Shittalpati
बजेट कार्यान्वयनमा कठिन : पूर्वगभर्नर नेपाल

रामचन्द्र रायमाझी
पाल्पा, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट कार्यान्वयनमा कठिन रहेको बताएका छन् ।
शुक्रबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको वर्तमान आर्थिक अवस्था र बजेट विषयक छलफल कार्यक्रममा पूर्वगभर्नर नेपालले बजेका उद्देश्यहरु राम्रा भए पनि कार्यान्वयनमा कठिन रहेको बताएका हुन् । उनले सरकारले बजेट बनाउँदा स्रोत र कार्यान्वयनमा जवाफदेहिता नदेखाएको बताए । बजेटमा राम्रा कार्यक्रम अघि सारिएको भए पनि कार्यान्वयन असंभव देखिएको उनको भनाई छ ।

सरकारले आगामी वर्ष कृषिजन्यवस्तुको आयातमा न्यूनतम ३० प्रतिशतले कम गर्ने, आगामी वर्ष निर्यात दोब्बर गर्ने, आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी पाँच वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने, रोजगारी वार्षिक ३० प्रतिशतका दरले वृद्धि गर्ने, भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलव्ध गराउने, वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखाबाट माथि ल्याउने, स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव विकास सूचका­ङ्क ०.६५० पुर्याउने लक्ष्य अगाडि सारेको भए पनि त्यो सम्भव नरहेको बताए । पूर्वगभर्नर नेपालले भने ‘सरकारले कृषिजन्य वस्तुको आयात विगतदेखि नै घटाउन सकेको छैन, १० वर्षको अघि आंकडालाई हेर्ने हो भने पनि निर्यातको अवस्था न्यून छ, रोजगारी पनि ३० प्रतिशतले वृद्धि गर्ने भनिएको छ त्यसको पर्याप्त आधार सरकारसँग छैन ।’ ‘बजेटमा वृद्धाभत्ता दिने उमेर घटाएर ६८ वर्ष बनाईदा वृद्धवृद्धाहरु खुसी छन्, कर्मचारीको तलव वृद्धि हुँदा उनीहरु पनि खुसी छन् तर यी कार्यक्रमलाई दीगो बनाउन स्रोतको पहिचानमा भने सरकारको ध्यान छैन’ उनले भने । नेपालको मानव विकास सूचकांक ०.५८ छ तर सरकारले एक वर्षमा ०.६५ पु¥याउने लक्ष्य राखेको उनले बताए । ‘कार्यक्रमहरू आकर्षक देखिन्छन् तर कार्यान्वयन गर्न र लक्ष्य भेटाउन सहज देखिँदैन,’ उनले भने बजेटको आकार वृद्धि गरिए पनि यसले आर्थिक विकास लक्ष्य हासिल नहुने दावी गरे । ‘भोलि आर्थिक विकास हुने भनेको त पुँजीगत क्षेत्रबाट हुने हो । जब पुँजीगत क्षेत्रमै लगानी गरेको छैन भने ग्रोथ कसरी हुन्छ ?, साधारण खर्च बढाएर स्वाभाविक रूपमा जीडीपीमा वृद्धि हुन सक्दैन । यसका लागि उत्पादनशील क्षेत्रमा लगानी बढ्नुपर्छ’ पूर्वगभर्नर नेपालले भने । हाल कोभिड संक्रमणमा कमी आएपनि भविष्यमा आउनसक्ने नयाँ भेरियन्टको सम्भावित जोखिमबाट जोगाउँदै अर्थतन्त्रलाई चलायमान बनाउने, उच्च आर्थिक वृद्धि हासिल गर्नुका साथै उत्पादनमूलक उद्योगहरु विस्तार गर्ने दिशामा सरकारले सोच्नुपर्ने नेपालले बताए । उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, विश्व लगायत भारतमा बढ्दै गएको मुद्रास्फीति एवम् आर्थिक पुनरुत्थानसँगै समग्र मागका कारण हुने मुद्रास्फीति नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक पुनरुत्थानका लागि सहुलियत ऋण, अनुदान परिचालनमा सरकारले जोड दिनुपर्ने बताए । पूर्वगभर्नर नेपालले नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण बनेको बताए । उनले भने ‘आयात वृद्धि, घट्दो विदेशी मुद्रा सञ्चिती र घट्दो रेमिट्यान्सका कारण अर्थतन्त्र अन्त्यन्त चुनौतीपूर्ण अवस्थामा पुगेको हो ।’

‘अर्थतन्त्रमा नयाँ–नयाँ समस्या आइरहेका छन् तर त्यसको समाधानमा सरकार गम्भीर छैन’ पूर्वगभर्नर नेपालले भने । ‘अहिले मुलुकको अर्थतन्त्र अत्यन्त जोखिममा रहेको छ । सबैभन्दा ठूलो समस्या के भन्दा रेमिटेन्स घटेको छ । रेमिटेन्सको आधारमा जम्मा भएको हाम्रो विदेशी मुद्रा सञ्चिती पनि घट्दै गएको उनले बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले कोभिडका कारण धला परेका उद्योगी व्यवसयीहरु बैंकको उच्च व्याजदरका कारण समस्यामा परेको बताए । उनले सबै बैंकहरुमा एउटै व्याजदर कायम गरिनुपर्ने र व्यवसायीहरुका लागि सहुलियतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा पाल्पामा सञ्चालित बैंक तथा वित्तिय संस्थाका प्रमुख÷ प्रतिािनधि, उद्योगी, व्यवसायीहरुले आ–आफ्ना समस्याका विषयमा जानकारी गराएका थिए । कार्यक्रम संघका अध्यक्ष राजु महर्जनको अध्यक्षता, महासचिव शैलेन्द्र भट्टराईको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update