
पाल्पा, जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मृतक निमार्णकर्मीको परिवारलाई आर्थिक सहयोग गरेको छ । संघले आइतबार एक औपचारिक कार्यक्रमका बिच लामो समय निर्माण क्षेत्रमा काम गर्दै आएका स्व. टोपबहादुर विश्वकर्माको परिवारलाई पाँच लाख आर्थिक सहायता प्रदान गरेको हो ।
संघका अध्यक्ष सुरेश कर्माचार्य, सचिव हुमराज बस्याल र सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखाका प्रवन्धक सन्तोष पौड्यालले संयुक्त रुपमा स्व. टोपबहादुरको श्रीमति शोभा वि.क.लाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । निर्माणकर्मी टोपबहादुरको गत चैत २२ गते ५२ वर्षको उमेरमा क्यान्सरका कारण मृत्यु भएको थियो । संघले उनको बिमा गरिदिएको थियो । स्वभाविक मृत्युबापतको राहत रकम संघले विकको परिवारलाई दिएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै संघका अध्यक्ष कर्माचार्यले दुःख र पीडामा रहेको परिवारलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए । कर्माचार्यले संघमा आवद्ध निर्माणकर्मी, श्रमिकहरुको मृत्यु भएमा स्वभाविक मृत्यु वापतको रकम दिने गरेको भन्दै सो रकमले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गरे । उनले भने “हामीले एक जना सहकर्मी गुमाएकोमा दुखी छौं, तर उनको परिवारलाई परेको पीडामा हामी साथ दिन चाहन्छौं, यो पाँच लाख रकम थोरै हुन सक्छ तर यसले परिवारलाई राहत मिल्नुको साथै संघ यहाँहरुसँगै छ भन्ने आभाष दिन्छ भन्ने विश्वास लिएका छौं ।”
संघले निर्माणकर्मी, श्रमिक, मजदुरहरुका लागि औषधि उपचार, दुर्घटना उपचार, सुत्केरी अनुदान, बिमा, पारिवारिक काजक्रिया, श्रमिक छात्रवृत्ति, अस्पताल भर्ना तथा खाना, एकल महिला भत्ता, प्राथमिक दुर्घटना उपचार, वृद्धाभत्ता, स्वभाविक मृत्यु लगायतमा सहायता प्रदान गर्दै आएको अध्यक्ष कर्माचार्यले बताए । उनका अनुसार संघले हालसम्म यी क्षेत्रमा ८५ लाख ७३ हजार ७ सय ७२ रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । औषधी उपचारबापत २३ लाख ८४ हजार ५३, दुर्घटना उपचारबापत ७ लाख २९ हजार ९ सय ९५ , सुत्केरी अनुदानबापत एक लाख २२ हजार, बिमा खर्च २३ लाख ८ हजार २ सय ६०, पारिवारिक काजक्रियाबापत ६ लाख ८५ हजार, श्रमिक छात्रवृत्तिबापत २ लाख ३४ हजार ५ सय, अस्पताल भर्ना तथा खाना खर्च एक लाख ५१ हजार ५ सय २५, एकल महिला भत्ताबापत ३ लाख ८० हजार ५ सय, प्रथमिक दुर्घटना उपचारबापत २ लाख ९६ हजार ५ सय ३९, वृद्धा भत्ताबापत ६ लाख १७ हजार र स्वभाविक मृत्युबापत ७ लाख ४० हजार खर्च गरिएको अध्यक्ष कर्माचार्यले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले संघले आर्थिक सहयोग गरेर दुःख र पिडामा परेका निर्माणर्की, श्रमिकहरुलाई मलम लगाउने काम गरेको भन्दै संघको प्रशंसा गरे । उनले भने,“संघले विगतदेखि नै श्रमिकहरुका पिर मर्काहरुमासँगै हातेमालो गर्दै आएको छ, यो अत्यन्त अनुकरणीय र प्रशंसनिय कार्य हो ।” आर्थिक सहयोग रकम पाएपछि टोपबहादुरको श्रीमति शोभा विकले परिवारमा पिडा परेको बेला संघले आर्थिक सहयोग गरेर ठूलो राहत दिएको बताईन् । उनले भनिन्“ सहयोग रकमले घरखर्चसँगै श्रीमानको उपचारमा लागेको ऋण तिर्न ठूलो सहयोग पुग्ने छ ।” संघका सचिव हुमराज बस्यालले निर्माण कार्यलाई गुणस्तरीय र भूकम्पीय दृष्टिबाट मजबूद भवन निर्माण गर्नुको साथै संघमा आवद्ध रहेका श्रमिक वर्गको हकहितका विषयमा संघ सधैव क्रियाशिल रहँदै आएको बताए । संघका अध्यक्ष सुरेश कर्माचार्यको अध्यक्षता, सचिव हुमराज बस्यालको सञ्चालनमा सहयोग हस्तान्तरण कार्यक्रम भएको थियो ।