्भ गरेको छ ।

अभियान शुभारम्भ कार्यक्रममा आगमी निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन वडातहदेखि नै सशक्त भएर लाग्नु पर्नेमा जोड दिइएको छ । कार्यक्रममा सभाहगीहरुले जनतालाई केन्द्रविन्दुमा राखेर उनीहरुका समस्याहरुलाई घोषणपत्रमा समेटेर जानुपर्ने बताएका छन् । जनताको भावनालाई नै सम्बोधन गर्न भनेर स्थापना भएको काँग्रेस जनताकै माझ पुगेर समस्याको पहिचान गर्ने र समाधान गरिने नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ बताए । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, जनताको घर आँगनमा पुगी काँग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तक्र्रिया गर्ने उद्देश्यले अभियानको शुभारम्भ गरिएको पार्टी सभापति श्रेष्ठले बताए । उनले भने ‘ काँग्रेसले लिएको नीति, काँग्रेस नेतृत्वमा विगतमा हासिल गरिएका राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा काँग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र निर्वाचनमा काँग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउन जनताको घरदैलोमा जाँदैछौं ।’ वडा तहबाटै काँग्रेसलाई बलियो बनाउन सके सिंगो काँग्रेसलाई बलियो बनाउन सकिने सभापति श्रेष्ठले धारणा व्यक्त गरे । उनले अभियानमा सक्रिय भएर लाग्न समेत पार्टीका सम्पूर्ण तह र संरचनाका नेतृत्वहरुलाई आग्रह गरे ।

सभापति श्रेष्ठले जिम्मेवारी लिने र काम नगर्ने नेतृत्वप्रति लक्षित गर्दै भने ‘अधिकार खोज्ने मात्र होइन, पाएको जिम्मेवारी समेत इमान्दारका साथ पालना गर्नु होस् ।’ आफू पाँच वर्षका लागि पार्टी र संगठन बनाउन आएकाले अहिले कुनै पनि निर्वाचनमा उठ्ने कुरा नरहेको समेत बताए । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य हरि प्रसाद नेपालले गाउँ गाउँमा पुगेर जनताका समस्याहरुको पहिचान गरी पार्टीको घोषणापत्रमा समेटिने बताए । उनले अहिले गठबन्धनको रुपमा सिटबाँडफाँडका कुरा आइरहेकाले सबै ठाउँमा न्यायोचित ढंगले हुनेमा जोड दिए । नेता नेपालले सबैको ध्यान पाल्पा क्षेत्र नं.२ तर्फ रहेको भन्दै निर्वाचनमा न्यायोचित ढंगले सिटबाँडफाँड हुनेमा विश्वास व्यक्त गरे । उनले भने‘ गठबन्धनले न्यायोचित ढंगले यहाँ निर्णय गर्ने छ । बहुमतको आधारमा काँग्रेस अगाडि रहेकाले गबठन्धनका अन्य दलहरुले काँग्रेसलाई नै समर्थन गरेर अगाडि बढेमा गठबन्धनको जित सुनिश्ति छ ।’

नेकपा एककिृत समाजवादीबाट सोमप्रसाद पाण्डेले पाउने चर्चा प्रति संकेत गर्दै नेता नेपालले त्यसो नहुने बताए । उनले भने ‘शेरबहादुर देउवा नेतृत्वको सरकारमा विश्वासको मत नदिनुभएका सोमप्रसाद जि को कुरा आउँदैन, उहाँ विश्वासको मत दिने बेलामा मुद्दा लडिरहनु भएको थियो, गठबन्धनको सरकारलाई मत नदिएको व्यक्तिको कुरा हुँदैन ।’ उनले पाल्पा क्षेत्र नं २ को हकमा काँग्रेसले नै पाउने बताए ।

नेपाली काँग्रेसका निवर्तमान सभापति वीरबहादुर रानाले आगामी निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन सबै तह र तप्काका व्यक्तिहरु मन, वचन र कर्मले लाग्न आग्रह गरे । पार्टी भित्र एक भएर लाग्न सके पनि कुनै पनि शक्तिले काँग्रेसलाई हराउन नसक्ने उनले बताए । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री समेत रहेका रानाले संविधानको रक्षा र जनताका समस्या समाधानका लागि गठबन्धन गरिएको बताए । उनले भने ‘गठबन्धन एक ठाउँमा छ, काँग्रेसको सिद्धान्त र विचारलाई कायम राख्ने कर्तव्य पनि हामीमा छ, त्यसैले सबै शसक्त ढंगले अभियानमा लाग्नुहोस् ।’ पार्टीका नेतृत्व तहमा रहेकाहरुलाई नेता रानाले थप सशक्त भएर लाग्न आग्रह गरे । उनले भने ‘भूमिकामा रहेका साथीहरु उत्साहित भएर लाग्नुहोस् । त्यसो भए काँग्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न सक्दैन ।’ पार्टीमा रहेर पार्टीको विचार र सिद्धान्त विपरित काम गर्न कसैलाई छुट नभएको नेता रानाले बताए । प्रदेश प्रतिनिधि शान्त शर्माले आगामी निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन सबै एक भएर लाग्न आग्रह गरिन् । उनले बहुमतको आधारमा सिटबाँडफाँट हुनुपर्ने पाल्पालीको मागलाई जस्ताको त्यस्तै प्रदेशमा लैजाने बताईन् । कार्यक्रममा नेपाल प्रेस युनियनका जिल्ला सभापति भरत शर्मा, नेपाल महिला संघकी जिल्ला सभापति गंगा पौड्याल, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ लगायतले अभियानमा जोडिन सबैलाई आग्रह गरे ।

शुभारम्भ कार्यक्रम जिल्ला सभापति हिमालदत्त श्रेष्ठको सभापतित्व, पार्टी प्रवक्ता शोभाकर न्यौपानेको स्वागत, सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । भदौ २४ गते बिपी जयन्तीका दिन अभियानको पहिलो चरणको कार्यक्रम समापन हुने छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने नेपाली काँग्रेस पाल्पाले जनाएको छ । गाउँ–नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिकास्तरीय सार्वजनिक कार्यक्रम हुने छ । तर मूलतःसम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update