
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । जसमा यो वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ‘ग्रेडिङ’ (उत्तीर्ण) मा परेका छन् । गत वर्षको तुलनामा यसपालि ९ दशमलव ०२ प्रतिशत विद्यार्थी उच्च शिक्षामा भर्नाका लागि योग्य भएका हुन् । गत वर्ष ५२ दशमलव १५ प्रतिशत विद्यार्थी मात्र ‘ग्रेडिङ’ मा परेका थिए । नतिजामा गत वर्षको तुलनामा सामान्य सुधार देखिए पनि सन्तोषजनक भने छैन् । नतिजाअनुसार ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४ सय ६५ जना मात्र ‘ग्रेडेड’ भएका छन् । ‘ननग्रेडेड’ १ लाख ५३ हजार ८ सय ८२ परीक्षार्थीले तत्काल माथिल्लो तहमा भर्ना हुन पाउँदैनन् ।
यति धेरै विद्यार्थी उच्च शिक्षाका लागि अयोग्य हुनुमा विद्यार्थी स्वयंको मात्र कमजोरी पक्कै छैन । यस नतिजाले शिक्षक, विद्यालय, सरकारका साथै समग्र शिक्षा प्रणालीकै कमजोरी हो भन्ने कुराको संकेत गर्दछ । यस्तो केवल सुधार उन्मुखमात्रै देखिएको नतिजाले धेरै विद्यार्थीको उच्च शिक्षा पढ्ने अभिलाषालाई पूर्ति गर्न सक्दैन । परीक्षा दिएर पनि अनुत्तीर्ण रहेकाहरुको संख्यालाई हेर्दा सानो मान्न सकिँदैन । गत वर्षको तुलनामा ९ दशमलव ०२ प्रतिशतले विद्यार्थी सफल भए भनेर मख्ख पर्नुपर्ने अवस्था छैन् । अझै पनि धेरै विद्यार्थी उच्च शिक्षा पढ्नबाट बञ्चित हुनु अत्यन्त दुखको कुरा हो । नतिजा सुुधार नहुँदा एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति पनि छ । कसैले कक्षाकोठाको सिकाइ शैलीलाई दोष दिन्छन्, कोहीले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा समस्या औंल्याउँछन् । समस्या कहीँ न कहीँ पक्कै छ, सबैतिर पनि हुन सक्छ, तर गम्भीर भएर समस्या पहिल्याउन र समाधान गर्न कसैले अग्रसरता लिएको देखिदैन । जसका कारण धेरै विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । नतिजा सुधारका लागि सबैभन्दा महत्वपूर्ण पक्ष विद्यार्थीलाई पढाइमा आकर्षित गराई गुणस्तरी शिक्षा प्रदान गर्न सक्नु हो । त्यसमा शिक्षकको विषयविज्ञता, पढाउने शैली र भौतिक पूर्वाधार महत्वपूर्ण मानिन्छ । यसर्थ विद्यार्थीलाई पढ्ने व्यवस्था गरेर मात्र पुग्दैन, गुणस्तरीय शिक्षा दिन सक्नुपर्छ, जसका लागि शिक्षक, विद्यालय, सरकार सबै गम्भीर बन्न जरुरी छ ।